ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध

ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ ।

सिआइबीले एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक वित्तीय संस्थालगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नुपूर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा ब्यूरो एवं अन्य प्रहरी कार्यालयहरुबाट अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी, सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउनसमेत अनुरोध गरिएको छ । यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत ब्यूरोद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

लुटपाट गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न प्रशासनको आग्रह

जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न सिराहा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

प्रशासनले सूचना जारी गर्दै आन्दोलनको दौरानमा सरकारी कार्यालय र प्रतिष्ठानहरू तोडफोड, आगजनी गरी खाद्यान्न, जिन्सी, नगदलगायतका सामग्री चोरी तथा लुटपाट गरिएको उल्लेख गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर, भिडियो र सिसिटिभी फुटेजमार्फत ती घटनामा संलग्न व्यक्ति पहिचान भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा भनिएको छ, ‘यस्ता कार्यहरू कानूनविपरीत छन् । सार्वजनिक सम्पत्तिको सुरक्षामा नागरिकको पनि दायित्व हुन्छ । यसकारण लुटपाट तथा चोरी गरिएका सम्पत्ति आजदेखि सात दिनभित्र स्वेच्छिक रूपमा प्रशासनमा फिर्ता गर्न अनुरोध छ ।’

प्रशासनले तोकिएको समयमा सामग्री नफर्काउनेलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।