तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो
चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार सुरु गरिएको छ ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमबार (२९ भदौ) देखि कोरला नाकाबाट निकासी–पैठारी सुरु भएको हो । ‘बाढी-पहिरोका कारण क्षतिग्रस्त तातोपानी र रसुवागढी भन्सारबाट आयात-निर्यात हुन सकेको छैन । चीनसँगको व्यापारका लागि सोमबारदेखि कोरला नाका सञ्चालनमा आएको छ । त्यहाँबाट नियमित जाँचपास सुरु भइसकेको छ’, बर्तौलाले जानकारी दिएका छन् ।
कोरला नाका सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैङ्कले मंगलबार बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यो नाकाबाट वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै राष्ट्र बैङ्कले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा मुस्ताङ भन्सार नाकाबाट समेत आयात गर्न सकिने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।
यसअघि बैङ्क तथा वित्तीय संस्थाले चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै आयात गर्न प्रतीतपत्र खोल्ने अनुमति पाएका थिए ।
प्रतिक्रिया