डेढ वर्षमा एसियन हाइवेको काम केवल एक चौथाई !

डेढ वर्षमा एसियन हाइवेको काम केवल एक चौथाई !


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गको झापा खण्डमा काम ढिलो भएको कारण स्थानीयवासीले बढ्दै गएको प्रदूषण नियन्त्रणको माग गरेका छन् ।

तीन वर्षको म्याद पाएको ठेकेदार कम्पनीले एक वर्ष ७ महिना पूरा गर्दा पनि एसियन हाइवेको काँकडभिट्टा-लौकही सडकको पूर्वी खण्डको काम एक चौथाई समेत पूरा गर्न नसकेपछि निर्माण कार्यको दौडान उत्पन्न प्रदुषण नियन्त्रण हुनुपर्ने आवाज उठ्न थालेको हो ।

काँकडभिट्टादेखि केर्खा सीतापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन-कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएको बुझिन्छ । ठेकेदार कम्पनीले २०८० माघ १९ गतेदेखि काम शुरु गरेको भए पनि हालसम्म भौतिक प्रगति २४.३ प्रतिशत र आर्थिक प्रगति २२.१ प्रतिशत भएको काँकडभिट्टा-लौकही सडक आयोजना पूर्वी खण्डको कार्यालय श्रोतले जनाएको छ ।

६३ वटा बक्स कल्भर्ट निर्माण सम्पन्न भएको छ भने ६१ वटा बक्स कल्भर्ट निर्माण भइरहेको छ । सव बेसतर्फ २० किलोमिटर पहिलो लेयर पूरा भएको छ भने दोस्रो लेयर १२.२ किलोमिटर पूरा भएको छ । बेसको काम भने २.१ किलोमिटर मात्र पूरा भएको काँकडभिट्टा-लौकही सडक आयोजना पूर्वी खण्डले जानकारी दिएको छ ।

पहिलो प्याकेजअन्तर्गत सडकको ठेक्का लगाइएको हो भने चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीनवटा पुलहरु निन्दा, बिरिङ र कन्काईको ठेक्का लगाइएको छ । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक-क्रेजसी-टुन्डी जेभीले ती तीनवटा पुलको ठेक्का पाएका हुन् । दुवै ठेक्काको संझौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र रहेको छ । निर्माण जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम नगर्दा आसपासका बासिन्दा धुलो र हिलोबाट प्रताडित छन् भने यात्रा गर्ने यात्रु जोखिम मोलेर हिँड्नु पर्ने बाध्यतामा छन् ।

राजमार्गको यो पूर्वी खण्डलाई काँकडभिट्टा लौकही सडक योजना कार्यालय दमकले अनुगमन गर्ने जिम्मेवारी पाएको छ । यहाँ एक सय ४३ वटा कल्भर्ट छन् । अधिकांश कल्भर्ट निर्माणका चरणमै रहेका कारण सडक यात्रामा कष्टकर तथा जोखिमपूर्ण रहेको यात्रुहरूको भनाइ छ ।