✍ डिल्ली अम्माई
प्रकासको आभा क्षितिजमा देखिँदा मात्र
सृष्टिको पालुवा मुस्कुराउन थाल्छ
उसलाई थाहा छ ज्योति सृष्टिको जीवन हो भन्ने रहस्य !
अँध्यारोभित्र उज्यालो छ उज्यालोभित्र आशा
तर रातलाई आशा मरेको सम्झनेहरु हो… सुन,
रातमा आशाले प्रकाश भरिरहेको हुन्छ सृजनामा
अनगिन्ति ताराहरुले रातभर तपाएर प्रकाश
फूलको मंजरीबाट स्वास फेरिरहेको हुन्छ सृष्टिले !
सृष्टिचक्र आशाको पुनरावृति हो
एउटै घरको भित्रबाहिर जस्तै
घरको ढोका लाग्नु सृष्टि रोकिनु हैन
सृष्टि सुस्ताउनु पनि हैन
उज्यालो जन्माउनको लागि
रातमा हुन्छ सृष्टिको विर्य रचना ।
तिमीभित्र तिम्रो आफ्नै बिम्ब
उज्यालोमा प्रतिबिम्ब बनेर उभिन्छ
सृष्टिको समतामा बिलय हुन्छ रातमा
र सपनामा प्रकाश लिएर पुग्छ तारा भन्दा धेरै माथि !
मानिस मर्दा मुस्कुराउँदैन किन थाहा छ ?
किनकि उसको जीवनको आभा उसैलाई दिन्छ
जसले उसलाई जीवन दियो
मुस्कान जीवनको आभा हो
जीवन दिनेको लागि
ऊ मुर्झिनु नै पर्छ क्रमशः
अन्तिम मृत्युअगाडि
ऊ धेरै पटक मरिसकेको हुन्छ
तर उसमा आभा बाँकी रहन्छ
आभालाई आशाले जोगाइरहेको हुन्छ
यही खेल सकिन्छ उ ब्युँझन्छ अनि मर्छ।
मन उडाइरहने
सपना देखाइरहने आशा
उर्जा पनि हो, प्रकाश पनि हो
फूलको रंग जस्तै आभा उसको रङ
जसमा हजारौं नयाँ तरङ्ग चक्रहरु
समय चक्रभित्र खेली रहनुपर्छ !
त्यसैले एक समय चक्रको अन्त्यले
अन्त्य गर्दैन जीवन चक्रको
जीवन मृत्युका नयाँ नयाँ चक्रहरू
रातपछि दिन झैँ जन्मिरहन्छन् !
आशाले रंग भर्छ उसको समयमा
सृष्टिमा र रात दिनको विरोधाभासमा
त्यही विरोधाभासले आशाको चक्रवात सृष्टि गर्छ
हामी चक्रको त्यही चक्रवातमा घुम्दै उज्यालो पर्खिरहन्छौँ।
प्रतिक्रिया