नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको र रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । आज (४ असोज) बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
दुवैतर्फबाट एक/एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेको भनइ छ । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।
शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।
प्रतिक्रिया