कतारमा हमासको राजनीतिक मुख्यालयमाथि हवाई आक्रमण

कतारमा हमासको राजनीतिक मुख्यालयमाथि हवाई आक्रमण


दोहामा हमासका वार्ताकारमाथि इजरायलले गरेको आक्रमणको बारेमा सचेत गराइएको भन्ने अमेरिकी दाबीलाई कतारले खण्डन गरेको छ । विस्फोट सुरु भएपछि मात्र अमेरिकी फोन आएको कतारको प्रष्टोक्ति छ ।

दोहाको आवासीय जिल्लामा इजरायली आक्रमणमा पाँच हमास सदस्य र कतारी सुरक्षा अधिकारीको मृत्यु भएको दोहाको गृह मन्त्रालयले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राजदूत स्टिभ विटकोफलाई कतारी अधिकारीहरुलाई यस कारबाहीअघि नै यसबारे जानकारी गराउन निर्देशन दिएको बताएकी छन् । यसैको खण्डनस्वरुप कतारको उक्त प्रतिक्रिया आएको हो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै पूर्व चेतावनी प्राप्त नभएको र उक्त विवरण पूर्ण रुपमा झुटो भन्दै अस्वीकार गरेका छन् ।

उनले भनेका छन्, ‘कतारलाई आक्रमणको बारेमा पहिल्यै जानकारी दिइएको भन्ने विज्ञप्ति वितरण भइरहेका छन् । दोहामा इजरायली आक्रमणका कारण विस्फोटको आवाज आएको बेलामात्र एक अमेरिकी अधिकारीको फोन आएको हो।’

ज्ञात रहोस्, इजरायलले गत मङ्गलबार कतारमा हमासको राजनीतिक मुख्यालयमाथि हवाई आक्रमण गरेको थियो । मुख्यालयमा शीर्ष नेताहरू गाजा युद्धविरामबारे अमेरिकी प्रस्ताव छलफल गर्न भेला भएका थिए । यो आक्रमणले कतारलाई आक्रोशित तुल्याएको छ र वार्तालाई लिकबाट हटाउने खतरा पैदा गरेको छ । कतारले यसलाई ‘अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन’ भन्दै विरोध गरेको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि कतारलाई समर्थन जनाएका छन् ।

मंगलबारको आक्रमणमा हमासका केही सदस्य र गार्डहरू मारिएका छन् भने शीर्ष नेताहरू जीवित छन् रहेको दाबी गरिएको छ । आक्रमणमा कतारी आन्तरिक सुरक्षाकर्मीको समेत मृत्यु भएको छ । इजरायलले आक्रमण गर्नुअघि अमेरिकाले जानकारी गराएको भने पनि आफू टाढा रहेको भन्दै उ पन्छिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ भनेका छन् ।

कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले नेतान्याहूलाई ‘क्षेत्रलाई अपूरणीय सङ्कटतर्फ तानेको’ भन्दै आलोचना गरेका छन् ।

हालको वार्ता ‘वैध छैन’ भनेपनि कतारले मध्यस्थता भने जारी राख्ने सङ्केत दिएको छ । यो कदमले इजरायल वार्ता चाहँदैन भन्ने देखाएको दाबी गर्दै हमासले अमेरिकालाई पनि दोष दिएको छ । इजिप्टले पनि कतारको सार्वभौमसत्तामाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

साउदी क्राउन प्रिन्स र संयुक्त अरब इमिरेट्स (युएई)ले कतारसँग ऐक्यबद्धता जनाउँदै यसलाई ‘आपराधिक कार्य’ भनेका छन् ।

यसैबीच, बन्धक परिवारहरूको समूहले ‘फिर्तीको सम्भावना झन् अनिश्चित’ भएको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रस्तावअनुसार युद्धविरामपछि इजरायली सेना फिर्ता हुने व्यवस्था थियो तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण बन्धक मुक्तिसम्म युद्ध जारी रहने बताएका छन् ।

गाजा युद्धले इजरायललाई अन्तर्राष्ट्रिय रूपमा झन् अलग बनाइरहेको बेला यस कदमले क्षेत्रीय तनाव चर्काएको छ ।