यो आन्दोलन अन्तिम होइन । भोलि पनि विभिन्न नाममा यस्ता आन्दोलनहरू हुनेछन् । त्यसबेला आजका पीडित मुटुमा कैद भएका तस्बिर हेरेर एक-एकको घर जलाउन उद्यत हुनेछन् । यसरी व्यक्तिको घर जलाउने वा जलाइने जस्तो अमानवीय, आपराधिक र घृणित प्रवृत्ति समाजमा प्रतिस्पर्धा र प्रतिशोध साध्ने माध्यम बन्न सक्छ ।
✍ मोहन लामा रुम्बा
मेरो जीवनमा पहिलोपटक पूरै शहर जलेको, लुटपाट मच्चिएको दृश्य सन् १९८८ डिसेम्बर २६ मा भारतको आन्ध्र प्रदेशमा प्रत्यक्ष देखेको थिएँ । त्यसदिन विजयवाडामा काङ्ग्रेस पार्टीका विधायक (MP) बङ्गावेटी मोहन रंगा राव कुनै विषयलाई लिएर अनशनमा बसेका थिए । तर, अनशन बसिरहेको राति अज्ञात समूहले बम प्रहार गरी उनको हत्या गऱ्यो ।
यस घटनापछि भोलिपल्ट बिहानैदेखि विजयवाडा शहर हुलदङ्गामा फस्यो । पूरै शहर धुवाँले ढाकिएको थियो । म र मेरा दिवंगत साथी रामप्रसाद काफ्ले शहरतिर गयौँ- ठूला गोदाममा आगो लागिरहेको, पसलहरू तोडफोड र लुटपाट भइरहेको, प्रहरी प्रशासन कतै नदेखिएको र भिडले बजार कब्जा गरेको दृष्य हाम्रो आँखाअगाडि थियो । जीवनमा पहिलोपटक त्यस्तो भयावह अवस्था देखेको थिएँ !
हत्यापछि करिब एक हप्ता कांग्रेससमर्थकहरूले प्रतिशोधस्वरूप तेलगु देशम् पार्टीका नेताहरूको घरहरू जलाए । त्यतिबेला तेलगु देशम् पार्टीका नेता तथा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन.टी. रामाराव थिए । आन्ध्र प्रदेशमा कांग्रेस र तेलगु देशम् पार्टीबीचको तीव्र प्रतिस्पर्धा अनि प्रतिशोधको राजनीतिले कुनै घटना हुनासाथ घर जलाउने जस्तो क्रूर अभ्यासलाई सामान्य बनाएको रहेछ ।
नेपालमा पनि २०४७ सालमा बहुदलीय व्यवस्था आएपछि सार्वजनिक सम्पत्तिमा तोडफोड, सडकको रेलिङ भाँच्ने, सरकारी गाडीमा ढुंगामुढा गर्ने प्रवृत्ति देखियो । तर अहिलेको पुस्ताले त्यसलाई अझ उग्र पार्दै निजी घर, गाडी, पसल र गोदामहरूमा लुटपाट र आगजनीसम्म पुऱ्याएको छ । जेन्जी नामको आन्दोलनबाट पहिलो पटक यस्तो घृणित राजनीतिक प्रतिशोधको सुरुवात भएको छ ।
पङ्क्तिकारलाई लाग्छ- यो प्रवृत्ति अब सहजै रोकिन्न । किनकि, हाम्रो समाजमा एउटा लोकविश्वास छ- ‘नागिनलाई घाइते बनाएर छाड्दा, बदलाभावले उसले एकदिन डसेरै छाड्छ ।’ त्यसैगरी अहिले यो आन्दोलनमा ज-जसका घर जले, जसले व्यक्तिगत सम्पत्ति गुमायो, उनीहरूले आफ्नो पीडा र आक्रोशलाई मुटुमा कैद गरेर राखेका छन् । अवसर पाउनेबित्तिकै त्यो पीडा बदलामा परिणत हुनेछ ।
त्यसैले, यो आन्दोलन अन्तिम होइन । भोलि पनि विभिन्न नाममा यस्ता आन्दोलनहरू हुनेछन् । त्यसबेला आजका पीडित मुटुमा कैद भएका तस्बिर हेरेर एक-एकको घर जलाउन उद्यत हुनेछन् । यसरी व्यक्तिको घर जलाउने वा जलाइने जस्तो अमानवीय, आपराधिक र घृणित प्रवृत्ति समाजमा प्रतिस्पर्धा र प्रतिशोध साध्ने माध्यम बन्न सक्छ ।
यस्तो प्रवृत्तिलाई रोक्न सरकार, नागरिक समाज, सबै गम्भीर बन्नैपर्छ । यस किसिमको प्रवृत्तिलाई हतोत्साहित पार्न एक-एक अपराधीलाई पक्राउ गरेर कानुनी सजाय दिन आवश्यक छ । जरुरी परे तिनलाई विकट तथा दुर्गम स्थानमा श्रम शिविरमा राखेर कठोर सजायको व्यवस्था गर्नुपर्छ । दण्डको कठोरता मात्र होइन, सामाजिक चेतना, शिक्षा र पुनर्स्थापना कार्यक्रममार्फत पनि यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्न अत्यन्त जरुरी छ । अन्यथा ‘बुढी मरेकोमा भन्दा काल पल्केकोमा चिन्ता’ भन्ने उखान चरितार्थ नहोलाा भन्न सकन्न ।
प्रतिक्रिया