‘एक पाना पढ्नु भनेको एउटा नयाँ जीवन जिउनु हो’

‘एक पाना पढ्नु भनेको एउटा नयाँ जीवन जिउनु हो’


गाउँ-गाउँमा नयाँ चेतना रोपिँदैछ । पुस्तकालय दिवसलाई विशेष बनाएर कवि महान् त्यागीले सुरु गरेका पठन पुनर्जागरण अभियानले अहिले धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकामा उत्साह जगाएको छ । १२वटै माध्यमिक विद्यालयमा पुगेर उनले विद्यार्थीलाई पुस्तकसँग मित्रता गर्न प्रेरित गरेका छन्।

‘एक पाना पढ्नु भनेको एउटा नयाँ जीवन जिउनु हो’ भन्दै उनले बालबालिकालाई पुस्तक पढ्न प्रेरित गरे । त्यागी भन्छन्, ‘पुनर्जागरणको बिउ रोप्दै हिँडेको छु, आशा छ निकट भविष्यमा यो ठूलो वृक्ष बन्नेछ।’

अभियानको क्रममा उनले करिब १० हजार बराबरका ७२ थान पुस्तक विद्यालयलाई उपलब्ध गराएका छन् । यो कार्यलाई विद्यालय प्रमुखहरूले ऐतिहासिक संकल्पका रूपमा लिएका छन् । उनका अनुसार यो पहलले विद्यार्थी मात्र नभइ शिक्षक र अभिभावकलाई समेत पढ्ने संस्कृतितर्फ मोड्नेछ।

कविले यसअघि पनि गजल गङ्गा मासिक पत्रिका, मालश्री भित्तेपत्रिका प्रकाशन गर्दै साहित्यिक चेतना फैलाएका थिए । गाउँका भित्तामा कविता लेखेर उनले जनतालाई साहित्यसँग नजिक बनाउने प्रयास गरेका थिए । हालै अन्तर्राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रथम बनेका कविबाट सुरु भएको यो अभियानले रोराङबासीलाई प्रेरणा दिने विश्वास गरिएको छ।