संविधानले मुलुकका यावत् समस्याहरू समाधान नगरेकै कारणले नै यति ठूलो क्रान्ति भएको हो । यही संविधानले समस्या समाधान गर्ने थियो भने त यो छँदै थियो नि ! यत्रो ठूलो बलिदानपूर्ण क्रान्तिको आवश्यकता र औचित्य छँदै थिएन । क्रान्ति सफल भएपछि पुरानो संविधान हेरिन्न ।
✍राजेश ढुङ्गाना
नेपालको इतिहासमा भएका सबै क्रान्तिहरू भन्दा फरक र ऐतिहासिक सफलता एवम् उपलब्धियुक्त जेन-जेड आन्दोलनले आफ्नै इतिहास स्वर्ण अक्षरमा अङ्कित गरेको छ । यो रक्तबलिदानले मुलुकमा केही हुन्छ भन्ने हराइसकेको विश्वास अचानक बौरिएको छ । नेपाली जनताको यही मरिसकेको विश्वासलाई जगाउनु नै मात्र पनि यो क्रान्तिको पहिलो र ठूलो उपलब्धि हो । नत्र भने जनता मात्र मरिसकेका थिएनन्, थिल्थिलो भएर मुलुक नै समेत परास्त हुने अन्तिम चरणमा थियो, सधैंका लागि ।
जे होस्, मुलुकले एउटा आशा र विश्वासको गतिलो फड्को मारेको छ । इतिहासमा २००७ सालमा र २०४६ सालमा राजनीतिक दलले आन्दोलन गरेका थिए । तर, अहिले त ससाना स्कूले नानीहरूले बिना संगठित स्वतःस्फूर्त रूपमा यो देशमा कहिल्यै नभएको ऐतिहासिक उपलब्धि ल्याएका छन् ।
दलका जाली-फटाहाहरू हिजोसम्म यही संसद्बाट समाधान खोजिनु पर्ने मधुरो अडानमा थिए- अझै निरन्तर राष्ट्र दोहन गर्ने सपनामा । तर, यो स्थिति टरिसकेको छ । अब भने चिच्याउन थालेका छन्- समाधान यही संविधानबाट हुनु पर्दछ । एकै दिनमा अझ केही घण्टामै भएको यो रक्त बलिदानपूर्ण क्रान्तिलाई अवमूल्यन गर्नु हो – यही संविधानबाट समाधान खोज्नु पर्दछ भन्नु । यसो भन्नेहरूले आफैतर्फ फर्केर हेर्दा हुन्छ, २०४६ सालको जनआन्दोलनले पञ्चायती संविधान फ्याँकेको होइन ? क्रान्तिले पुराना कुरा सबै भत्काउँछ र नयाँ सिर्जना गर्दछ । त्यसैले अब नेपाली जनताले समय अनुकूलको लामो दूरदर्शी दृष्टियुक्त रूपमा नयाँ संविधान बनाउनै पर्दछ । नत्र जेन-जेडको रक्त बलिदानको अवमूल्यन मात्र होइन, अक्षम्य धोका हुने छ ।
यही संविधानले मुलुकका यावत् समस्याहरू समाधान नगरेकै कारणले नै यति ठूलो क्रान्ति भएको हो । यही संविधानले समस्या समाधान गर्ने थियो भने त यो छँदै थियो नि ! यत्रो ठूलो बलिदानपूर्ण क्रान्तिको आवश्यकता र औचित्य छँदै थिएन । क्रान्ति सफल भएपछि पुरानो संविधान हेरिन्न ।
राष्ट्रपति रामचन्द्र पौडेल समेतले यो संसद् बचाउने खेलमा षडयन्त्रमूलक ढंगले अडान लिएर दलहरूको तावेदारी निर्लज्जतापूर्वक गरेकै हुन् । तर, उनको केही नलागेर मात्र हो । त्यसैले यो सफल क्रान्तिले उनलाई विश्वास गर्नु हुन्न । उनी हरसम्भव रूपले कांग्रेस, एमाले र माओवादी दलको षडयन्त्रलाई टुङ्गोमा पुऱ्याउने ‘वैधानिक’ हतियार हुने पक्का छ, केही समयपछि नै । त्यसैले क्रान्तिको म्यान्डेट भनेर नयाँ सरकारले सबैभन्दा पहिले उनलाई बर्खास्त गरिएन भने त्यो दुर्भाग्य र भूल दुबै हुने छ ।
क्रान्ति हो, क्रान्तिमा भिटो हुन्छ, सबैथोक गर्न सक्छ । नेपाली जनताले पुरानो सत्तामाथि क्रान्ति गरेर विजय प्राप्त गरेका हुन् । क्रान्तिपछि क्रान्तिकारी काम गर्ने कुनै विधि विधान संविधान खोजिरहनु नै हुँदैन । त्यस्तो खाले जोखाना हेर्न थालियो भने क्रान्ति र मुलुकलाई फेरि पनि धोका हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेल समेतले यो संसद् बचाउने खेलमा षडयन्त्रमूलक ढंगले अडान लिएर दलहरूको तावेदारी निर्लज्जतापूर्वक गरेकै हुन् । तर, उनको केही नलागेर मात्र हो । त्यसैले यो सफल क्रान्तिले उनलाई विश्वास गर्नु हुन्न । उनी हरसम्भव रूपले कांग्रेस, एमाले र माओवादी दलको षडयन्त्रलाई टुङ्गोमा पुऱ्याउने ‘वैधानिक’ हतियार हुने पक्का छ, केही समयपछि नै ।
संविधान भनेको रामायण वा महाभारत होइन, जो अपरिवर्तनीय होस् । एउटा गए अर्को आउँछ । बल्लतल्ल बनाएको संविधान गयो भने पाएका अधिकार गुम्नेछन् भन्ने कुरा पनि षडयन्त्रकारी बकबास नै हो । यसो भन्नु नेपाली जनता र उसले गरेको क्रान्तिलाई चरम अवमूल्यन गर्न खोज्नु हो । नेपालको भावी पुस्ताको विवेकमाथि प्रश्न उठाउने दिन सकियो भन्ने कुरा फेरि प्रमाणित गर्नु नपर्ने गरी प्रमाणित भइसकेको छ । यो पुस्ता युग र समयको अनुकूल संविधान बनाउन सक्षम छ ।
जहाँसम्म जेन-जेड आन्दोलनमा घुसपैठका घटनाहरू भएको भन्ने प्रचारबाजी गरिँदैछ, त्यो धेरै हदसम्म सत्य नहुन सक्छ, अर्धसत्य होला । कहीँ कतै घुसपैठ पनि भयो होला । तर, जेन-जेड पहिलो दिन आक्रामक थिएन । जब कलिला बालबालिकालाई ताकी-ताकी मारियो, तब दोस्रो दिन आक्रोश देखिनु स्वाभाविक हो । त्यही भएको हो, अपवाद बाहेक । क्रान्तिमा रक्तमूल्य चुक्ता गरिसकेपछि क्रान्तिकारीहरूले गीता र रामायण पाठ गरेर बस्दैनन् । यो हुन पनि सक्दैन, भएको त्यति मात्र हो ।
यिनै केही घटनाको दुहाइ दिएर दलहरूले क्रान्तिकारीहरूलाई फेरि एकपटक माखेसाङ्लोमा पार्न खोजिरहेका छन् । रक्तमूल्यमा आएको यो नेपालको इतिहास पहिलो र सफल क्रान्तिको गला निमोठिएला । यसतर्फ क्रान्तिकारीहरू पूर्ण सचेत रहनु पर्दछ । त्यतिमात्र होइन, पुराना दल र यसका भ्रष्टहरू यो आन्दोलनलाई कतैबाट परिचालित समेत भन्न थालेका छन् । ३० वर्ष आफूहरू नै कहीँ र कतै न कतैबाट परिचालित दलहरूले देख्ने नै यही हो । यस बारेमा उनीहरूमा लामो अनुभव जो छ ।
राष्ट्रलाई मुटुमा कुँदेर राष्ट्रप्रेमले ओतप्रोत रक्तक्रान्ति हो यो, नेपाली युवाहरूको आफ्नै क्रान्ति । यस्तो क्रान्ति नेपाली इतिहासमा कहिल्यै भएको थिएन । विगतका क्रान्तिमा बरू छिमेकी र अन्य मुलुकको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग लिएको थियो । तर, यो महान क्रान्ति नेपाली युवाहरूले आफ्नै बुता, बल, विवेक र सामर्थ्यमा गरेका हुन् । र, यो ध्रुव सत्य हो ।
प्रतिक्रिया