‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै


अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन् २०२४ को सुरुबाट हालसम्म झन्डै दुई हजार जनाको ज्यान लिइसकेको छ । यद्यपि पछिल्लो केही सातादेखि सङ्क्रमणको सङ्ख्यामा उत्साहजनक कमी देखिएको छ भनी अफ्रिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (अफ्रिका सिडिसी)ले जनाएको छ ।

अफ्रिका सिडिसीका एमपक्स घटनाका सह–प्रबन्धक याप बाउम द्वितीयले सन् २०२४ को सुरुयता २९ अफ्रिकी मुलुकहरूबाट एक लाख ८५ हजार ९ सय ९४ एमपोक्स सङ्क्रमणको घटना दर्ता भएको बताएका छन् । तीमध्ये ५१ हजार ९ सय ६९ सङ्क्रमण पुष्टि भएका छन् भने एक हजार हजार ९ सय ८७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी सङ्घको स्वास्थ्यसम्बन्धी विशेष निकायका अनुसार सन् २०२५ मा अहिलेसम्म एक लाख लाख ५ हजार ६ सय ९७ एमपोक्स सङ्क्रमणका घटना दर्ता भइसकेका छन्, जुन सङ्ख्या सन् २०२४ को कुल सङ्ख्या ८० हजार २ सय ९७ भन्दा धेरै हो ।

तर, क्षेत्रीय तहमा भइरहेको सुधारात्मक प्रयासका कारण पछिल्लो समय एमपक्सका पुष्टि भएका तथा आशंकित दुबै प्रकारका घटनामा क्रमिक रूपमा गिरावट आएको छ । विशेषतः सन् २०२५ को मे महिनामा देखिएको उच्च स्तरको सङ्क्रमणको तुलनामा अहिले उल्लेखनीय कमी आएको बताइएको छ ।

अफ्रिका सिडिसीको तथ्याङ्क अनुसार, साप्ताहिक रूपमा पुष्टि हुने सङ्क्रमणको औसत सङ्ख्या ५२ प्रतिशतले घटेको छ । मे महिनामा साप्ताहिक औसत एक हजार ४४१ थियो भने पछिल्ला पाँच सातामा त्यो घटेर ६९५ मा झरेको छ ।

परीक्षणको पहुँचसम्बन्धी विवरण पनि सकारात्मक देखिएको छ । पछिल्लो ६ सातामा आशंकित घटनाहरूमा गरिएको परीक्षणको दर ३० प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको छ ।

सन् १९५८ मा प्रयोगशालामा रहेका बाँदरहरूमा पहिलोपटक देखिएको एमपक्स एक दुर्लभ भाइरसजन्य रोग हो । यसले प्रायः ज्वरो, ¥यास ९छाला रोग० र ग्रन्थी सुन्निने लक्षण देखाउने गर्दछ ।

अफ्रिका सिडिसीले गत वर्ष अगस्टमा यस रोगलाई सम्पूर्ण महादेशको सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि आपतकालीन अवस्था घोषणा गरेको थियो । त्यसको केही समयपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेको थियो ।