एक समय व्यापार, उद्योग, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य आदि जस्ता समाजसेवाको केन्द्रविन्दु रहेको भद्रपुर आफ्नो त्यो उत्कर्ष स्थितिबाट खस्कँदै गएर अहिले सुकेनास लागेको बिरामी झैं भएको छ । स्खलित हुने रफ्तार अझै जारी छ ।
✍ राजेश ढुङ्गाना

भद्रपुर अर्थात् नेपालकै सबैभन्दा पुरानो शहरमध्येको एउटा शहर । देशकै राजनीतिक, सामाजिक एवम् औद्योगिक गौरव समेत थियो, कुनै बेला । यसको विगत गर्वोन्नत, वैभवशाली र लोभलाग्दो रहेको छ । स्थापनाकालदेखि नै सक्रिय, चलायमान र गुल्जार थियो- यो शहर । तर, महेन्द्र राजमार्ग काँकडभिट्टाबाट बनेपछि भने यसको दुर्भाग्यको दिन शुरु भयो । पञ्चायती व्यवस्थामा उत्तरी झापाकै नेताहरू हावी भएकाले सदरमुकामबाट राजमार्ग बन्नै पर्ने अनिवार्य आवश्यकतालाई बेइमानीपूर्ण रुपले खोसियो । केही वर्ष यता यो नगर झापा जिल्लाको एउटा सदरमुकाम मात्रमा सीमित छ ।
त्योभन्दा अघि जिल्लाको प्रमुख मात्र होइन; एक मात्र व्यापारिक, औद्योगिक र राजनीतिक केन्द्र थियो- भद्रपुर । गौरव र वैभव बोकेको यो शहरले पञ्चायतकालमा सबल र प्रभावशाली राजनीतिक नेतृत्व पाउन सकेन । जस कारणले यो शहर दिनप्रतिदिन धमिराउँदै र दुब्लाउँदै गयो ।
भद्रपुरबाट सीमा पारि इण्डियाको गल्गलिया जोड्ने मेची पुल बनाउन जनस्तरबाट संकलित २२ लाख ८० हजार रुपैयाँ तत्कालीन युवराज वीरेन्द्र पूर्वाञ्चल भ्रमणमा आएका बेला मेची पुल निर्माण गरिदिन बिन्ती-पत्र सहित थैली भेट गरिएको भए पनि षडयन्त्रमूलक ढङ्गले हड्पेपछि यो शहरको चरम दुर्भाग्य शुरु भएको हो । राजाको त्यो कदमका विरुद्धमा उतिबेलाका भद्रपुरका सचेत युवाहरूले ठूलो विद्रोह गरे । तर, उनीहरूको केही सीप लागेन । बरु त्यही विद्रोह वापत वर्षौं जेलमा थुनिए ।
यसरी एकपछि अर्को दुर्भाग्य व्यहोर्दै आएको २००८ सालमा स्थापित यस भद्रपुर नगरपालिका शरहदको आर्थिक, राजनीतिकसहित सबै प्रकारका आयतन खुम्चने क्रम अझै जारी छ । भद्रपुरको पहिलो पुस्ता सामाजिक उत्तरदायित्वप्रति सचेत र सक्रिय मात्र थिएन, विकास निर्माणमा आफ्नै लगानी र दानदातव्य समेतमा उदार थियो । जसको कारणले त्यतिबेला भद्रपुर हर तरहले सम्पन्न थियो । सुखद भविष्य बोकेको शहर थियो ।
पुस्तकालय, विद्यालयहरू, क्याम्पस, मेची अञ्चल अस्पताल, एयरपोर्ट, धर्मशाला, गौशाला लगायत थुप्रै मठमन्दिर, गुम्बाहरू त्यो पुस्ता र त्यसपछिको लगत्तैको पुस्ताले बनायो । एक समय व्यापार, उद्योग, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य आदि जस्ता समाजसेवाको केन्द्रविन्दु रहेको भद्रपुर आफ्नो त्यो उत्कर्ष स्थितिबाट खस्कँदै गएर अहिले त सुकेनास लागेको बिरामी झैं भएको छ । स्खलित हुने रफ्तार अझै जारी छ ।
भद्रपुरको आजको अवस्थाका लागि अब रोएर-कराएर केही फाइदा छैन । त्यो अरण्यरोदनले कुनै अर्थ र महत्व राख्तैन पनि । अरूलाई दोष दिएर आफ्नो कमजोरीबाट मुक्ति पाइन्न । हाम्रो नगर बनाउने जिम्मा हाम्रो आफ्नै हो । अरूले आएर बनाइदिने होइनन्, जसरी पहिलो पुस्ताले र केही हदसम्म त्यसको लगत्तैको पुस्ताले जुन सोच, भावना, त्याग, दूरदृष्टि, सामूहिक पहलका साथ यो भद्रपुरलाई जीवन्त र चलायमान बनायो; त्यो सोच र सक्रियता अहिले छैन । केही वर्ष यताका पुस्तामा त्यो सोच र सक्रियता त छैन नै; हामी भद्रपुरेली इमान्दार मात्र रहन नसकेका होइनौं, बेइमान नै समेत बनेका छौं । आफैंप्रतिको बेइमानीभन्दा खतरनाक र ठूलो बेइमानी अर्थोक हुँदैन ।
यतिबेला भद्रपुर नगरका कथित ठूलाबडा महाजन र सेठहरू, जसमा भूइँफुट्टा नवकुवेरहरू पनि पर्दछन्, समाज र आफ्नो ठाउँका लागि केही दिउँ भन्दा पनि आफूले नै कसरी हुन्छ लिउँ भनेर कम्मर कसेर लागेका छन् । अब भद्रपुरमा उद्योगी-व्यापारी नगण्य मात्र रहे । उद्योगी-व्यापारीका नाम र आवरणमा अधिकांश तस्कर र करछली गर्ने साहू-महाजनहरू चाहिं छँदैछन् । जसले सरकारलाई मात्र ठग्दैन, जनता र समाजसँग बेइमानी समेत नै पनि गर्दछन्, गर्दै आएका छन् । तिनले आफ्नो स्वार्थको तिजारी मात्रै भर्दै आइरहेका छन् ।
झापाका अधिकांश चिया बगान र फ्याक्ट्रीका मालिकहरू यस नगरमा छन् । चिया, चामल, प्लाइवुड, सिमेन्ट, इँटा, पशु-पंक्षीको दाना उद्योग र ग्यास फ्याक्ट्री लगायत पनि छन् । अर्थात्, व्यापार र उद्योगधन्दा नभएको र नचलेको पनि होइन । तर, उनीहरूमा आफ्नो ठाउँ र आफ्नो समाजका लागि केही गरौं भन्ने सोच र भावना अत्यन्त न्यून छ ।
अझ स्पष्ट भन्ने हो भने, सो वर्गले माग्नेलाई भीख, मन्दिरमा भेटी र जोगीलाई सिदा नै समेत पनि दिन गाह्रो मान्दा होलान् । बाँकी दान-पुण्यको कुरा त धेरै परको कुरा भइगयो । यो नवधनाढ्य वर्गले आफ्नो वैध/अवैध आयआर्जनको सानो अंश पनि सामाजिक काममा लगाउने हो भने भद्रपुरको अवस्था ह्वात्तै उठ्ने थियो । तर, तिनले त्यसो गर्ने सम्भावना लगभग छैन । सामाजिक सोच र चेत नभएका वर्तमान समयका नवकुवेरहरूमा समाजप्रतिको उत्तरदायित्व र कर्तब्य निर्वाह गर्नु पर्ने सोच पलाउला भन्ने आशा गर्नु पनि निरर्थक हुन सक्छ ।
सामान्य नागरिकहरूले त होस्टेमा हैंसे गर्ने हो । महाजनहरूले चाहिं आफ्ना गाउँ-नगरका खातिर प्रयत्न, पहल र लगानी गर्ने हो । तर, यहाँका साहु-महाजनहरू आफूलाई यति ‘गरीब’ ठान्छन् कि, बरू उनीहरूलाई नै कसले देओस् र कसैले दिए उनीहरू नलजाई थाप्थे होलान् ।
अब यस्तो घेराबन्दी झैं अवस्थामा भद्रपुरको विकास कसरी सम्भव छ ? विकास त निकै परकै अपेक्षा भइगयो, बरू जानेचाहिँ अधोगतितर्फ हो । यस नगरलाई अरू बाहिरकाले बिगारेका पनि होइनन् र बाहिरकाले सपारिदिने पनि होइनन् । हामी आफैले हाम्रो ठाउँका लागि गर्नु पर्ने हो । तर, अहिलेका हाम्रा साहु-महाजनहरूको दरिद्र्याइँ हेर्दा त्यो प्रायः असम्भवजस्तै छ । यहाँका साहु-महाजनहरू अनपेक्षित चिसा, चाम्रा र लगभग असामाजिक छन् । यसै कारणले भद्रपुर दिनप्रतिदिन खस्कँदै गएको हो । यही दुर्भाग्यपूर्ण नियति भद्रपुरबासीले भोग्दै आउनु परेको छँदैछ, र अझै कतिञ्जेल भोग्नु पर्ने हो- थाहा छैन !
प्रतिक्रिया