मुलुक ‘पिज्जा इफेक्ट’मा परेकै हो त ?!

मुलुक ‘पिज्जा इफेक्ट’मा परेकै हो त ?!


‘ओली दम्भ’ले मुलुक शून्यतामा पुगेको छ । विगत ३५ वर्षमा दलीय नेतृत्वले योजना, जोस र लगनशीलताको साथ मुलुकको पक्षमा काम गरेको भए आजको विशाल शून्यता उत्पन्न हुने थिएन । एउटा तार्किक प्रश्न खरानीबाट मुलुक कहिले र कसरी उठ्छ ? लोकतन्त्रमा शक्ति र जिम्मेवारी एउटै सिक्काका दुई पाटा हुन्, तर नेतात्रयले यस तथ्यलाई कहिल्यै सम्मान गरेनन् । लोकतन्त्रको सान्दर्भिकता र प्रभावकारिता यसको अभ्यासमा निहित छ । केवल अवधारणात्मक भ्रमले अराजकता र हानि मात्र निम्त्याउँछ भन्ने मुलुकले बुझ्ने दिन आएको छ ।

फेरि एकपटक शीतयुद्धको समयदेखिको एउटा सिद्धान्त चर्चामा छ, जसमा मीम्स र पोस्टहरू भाइरल भइरहेका छन् । यदि पेन्टागननजिकै पिज्जा अर्डर गर्दा भूराजनीतिक विनाशको घोषणा भयो भने के हुन्छ ? द टेकआउट वेबसाइटद्वारा लोकप्रिय बनाइएको, आकर्षक थेसिस गत वर्ष भाइरल भएपछि पुनरागमन गर्दैछ । जेन-जी पुस्ताले पेन्टागन पिज्जा इफेक्ट नबुझेको भन्न मिलेन । मुलुक शून्यतामा कसरी पुग्न सक्छ भन्ने बुझेको भए जेन-जी पुस्ताले केवल सोसल मिडियाको कच्चा पदार्थ बन्ने थिए भन्न सकिँदैन । त्यसो भए पिज्जा इफेक्टले कतै मुलुकलाई शून्यतामा त पुऱ्याएन ? एक पटक जेन-जी पुस्ताले सूक्ष्म अध्ययन गरोस् भन्ने पङ्क्तिकारको अनुरोध छ ।

पिज्जा डेलिभरीले अमेरिकी सैन्य र राजनीतिक आपतकालको सङ्केत कसरी दिन्छ ? ‘पिज्जा एट द पेन्टागन’ले अनौपचारिक पेन्टागन पिज्जा इन्डेक्सलाई जनाउँछ । सन् १९९० मा पेन्टागनमा पिज्जा अर्डर र डेलिभरीमा अकस्मात् भएको वृद्धिले चाँडै नै अर्थ राख्यो । सद्दाम हुसेनको सेनाले कुवेतमा अचानक आक्रमण गऱ्यो । पेन्टागनका अधिकारीहरूले निगरानीको काम गरिरहेका थिए । खाडीयुद्ध र इजरायलको इरान-आक्रमण जस्ता घटनाहरूको अवलोकन गरिए अमेरिकी सङ्कटको तयारी मापन पेन्टागनमा पिज्जा डेलिभरीसँग मेल खाएको फेला पर्नेछ । पिज्जा डेलिभरी निगरानी वैज्ञानिक नभए पनि, पेन्टागननजिकै पिज्जा रेस्टुरेन्टहरूको अतिरिक्त चापपश्चात् महत्त्वपूर्ण भूराजनीतिक परिवर्तन हुनुलाई केवल संयोग मान्न सकिन्न ।

शीतयुद्धको समयदेखि नै चलिरहेको छ, पेन्टागन वा रक्षा विभागका टोलीहरू विशेष व्यस्त छन् भने उनीहरू आफ्नो डेस्क छोड्न सक्दैनन् । गम्भीर कुराहरू भइरहेको समयमा टोलीलाई खाना चाहिन्छ । त्यस्तो अवस्थामा पिज्जा भन्दा छिटो के हुन सक्छ ? यदि पेन्टागनमा पिज्जाको डेलिभरी बढ्यो भने आसन्न सङ्कटको सङ्केत मान्नेहरू काफी भेटिन्छन् । सामाजिक सञ्जालको युगमा, अनलाइन जासुसहरूले पेन्टागन वरपरको क्षेत्र स्क्यान गरे । १३ अप्रिल २०२४ मा, पेन्टागनबाट मात्र नभइ ह्वाइट हाउस र रक्षा विभागबाट पनि असामान्य रूपमा उच्च पिज्जा अर्डरहरू गरिए । त्यसको केही समयमा इरानले इजरायली क्षेत्रमा ड्रोनहरू प्रक्षेपण गरेको थियो ।

१ जुन २०२५ मा, पेन्टागनको सबैभन्दा नजिकको डोमिनोजले असामान्य रूपमा आगन्तुकहरूको अनुभव गरिरहेको थियो । केही घण्टापछि, इजरायल र इरानबीच तनाव बढ्यो । त्यसो भए, के पिज्जाले युद्धको भविष्यवाणी गर्न सक्छ वा विश्वव्यापी सङ्कटमा अमेरिकी संलग्नताको मूल्याङ्कन गर्न सकिन्छ ? यसलाई भरपर्दो भूराजनीतिक सूचक हो भन्दै निश्चित सम्बन्ध स्थापित भएको छैन । यद्यपि स्वादिष्ट भविष्यवाणीकर्ताले यसलाई सङ्कटको रूपमा मान्दै आएका छन् । सम्भावित भूराजनीतिक घटनाहरूको बारेमा जानकारी प्रदान गर्ने पिज्जा डेलिभरीमा नेपाल मामिला कहिले पऱ्यो होला । या त्यसोभए भर्खरै नेपालमा ल्याइएको राजनीतिक सङ्कट र शून्यता अगाडि पेन्टागन बाहिर पिज्जा डेलिभरी बढ्यो कि बढेन होला ? या प्रधानमन्त्री ओली हात हल्लाउँदै चीन भ्रमणमा निस्केपछि काठमाडौंको रणनीतिक स्थानमा पिज्जा, मःम र बिर्यानी डेलिभरी बढ्यो कि बढेन ? जेन-जी पुस्ताको रिसर्च म्याटर हुन सक्नेछ ।

सोसल मिडिया प्रतिबन्ध पश्चात् सेप्टेम्बर ८ मा गरिएको/गराइएको भ्रष्टाचारविरोधी प्रदर्शनपछि नेपाल राजनीतिक अनिश्चिततामा डुबेको छ । सुरुवाती समयमा १९ जनाको मृत्यु र सयौंको सङ्ख्यामा प्रदर्शनकारीलाई गोली लागेको थियो । त्यसको भोलिपल्ट भएको तोडफोड, हिंसा र आगजनीपश्चात् मुलुक शून्यमा पुगेको/पुऱ्याइएको छ । यतिबेला नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको छ । अल्पकालीन समाधानको खोजी गरिरहेको नेपाली सेनाले प्रदर्शनकारीको नाडी छामेको छ । दुर्भाग्यवश जेन-जी पुस्तासँग सर्वस्वीकार्य नेता रहेको फेला नपार्दा अन्योल, अस्थिरता र अनिश्चितताबीच सेनाले सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सत्ता सुम्पिँदै अल्पकालीन व्यवस्थापन गर्न सफल भएको छ ।

दमन र घमन्डले राज्यसत्ता चल्दैन भन्ने प्रधानमन्त्री ओलीले कहिल्यै बुझ्न र मान्न तयार भएनन् । सत्ता नसामा नार्सिसिस्ट बनेका ओलीले पार्टी र राज्य संयन्त्रलाई ध्वस्त बनाउँदै गए । गोदावरीमा (२२ भाद्र) सम्पन्न विधान महाधिवेशनमा एमाले कार्यकर्तालाई आतङ्कित बनाएर आर्जन गरेको शक्तिले प्रधानमन्त्री ओलीलाई थप अभिमानी बनायो । सुझाव अनुपयुक्त ठान्ने ‘ओली चरित्र’ जेन-जीहरूको आन्दोलनमा प्रकट भएरै छोड्यो । सामाजिक सञ्जाल बन्द गर्ने ओली-दम्भले अन्ततः उनको साम्राज्य गर्ल्यामगुर्लुम ढल्यो ।

कमजोरलाई हेप्ने, पार्टी र बाहिर निषेधको राजनीति गर्ने, दुनियाँलाई खिसीटिउरी गरेर आफूलाई सर्वमान्य मान्ने ओली शासन भित्रभित्रै मक्किएको थियो । बानेश्वरमा मच्चाइएको नरसंहारको जगमा मुलुकलाई खरानी बनाउने षडयन्त्रले संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबारलाई भग्नावशेषमा परिणत गरेको कुराले नेता ओलीलाई अझै पोलेन । घुसपैठ नै सही ओलीको कुशासनको कारणले नेपालको सम्पूर्ण ऐतिहासिक दस्ताबेजहरू नष्ट भएका छन् । नेतात्रयप्रति आन्दोलनकारीको चर्को वितृष्णाकै कारण मुलुक खरानी पारिएको छ । दम्भी ओली निकम्मा रहेको, एमाले नेतृत्वको लागिसमेत अयोग्य रहेको पुष्टि भएको छ ।

नेतृत्वविहीन, विकेन्द्रीकृत र डिजिटल आन्दोलनले प्रधानमन्त्री ओलीको घमन्ड धुलोमा मिलाएको छ । यस अर्थमा नेपालको विद्रोह जैविक थियो । मुलुक आन्दोलनको निम्ति उर्वर भूमि बनिसकेको सत्ताले बुझ्न चाहेन/सकेन । मुलुकले भर्खरै भोगेको जेन-जीको जैविक आन्दोलन र त्यस आन्दोलनको बहानामा गराइएको ध्वंशले देखाएको छ- मुलुक अत्यन्त कमजोर छ । गृह प्रशासन अत्यन्त लुलो छ । सरकारी संस्थाप्रति नागरिकको विश्वास धेरै कम छ । कमजोर सत्ताले विद्रोहको लागि आधार तयार गर्दछ । सुशासन, न्याय र रोजगारी सिर्जनामा विश्वसनीय ध्यान केन्द्रित गर्न नसक्ने सरकारले दमनको सहारा लिँदा कतिसम्म घातक हुनेछ भन्ने मुलुकले देखेको छ ।

प्रजातन्त्र दिलाएको भन्दै आर्थिक उदारीकरण र खुलाबजार अर्थतन्त्र अपनाउन बाध्य बनाउने, निजीकरणमार्फत राज्यको नागरिकप्रतिको दायित्वबाट पन्छिन उकास्ने, दलाल पुँजीवादलाई स्वीकार गर्न लगाउने, राष्ट्रिय उत्पादननीति भत्काउँदै अनुपयुक्त योजना र परियोजनामा आइएमएफ, विश्व बैंक र अन्य निकायमार्फत ऋण दिलाउँदै वैदेशिक ऋणमा डुबाउने पश्चिमा-नीति लोकतन्त्रको आवरणमा मुलुक प्रवेश गराइयो । राजनीतिक परिवर्तनको नाममा अनुपयुक्त पात्र र प्रवृत्तिलाई योग्य स्थानमा स्थापित गरियो । मुलुकमा अवसरको बन्ध्याकरण गराइयो ।

आइएनजिओ र कर्मचारीतन्त्र मार्फत नेतृत्वलाई भ्रष्ट बनाउने, सोसल मिडियामार्फत उनीहरूलाई बदनाम गर्दै नागरिकसँग सम्पर्क टुटाउने, सरकारलाई अलोकप्रिय बन्न बाध्य बनाउने, ऋणको पासोमा पार्दै नागरिकलाई सुविधाबाट वञ्चित गराउँदै रणनीतिक विद्रोहको वातावरण निर्माण गर्ने पश्चिमी खेलमा ओली-सत्ता र जेन-जी पुस्ता प्रयोग भएको पत्तै पाएनन् । यतिबेला राष्ट्र चौबाटोमा पुगेको छ । मुलुकले प्रणालीगत परिवर्तन खोजिरहेको छ । जेनजी पुस्ताले पारदर्शिता, रोजगारी, सुशासनलाई व्यवहारमै खोजेको छ । दुर्भाग्यवश विश्व-राजनीति र भूराजनीतिक परिवर्तनमा आएको बदलाव र छिमेकी मुलुकको स्वार्थबीच टकराव हुँदा अराजकता, राजनीतिक अस्थिरता र राज्यविहीनता भयानकरूपमा उजागर भएको छ ।

भाद्र २४ को घटना पूर्वनियोजित थियो भन्ने विषयसँग जेन-जी पुस्ता अनविज्ञ थिए भन्ने देखियो । वास्तवमा सेप्टेम्बर क्रान्तिको जग दलीय नेतृत्वले धेरै पहिला राखिसकेको थियो । ओली-देउवा सहकार्यपश्चात् सोसल मिडियामार्फत उनीहरूका विरुद्ध निरन्तर आक्रमण गरियो । उनीहरूकै गतिविधि र आचरण यसको निम्ति जिम्मेवार थियो । तर, प्रधानमन्त्री ओलीको आँखा कहिल्यै खुलेन । नेपाललाई मुलुकले श्रीलङ्का र बङ्गलादेशको जुत्ता लगाएको अवस्थामा पूर्व प्रधानमन्त्रीमध्ये बाबुराम मात्र राखेर शपथग्रहण समारोह सम्पन्न गराइएकोमा हर्षित रणनीतिक एजेन्सीहरू आफ्नो लक्ष्य नजिक आएको महसूस गरिरहेका छन् ।

अन्तमा, मुलुकको राजनीतिक इतिहासको सूक्ष्म अध्ययन गर्दा हरेक दश वर्षमा आन्दोलन भएको फेला पर्छ । हरेक आन्दोलनपछि यो जीत कसको जनताको भन्ने नारा लागेको भेटिन्छ । साइलेन्ट जेनेरेसन (१९२८-१९४५), बेबी बुमर्स (१९४६-१९६४), जेनेरेसन एक्स (१९६५-१९८०), जेनेरेसन वाई (१९८१-१९९६) सम्मले आन्दोलन गर्दै जित्दै अनि हार्दै आएको छ । जेन-जी पुस्ता (१९९७-२०१२)द्वारा भर्खरै सम्पन्न क्रान्तिले मुलुक हल्लाएको छ । दुर्भाग्यवश जेन-जीको अथाह बलिदानपछि मुलुक खरानी बनाइएको छ । उनीहरूको काँधमा बन्दुक राखेर मुलुकको पहिचान मेटाउने षडयन्त्र करिब-करिब फत्ते गरिएको छ । यस कटु यथार्थलाई जेन-जी पुस्ताले बुझ्दै निषेधको राजनीति तत्काल बन्द गर्ने र भूराजनीतिक सन्तुलन कायम गर्दै अगाडि बढ्न सरकार र सत्तालाई निरन्तर खबरदारी गरिरहनु पर्नेछ । जेन-जी पुस्ताको रगत खेर गएमा जेनेरेसन अल्फाले (२०१३-२०२५) नेपाल खोज्न रगत बगाउनु पर्नेछ ।