१०२ वर्षीय अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

१०२ वर्षीय अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम


१०२ वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल एका छन् । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।

‘म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ’, अकुजावाले एपीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।’

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए । टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर (१२ हजार तीन सय ८८ फिट) उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नुअघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।

पचहत्तर वर्षीया अर्की छोरी युकिकोले सुन्ने शक्ति कमजोर भएका बुबाका काननजिक प्रश्नहरू दोहोर्‍याउँदै सहयोग पुर्‍याइन् । सो क्रममा अकुजावाले भने, ‘उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन, जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।’

यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उनी ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । त्यसपछि उनले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिएका थिए ।

फुजी आरोहण अघि उनले तीन महिनासम्म विशेष तालिम लिएका थिए । उनी बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्थे र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्ने गर्दथे ।

अकुजावाको पर्वतप्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उनले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिए । शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उनलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।

“म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ, पर्वतमा साथी बनाउन पनि सजिलो हुन्छ”, अकुजावाको भनाइ छ ।

शुरुमा इन्जिन डिजाइन इन्जिनियरको रूपमा र पछि ८५ वर्ष उमेरसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहेका उनी सक्षम विद्यार्थी थिए । ‘पढाइ मन परे पनि नपरे पनि, पर्वतको आनन्द लिने तरिका उस्तै हो, बुद्धिले त्यहाँ कुनै अर्थ राख्दैन । हामी सबै एउटै आधारमा हुन्छौँ र सँगै अगाडि बढ्छौँ’, अकुजावाले एक प्रश्नको जवाफमा भनेका छन् ।

‘माउन्ट फुजी कठिन पर्वत होइन, तर यसपटक अघिल्ला सबै आरोहणभन्दा धेरै चुनौतीपूर्ण लाग्यो, मलाई पीडा थिएन, तर किन ढिलो हुँदैछु, किन सहनशक्ति छैन भन्ने सोचिरहेँ । धेरैअघि नै शारीरिक सीमा पार गरेको छु । अरूको शक्ति र सहयोगकै कारण मात्र सफल भएँ’, उनले भनेका छन् ।