रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर-क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागीसमेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू आगो नियन्त्रणमा लिनका लागि खटिएका छन् ।
प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भनेका छन्, ‘युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ ।’
प्रधानमन्त्री स्विरिदेन्कोले राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता शहरहरूमा पनि क्षति पुगेको जनाएका छन् ।
युक्रेनको आपतकालीन सेवा विभागले राजधानी किभमा भएको हमलाका कारण एक आमासहित दुई महिनाका शिशुको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको जनाएको छ, भने २० जनाभन्दा बढी नागरिकहरू घाइते भएका छन् ।
प्रतिक्रिया