अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो । रुबियोले भ्रमणअघि गाजामा इजरायलको योजना बारेमा प्रत्यक्ष जवाफ खोज्ने बताएका थिए । गत हप्ता कतारमा हमास नेतामाथि भएको इजरायली आक्रमणले द्वन्द्व अन्त्य गर्ने प्रयासलाई थप जटिल बनाएको थियो ।
उनको दुई दिने भ्रमणले बढ्दो पृथक इजरायलप्रति समर्थन प्रकट गर्छ, यद्यपि संयुक्त राष्ट्रसङ्घमा अर्को हप्ता प्यालेस्टिनी राज्य निर्माणबारे विवादास्पद बहस हुने अपेक्षा छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसबारे कडा विरोध जनाएका छन् ।
रुबियोको भ्रमण दोहामा भएको इजरायली आक्रमणपछि पनि जारी रहेको छ । आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । उनले उक्त कारबाहीबारे अमेरिका पूर्वसूचित नभएको बताए ।
आइतबार नेतान्याहु, रुबियो र तिनका पत्नीहरू, साथै अमेरिकी राजदूत माइक हुकाबी दम्पतीले पश्चिमी पर्खाल र नजिकै उत्खनन गरिएका सुरुङहरू अवलोकन गरे । नेतान्याहुले भनेका छन्, ‘रुबियोको भ्रमण इजरायल-अमेरिकी गठबन्धनको स्थायित्व र बलको प्रमाण हो, यो ढुङ्गाजस्तै मजबुत छ ।’
शुक्रबार रुबियो र ट्रम्पले कतारका प्रधानमन्त्रीसँग भेटेर आक्रमणका प्रभावबारे छलफल गरेका थिए । इजरायल र कतारसँगको ती भेटहरूले ट्रम्प प्रशासनले कसरी प्रमुख सहयोगीहरूबीच सन्तुलन खोजिरहेको छ भन्ने देखाउँछ ।
कतारमा भएको आक्रमणले कम्तीमा ६ जनको मृत्यु भएको थियो र संयुक्त राष्ट्रसङ्घीय महासभाको आगामी सत्रअघि युद्धविराम तथा बन्धक मुक्त गर्ने प्रयासहरूलाई पनि धक्का दिएको छ ।
यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार अरब र मुस्लिम मुलुकका विदेशमन्त्रीहरूसँग भेटेर इजरायलको निन्दा गर्दै भनेका छन्, ‘कतार इजिप्ट र अमेरिकासँग युद्धविराममा प्रतिबद्ध छ, तर इजरायलको हवाई आक्रमण ‘मध्यस्थताको सिद्धान्तमाथि प्रहार’ हो ।’
स्थानीय अस्पतालहरूका अनुसार आइतबार गाजाभरि भएको इजरायली आक्रमणमा कम्तीमा १३ जना मारिए र दर्जनौँ घाइते भए । देइर अल–बलाहमा भएको एउटा आक्रमणमा एउटै परिवारका ६ सदस्य मारिए । मारिनेमा दुई आमाबाबु, तीन सन्तान र एक काकी रहेका थिए ।
इजरायली सेनाले तत्काल प्रतिक्रिया दिएको छैन । तर, एपी भिडियोले आकाशमा धुवाँ उडिरहेको र गाजा शहरबाट हजारौँ मानिस सामानसहित भागिरहेको देखाएको छ । सेनाले बासिन्दालाई सहर खाली गर्न चेतावनी दिइरहेको छ ।
इजरायलले तीन अग्ला भवन ध्वस्त पारेको छ । गाजाको इस्लामिक युनिभर्सिटीको एउटा भवन दुईपटक प्रहारपछि भत्काइएको छ । अल–सिफा अस्पतालमा हताहत भएको रिपोर्ट छ, तर विवरण अज्ञात छ ।
सेनाले हमासले ती भवनहरूलाई निगरानी केन्द्रका रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । तर सेनाले प्रमाण प्रस्तुत गरेको छैन ।
‘यो नरसंहारको एक हिस्सा हो’, गाजा सहरका बासिन्दा अबेद इस्माइलले भनेका छन्, ‘तिनीहरू सहरलाई भग्नावशेष बनाउँदै छन् र हामीलाई अर्को ‘नाकबा’ तिर धकेल्दैछन् ।’
प्रतिक्रिया