इरानका सुरक्षा प्रमुख अली लारिजानीले इरान अमेरिकासँग आणविक वार्ताका लागि तयार रहेको बताएका छन् ।
‘अमेरिकासँग वार्ताको बाटो बन्द भएको छैन । अमेरिकीहरू वार्ताबारे प्रचार गर्छन् तर टेबलमा आउँदैनन्, उनीहरूले इरानमाथि गलत तरिकाले दोषमात्र थोपर्छन्’, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारिजानीले भनेका छन् ।
‘क्षेप्यास्त्र प्रतिबन्धजस्ता अकाट्य मुद्दा उठाएर उनीहरूले कुनै पनि वार्तालाई अस्वीकार गर्ने बाटो तय गरेका छन्’- लारिजानीले एक्समा लेखेका छन् ।
संयुक्त राज्य अमेरिकाले युरोपेली शक्तिहरूले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने कदमको स्वागत गरेको केही दिनपछि ‘इरानसँग वार्तामा प्रत्यक्ष संलग्नताको लागि उपलब्ध’ रहेको बताएको थियो।
तेहरान र वासिङ्टनबीच अप्रिलमा सुरु भएको आणविक वार्ता जुनको मध्यतिर इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि टुटेको थियो ।
गत बिहीबार बेलायत, फ्रान्स र जर्मनीले इरान र प्रमुख शक्तिराष्ट्रबीच सन् २०१५ मा भएको आणविक सम्झौताको ‘स्न्यापब्याक’ धारा लागू गरेका थिए। ‘स्न्यापब्याक’ सम्झौता अनुरूप अघि नबढेमा उनीहरूले खुला गरेका प्रतिबन्ध पुनः लगाउन सक्ने व्यवस्था हो ।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट पछि हटेपछि उक्त सम्झौता असफल भएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले इरानको आणविक समस्याको स्थायी समाधान चाहेको र ‘स्न्यापब्याक’ले कूटनीतिका लागि आफ्नो तत्परताको खण्डन नगर्ने अझ बढाउने बताएका छन् ।
इजरायल र अमेरिकी आक्रमणपछि इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँगको सहकार्य स्थगन गरेको थियो र कुनै पनि वार्ता पुनः सुरु गर्नुअघि सैन्य कारबाहीविरुद्ध सुनिश्चितताको माग गरेको थियो ।
पश्चिमा सरकारहरूले इरानको क्षेप्यास्त्र कार्यक्रमलाई क्षेत्रीय सुरक्षाका लागि खतरा भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् ।
गत जुलाईमा फ्रान्सले तेहरानसँग ‘विस्तृत सम्झौता’ गर्न आह्वान गरेको थियो । प्रस्तावित यो सम्झौतामा इरानको आणविक कार्यक्रम मात्र नभइ उसको क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय महत्वाकाङ्क्षा पनि समावेश छन् ।
इरानले आफ्नो सैन्य विस्तार वार्ताका लागि उपयुक्त सर्त नभएको बताउँदै आएको छ ।
पश्चिमा सरकारहरूले इरानले आणविक हतियारको क्षमता खोजेको आशङ्का गरेका छन् तर यसलाई तेहरानले निरन्तर अस्वीकार गर्दै आएको छ।
प्रतिक्रिया