✍ रमेश कँडेल
नेपालको राजनीतिक यात्राले पछिल्ला केही दशकयता अनगिन्ती उतारचढाव ब्यहोरेको छ । बहुदलीय लोकतन्त्रको स्थापनापछि विभिन्न आन्दोलन, शक्ति-संघर्ष र परिवर्तनका प्रयास भए तर परिणामस्वरूप नागरिकको जीवनस्तरमा आशा गरेजस्तो सुधार आउन सकेन । यसको प्रमुख कारण पुरानै नेतृत्वको निरन्तरता, संस्थागत भ्रष्टाचार र शक्तिको दुरुपयोग रह्यो ।
यही पृष्ठभूमिमा आजको पुस्ता – Gen-Z – ले शान्तिपूर्ण तर दृढ आन्दोलन सुरु गरेको छ । उनीहरूको आवाज स्पष्ट छ- भ्रष्टाचारविरुद्ध जवाफदेही शासन, पारदर्शिता र निष्पक्ष प्रशासन । यो आन्दोलन कुनै दलको एजेन्डा होइन, बरु भविष्य खोज्ने नयाँ पुस्ताको सामूहिक आक्रोश हो ।
तर, आश्चर्यजनक ढंगले, ठूला दलका कतिपय नेताहरूले पुरानै संरचना र नेताहरूलाई समर्थन गर्ने, अनि फेरि Gen-Z आन्दोलनप्रति पनि सहानुभूति देखाउने दुईवटा विपरीत भूमिकामा आफूलाई प्रस्तुत गरिरहेका छन् । यस्ता द्वैध चरित्रले केवल भ्रम पैदा गर्छ, तर समाधान भने दिँदैन।
राजनीतिमा स्पष्ट पक्ष लिनु अनिवार्य हुन्छ । एकातिर पुरानो असफल नेतृत्वलाई निरन्तर समर्थन गर्ने र अर्कोतिर परिवर्तन खोज्ने नयाँ पुस्ताको आन्दोलनलाई साथ दिएको देखाउने प्रवृत्ति दीर्घकालीन दृष्टिले घातक हुन्छ । यो न त साँचो प्रतिबद्धता हो, न त भविष्यप्रति जिम्मेवारी ।
नेपाललाई अहिले आवश्यक छ- स्पष्ट नेतृत्व, पारदर्शी शासन र साहसी निर्णय । बीचको बाटोले न पुरानो समस्या समाधान गर्छ, न नयाँ सम्भावना खोल्छ। त्यसैले आजको आवश्यकता होस् नयाँ पुस्ताको आवाजलाई निष्कपट रूपमा स्वीकार्नु, र परिवर्तनलाई वास्तविकतामा परिणत गर्नु ।
Gen-Z आन्दोलनले उठाएका प्रश्नहरू केवल युवाहरूका माग मात्र होइनन्, सम्पूर्ण राष्ट्रको भविष्यसँग सम्बन्धित विषय हुन् । त्यसैले द्वैध चरित्रको राजनीति त्यागी, स्पष्ट प्रतिबद्धतासहित नयाँ पुस्ताको पक्षमा उभिनु नै आजको युगको माग हो।
(मलेखु, धादिङ, हाल : बेल्जियम)
प्रतिक्रिया