✍ डिल्ली अम्माई
हामी हेपिने दिन,
प्रवाशीलाई जेलेको दलदले विश्वास
अविश्वासको अँध्यारोले निल्नेछ
अमन बिथोलिनेछ श्रापित जलनले
तुफान उठ्नेछ पिरो बादलको !
हामी खेदिने दिन,
स्वजातिको रगत सल्बलाउने बदनभित्र
सभ्यता-राज्यको बिज अङ्कुराउने छ
आफ्नो र पराई छुट्टिनेछ बोली र रंगमा
ठुलो आवाजले धिमा स्वर कुल्चनेछ !
हामी लुटिने दिन,
रैथाने जुलुस बग्नेछ नदी झैँ
खुदाई हुनेछ फरक चेहराको
र खेदाइमा खँजेडिने छ आप्रवाशी सबै !
त्यो समय टाढा छैन
नभएकोलाई आफ्नो मानेर धुने
नभिजेको परेला भिजाएर रुने
अपमान हाम्रो भागमा पर्दा
परिवार मासेर एक्लै एक्लै हिँड्ने ।
त्यो कसैको दयाको हात
उसले पैँचो लिएको पसिना
उसैको सपनाको लागि
मर्नको लागि पनि छोडिने छैन हाम्रो देह ।
प्रवास, बास र बैँसको लेनदेनमा
भुलेका म र मेराहरु हो…
कालो बादल मडारिनेछ आशामा
मेघ गर्जनेछ स्वेत स्वराजको
आप्रवासन मेघालय र बर्मा जस्तै बन्ने छ एक दिन !
त्यो दिन धेरै टाढा छैन अब
चिहानमा सुतिसकेको लास जीवन
पहिचानविहीनाताले चलेको धड्कनमाथि
गोलीहरु पड्किनेछन् पटका जस्तै
मुर्छित अवस्थामै फालिनेछौँ हामी !
करुणा, मानवता, विवेकको भाष्य बन्द गरौँ अब
बुझौँ, आँधीहुरीको आँखा हुन्न
र प्रलयको कुनै विवेक हुन्न
अस्तित्वको संघर्षभित्र कुनै करुणा हुँदैन
त्यहाँ त प्रतिशोध मात्र रहन्छ
बिज हेरेर रुपको कल्पना कोरौँ
फुर्सद छँदै अलारामको ध्वनी बुझौँ ।
एक दिन,
रगत वर्सिनेछ बिरानो भूमिमा
र त्यहि वर्षाको झरीले
दयालुले टुहुराको आँशु पुछेजस्तै
समयले बिस्तारै पुछ्नेछ आप्रवासी रगत।
सम्झौँ, बुझौँ आफ्नो सदैव आफ्नै हुन्छ
हेक्का राखौँ, समयको आवाज मिठो मात्र हुँदैन
आमाले सोधिरहन्छिन् सपनीमा
तेरा नानीभित्रको कोरिएको मेरो बिम्ब
र सपनामा देख्ने देवभूमि
कति टाढा छ हँ त्यहाँबाट ?
प्रतिक्रिया