मुलुकमा नेताको नालायकीले आन्दोलन हुन्छ; मान्छे मारिन्छ । नेता आफ्नो दोष अर्कोलाई थोपर्छ । ऊ आफू चोखिन्छ; अर्कोलाई फसाउँछ । आफूले गरेको जस अपजस त आफैले लिने हो नि । नेता जस आफू लिन्छ; अपजस अर्कोलाई दिन्छ । दुर्घटना घटेलगत्तै नैतिकताको आधारमा राजीनामा दिने कोही हुन्न । नैतिकता के हो भन्ने थाहा भए पो राजीनामा दिनु !
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमोनम: । पूर्वीय दर्शन जति जब्बर र वैज्ञानिक अरू दर्शन छैन । यही दर्शन हत्याएर पश्चिमाले हुनसम्मको प्रगति गरिसके । हामी चैं जातभात र नश्लको विवादमा अल्झेका छौं ।
सोचमा आनकातान रुपान्तरण नहुन्जेल परिवर्तन सम्भव छैन । यथास्थितिवादी सोच नै अवनतिको कारक तत्व । सिस्टम बसाल्न सभ्याचरण/ कानुनको पालना अपरिहार्य । शक्तिको आडमा ठुलाबडा संविधान/कानुन मिच्ने अनि जनतालाई कानुन पालना गर भनेर के हुने हो र ? यो त जँड्याहा बाऊले आफ्नो छोरोलाई जाँड नखा भन्या जस्तै हो । आफू जाँड धोक्ने; छोरोलाई जाँड नखा भनेर मान्छ र ? छोरोलाई जाँड छुटाउन त आफूले जाँड छोड्नुपरो नि ! सुशासन ल्याउन ऱ्याङठ्याङ मिलाउनुपरो नत्र त आकाशको फल आँखा तरी मर हुन्छ । जीवनले लय समात्नुपर्ने हो किन्तु अनुशासनहीनताले त्यसो हुन दिएन । जताततै जेमानीहरू ।
भ्रष्टाचारीले मेरो भ्रष्टाचार कसले देखेको छ र भन्ठान्छ तर उसको कुकृत्य इतिहासको पातैपिच्छे कोरिंदो । एक दिन एक जना मान्छे धुरीमा चढेर कराएछ, ‘म आफ्नी भाउजुसित बसेको कसैले पत्तो पाएन ।’ अनि गाउँलेले उसलाई पुन्तुऱ्याएर ठानामा लगे; ऊ झ्यालखाना पऱ्यो । हो, पाप धुरीबाट कराउँछ । प्रथमतः आफूले आफूलाई चिन्ने हो अनि मात्र अर्कोलाई चिन्ने हो ।
भगवान सर्वव्यापी; उहाँले पापपूण्य छ्यानब्यान गर्नुहुन्छ । यही मर्त्यलोकमा पापीलाई ढिलोचाँडो दण्डित गर्नुहुन्छ; यो सत्यमा संशय गर्नु परोइन । पापीले डाहा भएर आफ्नो पाप आफै बक्न सक्छ । नास्तिक त नास्तिक भैहाल्यो; उसलाई भगवानमा के भरोसा ? भगवान – विश्वास; महसूस गर्ने पो हो त । कलिजुगमा साक्षात्कार खोजेर पाइन्छ र ?
समाजमा बस्नुपर्छ; छिमेकी परे त राम्रै; कुमेकी परे त रुवाएर छोड्छ पो । लाल-बुज्रुकेहरूले पनपच्छे गर्दो । समाजमा यस्ता रैंतामहरू कति कति । सम्पत्तिको तागत – मिलेकोलाई छुट्याउँछ; छुटेकोलाई मिलाउँछ । अनि अर्कोलाई किन बड्कार्ने हो र ? म दोहोर्याउँछु – जीवन दिन नसक्नेले जीवन लिन मिल्दैन । बहाना बनाएर मान्छे मारिनु हुन्न ।
‘मान्छेले जीवित छउन्जेल केही न केही गरिरहनुपर्छ/सिकिरहनुपर्छ नत्र त जिउँदो लास भइन्छ नि । एक दिन मर्नुपर्छ भन्ने त सबैलाई थाहा छ । मान्छेले केवल मृत्युको विषयमा सोचिरहने हो भने जीवनमा केही काम गर्न नि सक्दैन ।’
मुलुकमा नेताको नालायकीले आन्दोलन हुन्छ; मान्छे मारिन्छ । नेता आफ्नो दोष अर्कोलाई थोपर्छ । ऊ आफू चोखिन्छ; अर्कोलाई फसाउँछ । आफूले गरेको जस अपजस त आफैले लिने हो नि । नेता जस आफू लिन्छ; अपजस अर्कोलाई दिन्छ । दुर्घटना घटेलगत्तै नैतिकताको आधारमा राजीनामा दिने कोही हुन्न । नैतिकता के हो भन्ने थाहा भए पो राजीनामा दिनु । अनैतिकता अनैतिकताले परिपूर्णमस्तु । अनि कहाँबाट निकास खुल्ला र ?
धेरै अघिको कुरो । स्वामी रामतीर्थ भारतबाट पानीजहाजद्वारा जापान जाँदै थिए । उनीले जहाजमा एक जना वृध्द जापानीले चीनियाँ भाषा सिक्न किताब पढ्दै गरेको देखेसि उदेकिएर सोधे, ‘तपाईं ९०-९५ वर्षको भइसक्नुभो होला; अहिले चीनियाँ भाषा सिकेर कहिलेसम्म यसलाई प्रयोगमा ल्याउनुहुन्छ ?’ वृध्द प्रत्युराए , ‘मान्छेले जीवित छउन्जेल केही न केही गरिरहनुपर्छ/सिकिरहनुपर्छ नत्र त जिउँदो लास भइन्छ नि । एक दिन मर्नुपर्छ भन्ने त सबैलाई थाहा छ । मान्छेले केवल मृत्युको विषयमा सोचिरहने हो भने जीवनमा केही काम गर्न नि सक्दैन ।’ यस्तो तार्किक जवाफ सुनेर स्वामी रामतीर्थ प्रफुल्लित भए ।
आयोग बन्छ; यसले काम गर्दैन – दण्डहीनता/भ्रष्टाचार बढ्छ । यो त इतिहासले दर्शाएकै छ नि । यो निबन्ध नेपाली भूगोलसित मात्र सीमित छैन । यो त वैश्विक समग्रता हो; अन्तिम सत्य हो । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया