अहिले ब्यवस्थाले निर्धारित गरेको नियमबाट जनताले तबसम्म फाइदा पाउँदैनन् जबसम्म उनीहरूको व्यक्तिगत सम्बन्ध सत्तासित हुँदैन । यसरी व्यक्तिकेन्द्रित पनि बनेको छ राजनीति । राज्यका मुख्यमन्त्री वा कुनै निर्वाचित माननीयको गुड बुकमा नपरेको कसैको पनि काम कति नै नियमभित्र परोस् – हुँदैन ।
✍ एम एन दहाल
म एउटा कठिन तर आजको जरुरतको विषयको उठान गर्न गइरहेको छु । यसो त जुन शीर्षकमा लेख्न सोचेको छु – डर लागिरहेको, किनकि यहाँ मैले लेख्न लागेका कुराहरू अहिले सत्तामा रहेका दक्षिणपन्थी नेताहरू र राजनीतिक कर्मीहरूलाई ठिक लाग्ने छैन । उनिहरूलाई पनि ठिक लाग्ने छैन जो प्रगतिवादी सोच वा साम्यवाद मन पराउँदैनन् वा घृणा गर्दछन् । म स्वयं पनि प्रगतिवादी होइन अनि बन्न सकिनँ तर विचारको अनुयायी भने अवश्य हुँ । कालेबुङको कुमुदिनी स्कुलमा पढ्दा साम्यवादी बन्ने इच्छा जागेको हो, तर परिवार, समाज, परिवेश र परिस्थिति केहीले पनि साथ दिएन । मलाई प्रगतिवादी बन्नका निम्ति मार्क्सको मानवतावादी धारणा र लेनिनको एउटा प्रसङ्गले प्रेरित गरेको हो ।
मार्क्सको मानवतावादको ब्याख्या गर्न कठिन छ । यति हो साम्यवादको सबैभन्दा महत्वपुर्ण दस्तावेज कम्युनिस्ट मेनिफेस्टोको चुरो भनेको सबै मानव समाजको निम्ति, सबै मानव कल्याणको निम्ति भन्ने हो । यस सन्दर्भमा यो लेखको भूमिकामा नै मैले सिक्किमका पुर्व मुख्यमन्त्री पवन चामलिङको विचारको उल्लेख गर्नुपर्ने हुन्छ । कार्लमार्क्सले विचारको गतिशीलतालाई स्विकार गरेको हुनाले कुनै पनि विचार स्थिर हुँदैन भनेझैँ चामलिङ जो एक प्रगतिवादी चिन्तक हुन् उनले राजनीतिको उद्देश्य केवल मानव कल्याण होइन तर सुक्ष्मतम् जीवाणुदेखि चराचरका सजीव र निर्जीव हर अस्तित्वको सुरक्षा हुनुपर्छ भने । मलाई लाग्छ उनको यस विचारले साम्यवादी सोचलाई एक खुड्किलो अघि लगेको छ । मार्क्सको भौतिकवादको चुरोसम्म पुग्न वा उनले सोचेको जस्तो पुँजीको वितरणसम्म पुग्न कुनै व्यक्ति वा व्यवस्था नसक्ला तर आज साम्यवादप्रति दक्षिणपन्थीहरू र प्रतिक्रियावादीहरूले जुन भ्रम र दूराग्रह फैलाएका छन् – साम्यवाद त्यसभन्दा अलग र पवित्र छ ।
महान कम्युनिस्ट नेता लेनिनले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दा भनेका थिए- ‘जबसम्म तिमीहरू मानवजातिद्वारा सृजित ज्ञानको समस्त भण्डारले आफू ज्ञानसम्पन्न बन्दैनौ तबसम्म तिमीहरू सच्चा कम्युनिस्ट बन्ने छैनौ ।’ धेरैले भन्छन्- साम्यवाद अहिले पतनोन्मूख छ । कदापि होइन ! किनकि, साम्यवाद जति मानवतावादी अर्को राजनीतिक विचार अहिलेसम्म जन्मेको छैन । धेरै साम्यवादी/प्रगतिवादी पार्टीहरू संसदीय राजनीतिमा विफल भए अनि कथित साम्यवादी/प्रगतिवादी नेता हुँ भन्नेहरू यसरी नै ज्ञान र अध्ययनका दुष्मन हुँदै जाने हो भने एक दिन यो महान् विचार पुर्णतः निर्मुल नहोला भन्न सकिन्न ।
अहिलेको विश्व राजनीति पूरापुर कर्पोरेट जगतको बँधुवा मजदुर बन्न पुगेको छ भने शिक्षित समाजले संसदीय राजनीतिलाई चुनावसम्मको सतही रूपमा लिएको हुनाले अमेरिका जस्तो सभ्य समाजले डोनाल्ड ट्रम्प जस्तो घोर प्रतिकृयावादीलाई निर्वाचित गर्दछन् । चुनावी जुम्ला सम्राट नरेन्द्र भाइ मोदीलाई चुन्छन् । साम्यवादी दल र प्रगतिशील राजनीति गर्ने वा समाजवादमा विश्वास गर्ने दलहरूको चुनावी हारको एउटा कारण कार्यकर्ता र विचारका अनुयायीहरूमा ज्ञानार्जन र अध्ययनप्रति रहेको उदासिनता हो भनेर किट्न सकिन्छ भने यस्ता कार्यकर्ताहरूको भौतिक आकाङ्क्षा र स्वार्थ अर्को कारण हो ।
भियतनाम क्युबा, पेरु जहाँ-जहाँ पनि रक्तपातपुर्ण क्रान्तिहरू भए, संघर्षहरू भए तिनीहरू सबैको मूल कारण भनेको वर्गीय शोषण नै हो । कम्युनिस्ट पार्टीहरू भोट हार्नुको कारण विचार र नीतिको दुर्बलता होइन बरु ती नेता, कार्यकर्ता र अनुयायीहरूको कमजोरी हो जसले साम्यवादलाई संसदीय स्वार्थको निम्ति उपयोग गरे अनि आफ्नो स्वार्थ साधन गरे ।
साम्यवादलाई प्रतिकृयावादीहरूले र विशेष गरेर दक्षिणपन्थीहरूले हिंसा र रक्तपातमा विश्वास गर्ने भनेर दुष्प्रचार गरेको पाइन्छ । वास्तवमा साम्यवादीहरू हिंसा, प्रतिहिंसा र प्रतिशोधका विरोधि हुन्छन् । जुनै आन्दोलनमा पनि दबाब र अन्यायको विरोध गर्दा हजारौँ कम्युनिस्टहरूले ज्यान गुमाएको कुरा खुलेर न लेखिन्छ न त बोलिन्छ । हिंसाको विचार कसरी उत्पन्न हुँदो हो ? वा प्रतिहिंसाको स्थिति कसरी पैदा हुन्छ ? दुवै स्थितिको कारकतत्व भनेको वर्गीय शोषण नै हो । चीनमा च्याङ्काइसेकको शोषण नहुँदो हो, नेपालमा राजपरिवार र निर्दलीय पञ्चायतहरूको शोषण नहुँदो हो त कम्युनिष्ट आन्दोलनहरू जन्मने सवाल पैदा नै नहुने हो ।
जनता रहरले आन्दोलन वा संघर्षमा जाने होइनन् । भियतनाम क्युबा, पेरु जहाँ-जहाँ पनि रक्तपातपुर्ण क्रान्तिहरू भए, संघर्षहरू भए तिनीहरू सबैको मूल कारण भनेको वर्गीय शोषण नै हो । कम्युनिस्ट पार्टीहरू भोट हार्नुको कारण विचार र नीतिको दुर्बलता होइन बरु ती नेता, कार्यकर्ता र अनुयायीहरूको कमजोरी हो जसले साम्यवादलाई संसदीय स्वार्थको निम्ति उपयोग गरे अनि आफ्नो स्वार्थ साधन गरे । सच्चा कम्युनिस्टहरूले मार्ने र मराउने कुरा मान्दैमान्दैनन् । तर, न्यायको निम्ति माग गर्दा अन्यायीहरूले माग दबाउन जब प्रयास गर्दछन् तब हिंस्रक संघर्ष शुरु हुने हो । यस्ता हिंसात्मक कारवाही जहिले पनि शोषकवर्गले नै थालेको इतिहास गवाही छ । साम्यवाद, प्रगतिवाद वा सामजवादलाई कुनै रेखा कोरेर छुट्याउन निकै गाह्रो कुरा हो । सामाजिक न्याय यी सोचहरूको अभीष्ट हो । सोवियत रुसमा जनअदालतहरूले क्रान्तिविरोधिहरूलाई क्षमादान दिएका घटनाहरू साम्यवादी विचार उदार पनि हुन्छ भन्ने कुराको प्रमाण हो । कसैले आन्दोलनको निहुँ गरेर कसैसित प्रतिशोध लिने गर्दछ भने त्यो कम्यनिस्टको छद्म भेषमा प्रतिक्रियावादी तत्व हो भन्ने बुझ्नु पर्दछ ।
सशक्त साम्यवादी दलहरू चुनावी राजनीतिमा पराजित भए । यदि त्यति नै राम्रो नीति र दर्शन हुँदो हो त किन पराजित भएका हुन् भन्ने प्रश्न जन्मन्छ । अहिले पूरा विश्वमा उपभोक्तावादी संस्कृतिको विकास भएको छ । हरेको व्यक्ति पौरख, प्रतिस्पर्धा र प्रगतिको अवसर भन्दा पनि सुविधाको अवसरको खोजीमा छ । मानव समाजले आदिकालदेखि नै सुविधाको जुगाड गर्दै आएको हुनाले अहिले सुविधा खोज्नुलाई गलत भन्न मिल्दैन, तर पहिले मानिसहरू आफ्नो सुविधा आफैं जुगाड गर्दथे भने अहिले व्यवस्थाले नै सुविधा दिनुपर्ने हुन्छ । यसरी परजीवी बन्दै गएको मानव समाज आज जहाँ र जस्तो स्थितिमा छ त्यहाँसम्म राजनीतिले नै पुऱ्याएको हो भन्न अत्युक्ति नहोला । अहिले भारतमा राष्ट्रवाद चरममा छ । राष्ट्रवाद चरममा हुनुलाई कसैले पनि गलत हो भन्न सक्ने होइन, तर यहाँ केवल राष्ट्रवाद नभएर ‘सांस्कृतिक राष्ट्रवाद’को धारणा प्रबल बन्दै गइरहेको अवस्था छ । सांस्कृतिक राष्ट्रवाद देशका स-साना जाति गोष्टिका संस्कृतिहरू माथि हाबी हुँदै आइरहेको अनुभव गर्न सकिन्छ । पहाडी जातिका अनेक संस्कृति र चाडहरू र वाङ्मयसमेतको अहिले समतलीकरण हूँदै गएको कुरा पनि अनुभव भइरहेकै छ । यसका साथै देशको संविधानले संघीय शक्ति गुमाउँदै गएको पनि अनुभव हुन्छ । जस्तो कि CAA,NRC.ONORC वा मतदाता सुचिको सघन जाँच SIR आदि जस्ता राष्ट्रिय कानुनहरूले क्षेत्रिय अधिकारहरूमाथि अतिक्रमण गरिरहेकै बुझिन्छ । यस्तो अवस्थामा आफ्ना संस्कृतिहरूको जगेर्ना र क्षेत्रिय हितका निम्ति जनतामा जागरुकताका निम्ति आफ्ना क्षेत्रको इतिहासको गहिरो ज्ञान हुन जरुरी हुन्छ जसका निम्ति अध्ययनको जरुरत छ । प्रतिकृयावादी पार्टी र दाक्षीणपन्थी शक्तिहरूले आफ्ना कार्यकर्ता र अनुयायीहरूलाई रुढीग्रस्त विचार र अभ्यासहरूप्रति अभिप्रेरित गर्दछन् । जस्तो कि भारतको गरिबी उन्मूलनको दिशामा हुन नसकेकेको कामभन्दा राम मान्दिर बनाउन नसकेकेको मुद्धा भारतीय राजनीतिमा बढ्ता हाबी भएको हो ।
भनिन्छ, भारत एक समयको अत्यन्त धनी देश थियो अनि आज पनि के विश्वास गरिन्छ भने सम्भावनाको हिसाबले भारत विश्वका अन्य मूलुकहरूको भन्दा ज्यादा समृद्ध छ । तर भारतको गरिबी किन घटेको छैन ? किनकि, देशमा शासन गर्ने दलहरूमा इमान छैन । आर्थिक विकासको कुरा गर्दा हामी पण्डित नेहरूदेखि नरसिम्ह रावसम्मको शासनकाललाई उत्ति औंल्याउन सक्दैनौं जत्तिको अहिलेको शासनलाई भन्न सकिन्छ । त्यसो भन्नुको मूल कारण भनेको अंग्रेजले खँगारेको देशलाई आर्थिक दिशा दिनु त्यस समय ठूलो चुनौति थियो । स्व. अटलविहारी वाजपेयी र डा. मनमोहन सिंहको समयमा भएका आर्थिक सुधारहरूको मूल्याङ्कन अलग राखेर हेर्ने हो भने वर्तमान सारकारले एकपट्टि जनतालाई ससाना कल्याण योजनामा अल्झाएर राखेको छ जसले जनतालाई कुनै दीर्घमियादी लाभ दिने होइन भने विशाल कार्पोरेट घरानाहरू आर्थिक शासक बन्दै गएको अवस्था छ । यतिबेला नै हो युवाहरूले राजनीतिक सिद्धान्तहरूको, विचार र आदर्शहरूको अध्ययन गर्ने समय ।
मानव समाजले आदिकालदेखि नै सुविधाको जुगाड गर्दै आएको हुनाले अहिले सुविधा खोज्नुलाई गलत भन्न मिल्दैन, तर पहिले मानिसहरू आफ्नो सुविधा आफैं जुगाड गर्दथे भने अहिले व्यवस्थाले नै सुविधा दिनुपर्ने हुन्छ । यसरी परजीवी बन्दै गएको मानव समाज आज जहाँ र जस्तो स्थितिमा छ त्यहाँसम्म राजनीतिले नै पुऱ्याएको हो भन्न अत्युक्ति नहोला ।
कसैले मान्नु या नमान्नु एउटा कुरा हो तर भारतको सबै भन्दा पछौटे र सानो राज्य सिक्किमले विगत पचास वर्षमा जति तरक्की गऱ्यो त्यसको श्रेय जसले लिए पनि पूर्वमुख्यमन्त्री पवन चामलिङको पच्चिस वर्षको शासनकाल सर्वाधिक प्रगतिशील रहेको कुरामा दुईमत नहोला । यसो त भुतपूर्व मुख्यमन्त्रीहरू स्व. काजी लेण्डुप दोर्जी र स्व. नरबहादुर भण्डारीको शासनकाल पनि आर्थिक प्रगतिकै रहेको हो, तर राजनीतिक रुपले सिक्किमका जनता लोकतन्त्रका निम्ति तैयार थिएनन् । चामलिङले सिक्किममा लोकतन्त्रलाई संस्थागत गर्न हेतु भण्डारीका समयको निर्दलीय पञ्चायती व्यवस्थालाई बहुदलिय प्रणालीमा परिवर्तित गरे, महिलाहरूलाई आरक्षण प्रदान गरे, मन्त्री परिषदमा महिलाहरूलाई सहभागिता दिलाए । यतिमात्र होइन महिलाहरूका निम्ति अनेक विशेष योजनाहरू समेत लागु गरे, तर सिक्किमे समाजले चामलिङका लोकतान्त्रिक विचारहरूलाई लिन सकेन । केवल स-साना फाइदालाई नै उपलब्धि ठान्ने मानसिकताको सिक्किमे समाजले कृषि क्षेत्रमा तुमुल क्रान्तिका निम्ति थालिएको जैविक मिशन र पर्यटनमा आएको क्रान्तिलाई आफ्नो बनाउन सकेन ।
महान् चिन्तक हेगलले भनेका थिए- ‘साधन र साध्यको अटुट सम्बन्ध हुनुपर्छ ।’ कार्लमार्क्स र लेनिनले पनि हेगलको त्यो विचारलाई लिएका थिए । चामलिङले आफ्ना विभिन्न सम्बोधनहरूमा जनता मौरी जस्तो हुनुपर्ने कुरामा जोड दिए । अर्जेन्टिनाको आर्थिक बदहाली सुविधाभोगी समाजको कारण रहेको उदाहरण दिएर जनता र, कार्यकर्ता र अनुयायी समेतलाई खबरदार पनि गरे तर भौतिक सुविधाहरूमा लठ्ठ परेको समाजले उनको कुराको वास्ता गरेन । सिक्किमको समाजले साधन र साध्यबीचको सम्बन्धलाई बुझेन ।
आखिर राजनीति के हो ? राजनीति वास्तवमा लाखौं मानिसहरूसितको मानवीय सम्बन्ध हो जसमा व्यक्ति गौण हुन्छ । अहिले राजनीति नितान्त व्यक्तिगत बन्दै गइरहेको छ । अहिले ब्यवस्थाले निर्धारित गरेको नियमबाट जनताले तबसम्म फाइदा पाउँदैनन् जबसम्म उनीहरूको व्यक्तिगत सम्बन्ध सत्तासित हुँदैन । यसरी व्यक्तिकेन्द्रित पनि बनेको छ राजनीति । राज्यका मुख्यमन्त्री वा कुनै निर्वाचित माननीयको गुड बुकमा नपरेको कसैको पनि काम कति नै नियमभित्र परोस् – हुँदैन । कानुन बङ्ग्याएर पनि काम गराउनु पर्ने बाध्यतामा परेको नोकरशाही लाचार र अधमरो अवस्थामा पुगेको छ । यतिबेला मलाई साम्यवादी दल, त्यसका समर्पित कार्यकर्ता खुब याद आइरहेका छन् । भारतको लोकतन्त्र अहिले दाक्षीणपन्थीहरूको कब्जामा छ । उनिहरूको विचारमा राममन्दिर बनेपछि भारतमा रामराज्य छाउँछ । भारतमा सबैको संस्कार सनातनी हो । राष्ट्रको मजबुतीका निम्ति एक संस्कृति, एक धर्म, एक सभ्यता वा भनौं सबै उनीहरूको सोचसापेक्ष हुनैपर्छ र मात्र देश मजबुत हुने हो ।
राज्यका अनेक सङ्घीय अधिकारहरू खोसेर लगे र अहिले उनिहरू देशको निरपेक्षताबारे सोचिरहेका छन् जो उनिहरूको चुनावको निम्ति काँडो हो । सिक्किमका पुर्वमुख्यमन्त्री पवन चामलिङले भाजपा झैं दक्षीणपन्थी राजनीतिक दलसित मिलेर काम गरे पनि संविधानको निरपेक्षता र संघीय अधिकारसित सम्झौता गरेनन्, फलतः उनले चुनावमा पराजयको सामना गर्नु परेको हो । भन्नु नै हो भने प्रगतिवादी शक्तिहरू जनताका मनमा हुँदाहुँदै पनि यस्ता दलहरूसित आवद्ध कार्यकर्ताका स्वार्थको बली चढे ।
(लेखक सिक्किमका साहित्यकार, लेखक एवम् राजनैतिक विष्लेषक हुन् ।)
प्रतिक्रिया