पञ्चायतराजमा वाक् स्वतन्त्रता नभएको भन्दै उड्किने चप्पलछापहरू आफू शासक हुँदा हिजोका दिनहरू बिर्सिए; आज उनीहरू नै संविधान मिचेर जनताको मौलिक हकहरू छिन्दा छन् ?! शासित हुँदा र शासक हुँदा बोली नै भिन्नै !
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमोनम: । शब्द केलाई फारु गर्नुपऱ्या छ र ?ब्रम्हले देख्या लेखे भइगयो नि त । अर्काको बहकाइमा लाग्ने ओथारेको के गर्नु कुरा ? एक झमट भ्रष्टाचारी निख्रे त राम्रै हुन्थ्यो कि । जुगान कुर्नु पऱ्या छ; शान्ति, सुव्यवस्था र सुशासनको अत्तोपत्तो छैन । नक्कली मयुर कतिन्जेल टिक्ला र ? इन्टरनेटको दुनियाँमा कसरी झुटो छाद्न सक्या होला ? नेतृत्व गुणहीन नेता परेसि कसरी पाहिक पर्ला र ? ढुंगिलो बाटाको यात्रा; लक्ष्यमा पुग्न सकस । समयको महत्व नबुझ्ने गोरुलाई के भन्ने ? निमिष निमिष महत्ववान् । फलानो मऱ्यो तिलानो मरेछ भन्दाभन्दै आफ्नु काल आएको सुइँको पाउन्न । मुतिसक्यो दैलो देख्यो; पछुतो त हुन्छ नै । अजामिलले नारायण भन्न भ्यायो; बैकुण्ठ गयो । महानास्तिक त हरि उच्चरित हुन्छ भन्ठानेर हरियो काँक्रो भन्दैन पो । त्यसको वरत्र/परत्र सत्यानाश !
दलहरूले पटकैपिच्छे क्रान्ति/आन्दोलन भनेर जनतालाई झुक्याएकोले होला; अचेल त क्रान्ति/आन्दोलन सुन्दाखेरि नि रगत उम्लिन्न क्यारे । स्वतन्त्रता सङ्ग्रामसम्म त गान्धी/नेहरु ठिकै थिए रे तर विभाजनसम्म आईपुग्दा यिनीहरूले पटेल, सावरकर , आजाद, बोस, तिलक, रायलगायतकालाई घाते भनेर रुँदैछन् हिन्दुस्तानी जनता । गोडसेले बेलैमा कारवाही गरेकोले हिन्दुस्तान बाँचेको रे । वास्तविकता उनै जानुन् । जन्मिनु एक्लै; मर्नु एक्लै – एक्लै हुन्छु भनेर डराउनु किन ? मोर्चाबन्दी त भ्रम हो । साथ नरहनु अनुत्पादक मनुष्यसित; लक्ष्य त पहिल्याउनु नै छ । इतिहास/धरातल बिर्सनु हुन्न है – हिजो म के थिएँ ? आज के छु ? भोलि के हुनेछु ? जीवनको यथार्थ नै यही हो । जीवन त आफैले बाँच्ने हो; कृत्रिमताको सहारा किन लिनुपरो र ?
खट्टे भन्दा लट्टे मिठो – बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु निको । राज्यले जनतालाई टोकस्नु भएन; ओर्याइँ गर्नु भएन नि । कोहीलाई काखा कोहीलाई पाखा किन गर्ने ? राज्य भन्या त सबैको लागि बरोबर हुनुपर्ने हो । जनताको सेवक भएर नानाभाँती गर्न हुन्छ र ? स्वास्थ्य/ शिक्षा नि:शुल्क हुनुपरो । कहाँ अरगज्ज पल्टेको ? को को चेत्नुपर्ने; कहिले पो चेत्ने हो ? जनताको सुझाव कता मिल्क्यो ? संविधानसभाले बनाएको संविधान कस्तो पो भो ? नुन, खुर्सानी मरमसला चट्ट मिलेको छ कि नाइँ ? विरोधी त कालो संविधान भन्दो ?! डलरले कहिल्यै नभरिने घोलसाँढेको लात्रो । ढुइँकिने बेला भो तैपनि हिर्तो पर्दो । भ्रष्टाचारी कताबाट पो जुल्क्यो ? यसको निहोरा नगरेकै बेस ।
पञ्चायतराजमा वाक् स्वतन्त्रता नभएको भन्दै उड्किने चप्पलछापहरू आफू शासक हुँदा हिजोका दिनहरू बिर्सिए; आज उनीहरू नै संविधान मिचेर जनताको मौलिक हकहरू छिन्दा छन् ?! शासित हुँदा र शासक हुँदा बोली नै भिन्नै ! आफूले आफूलाई विश्वास गर्ने हो; अर्कोलाई होइन । न्यायपालिका न्यायपालिका, कार्यपालिका कार्यपालिका र व्यवस्थापिका व्यवस्थापिका भइदिए कति राम्रो हुन्थ्यो । हाम्रोमा त गाँजेमाँजे भएर काम बिग्र्यो । गणतन्त्र भन्दो; नटबल्टु कस्दो ।
क्षिप्रं विजानाति चिरं श्रृणोति विज्ञाय चार्थं भजते न कामात् । नासम्पृष्टो व्युपयुङ्ते परार्थे तत् प्रज्ञानं प्रथम पण्डितस्य ।। (विद्वानले कुरा धेरै सुन्छ; तत्कालै ग्रहण गर्छ; पुरुषार्थमा रत्तिन्छ र अर्काको कुरा काट्दैन ।)
केही समय अघिको कुरा । त्यतिबेला प्राध्यापक सत्येन्द्रनाथ बोस कलकत्ता विश्वविद्यालयको विज्ञान विभाग प्रमुख थिए । उनले धेरै सोचेर/विचारेर परीक्षा कार्यक्रम प्रकाशित गरे किन्तु एम.एस्सी.का केही विद्यार्थीहरूले परीक्षा कार्यक्रम सार्नुपर्ने भन्दै विरोध गरे अन्यथा हडताल, घेराउ गर्ने, अनसन बस्ने भनेर बोसलाई धम्क्याए । उनी टसकामस भएनन् । उनले मुस्कुराउँदै दृढतापूर्वक विद्यार्थीहरूलाई सम्झाए , ‘बाबुहरू ! यो परीक्षा कार्यक्रम मैले धेरै सोचेर/विचारेर प्रकाशित गऱ्या हूँ । परीक्षा कार्यक्रम सार्नुपर्ने कारणको किटानी नगरुन्जेलसम्म म तिमेर्को कुरा मान्दिनँ । बरु म आफ्नो पदबाट राजीनामा दिनसक्छु तर म बेफ्वाँकमा तिमेर्को अत्याचार सहन्नँ ।’ परीक्षा कार्यक्रम सार्नुपर्ने कारण बताउन नसकेसि विद्यार्थीहरू नतमस्तक भए र पूर्व निर्धारित समयमै परीक्षा सम्पन्न भो । त्यस्तै सरकारले नि सुझेर/बुझेर निर्णयहरू पारित गर्दो हो त आन्दोलन, धर्ना, घेराउ, घण्टाघेर , हडताल र अनसनबाट तर्सिनु पर्ने थिएन ।
जंगलमा ठुलो रुख थियो । त्यो हरिलोभरिलो वृक्षमा थरिथरिका पंक्षीहरू बस्थे । जीवन त जीवनमय थियो । एक दिनको कुरा हो, एक जना व्याधाले बिषयुक्त तीरले मृगलाई हान्दा मृगले छलेर भाग्यो तर तीर चैं रुखमा गोपियो । केही महिनापछि बिषको असरले रुख सुक्यो । धेरै चराहरू बसाइँ सरे सुगा चैं त्यहीं रहिरह्यो । सुगाको रुखप्रतिको मोह देखेर इन्द्र भगवान उसको छेउमा आएर सोध्नुभयो , ‘ए ! सुगा, अरुले यो मरेको रुख छोडेर गए तिमी चैं यहीँ ं छौ किन ? तिम्ले नि छोडेर गएको भए भैहाल्थ्यो नि ।’ सुगाले प्रत्युरायो- ‘म यही रुखमा जन्में, बढें , खेलें र हुर्कें । अहिले रुख सुक्यो भन्दैमा छोडेर जान मिल्छ र ? स्वार्थी हुन हुन्छ र ?’ इन्द्र भगवानले भन्नुभयो, ‘म तिमीदेखि प्रशन्न भएँ; वर माग ।’ सुगाले भन्यो- ‘यो रुखलाई पहिलेको झैं हरिलोभरिलो बनाईदिनुस् ।’ इन्द्र भगवानले अमृत छर्केर रुखलाई पहिलेको झैं हरिलोभरिलो बनाई दिनुभो । अरु चराहरू नि फर्केर आए । एउटा चरोले त आफ्नो बासस्थान छोड्न सकेन भने हामी विवेकशील मनुष्यले त कसरी आफ्नो जन्मभूमि बिर्सन सकौंला र ?
जन्मदाताको श्रध्दा गर्न छोडेको परिवेशमा कसले कसलाई पुछ्ला र ? बाँच्नको लागि संघर्ष गर्नैपर्छ । तौलरहित भुइँफुट्टा मुर्कट्टाको के बखान गर्नु ? शास्तरले सबै खाले भावहरू त्यागेमा मोक्ष मिल्छ भनेर किटेको छ । तीस हातको डोरी बाटे नि गाँठो एउटै । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया