सुशील कोइराला प्रधानमन्त्री बनेको समाचार विश्वभरका छापामा छापिँदा प्राय: छापाले विमान अपहरणका नायक नै नेपालको प्रधानमन्त्री बने भनेर लेखे । अहिले पुन: दोश्रोपटक जहाज अपहरणकर्ताकी श्रीमती देशको प्रधानमन्त्री बनेकी छन् ।
✍ सुनिल उलक

नेपालको वायुसेवाको इतिहासमा नेपाली विमानको अपहरणको एकमात्र घटना भेटिन्छ । यसर्थ नेपाली आकाश आतंकवादको दृष्टिकोणले सुरक्षित छ । २०५६ पौष ९ गते भारतीय वायुसेवाको विमान अपहरण भएको थियो । तर यो विमान काठमाडौबाट दिल्लीको उडानमा रहेको विमान भए पनि आतंकवादीहरुबाट भारतीय आकाशमा प्रवेश गरेपछि मात्र अपहरण भएको थियो ।
२०३० जेठ २८ को बिहान ७ बजे शाही नेपाल वायुसेवा निगमको ट्वीन अटर विमान 9N-ABB काठमाडौ त्रिभुवन विमानस्थलबाट विराटनगरको लागि उड्यो । पाइलट क्याप्टेन आरके मानन्धर को-क्याप्टेन श्रीदेव बैद्य र सहायक जीवी राईको टोली विमानमा थिए । बिहानको सवा ८ बजे विराटनगर विमानस्थलमा जहाज ओर्लियो । केही समय विमानमा यात्रुहरु झर्ने र चढ्ने क्रम भयो । विमानमा १९ जना यात्रुहरु काठमाडौका लागि चढेपछि तीन विमानका कर्मचारीसहित जहाज साढे ८ बजे काठमाडौको लागि उड्यो । विमानका १९ यात्रुहरु मध्य भारतीय चलचित्रकी नायिका माला सिन्हा पनि विमानमा काठमाडौ जाँदै थिइन् ।
नेपाली कांग्रेस आफ्नो पार्टीको विभिन्न कार्यक्रमको लागी आर्थिक अभावमा गुज्रिरहेको थियो । भारतको फारवेशगञ्जमा पार्टी कार्यालय खोले पनि समय समयमा मिटिङ गर्नुबाहेक ठूला योजना बनाउन असमर्थ भएको थियो । गिरिजाप्रसाद कोइराला पनि जेठको अन्तमा फारवेशगञ्ज पुगका थिए भने अन्य सदस्यहरु पनि फारवेशगञ्जमा नै थिए । पञ्चायतविरुद्ध संघर्ष गर्न पैसाको खाँचो थियो । तर पैसा कसरी ल्याउनेमा भने सोच्न सकेका थिएनन् । विमान अपहरण गरेर नेपाल सरकारसंग फिरौती लिन सकिने कुरामा पनि केही सल्लाह त हुन्थ्यो तर आँटिला कोही भेटिँदैनथे । विमान अपहरण गर्नु त्यति सहज पनि थिएन । यसैबीच काठमाडौ जेलबाट भर्खरै छुटेका दुर्गा सुवेदी फारवेशगञ्ज पुगे । गिरिजा प्रसादसंगको भेटमा विमान अपहरण गरेर रकम जम्मा गर्न सकिने कुरा सुने । दुर्गा सुवेदीले जेलमा रिडर्स डाइजेस्ट पत्रिकामा जापानको भूमिगत रेड आर्मीका युवाहरुले विमान अपहरण गरेको घटना बारेमा पढेका थिए, तसर्थ उनि जोसिए।
एकदिन दुर्गाको भेट मदन अर्यालसंग भयो । मदन नेपाल राष्ट्र बैंकको बिराटनगर शाखामा कार्यरत थिए । उनिसंगको कुराकानीमा भारत अत्तरियाबाट नेपाल राष्ट्र बैंकले भारतीय रुपैया खरिद गर्ने र सो रकम विराटनगरबाट विमानमा काठमाडौ लगिने जानकारी पाए । यसरी भारतबाट रुपैया आउने भएपछि अत्तरियाबाट काठमाडौबाट विराटनगर बीचमा लुट्न सकिने बारेमा पनि बिमर्श गरे । यता गिरिजालाई दिइएको जानकारी बिपीसमक्ष पुग्यो । बिपीले ज्यानको जोखिम राखेर काम नगर्न सुझाए । तर खासै समस्या नहुने तर्कमा तैयारीतर्फ लागे । अत्तरियाबाट विराटनगरमा सुरक्षा फौजको उपस्थितीले सम्भव नदेखेपछि विराटनगरबाट काठमाडौ विमानमा लैजाँदा नै विमान अपहरण गरेर लुट्ने योजना बनाउन लागे ।
पार्टिबाट सहमति पाएपछि दुर्गाले समुह र योजना बनाउन लागे । साथमा नगेन्द्र ढुङ्गेल र वसन्त भट्टराईलाई पनि समेटे । यता राष्ट्र बैंकका कर्मचारी रहेका मदन अर्याल विमानमा रकम लैजाने सूचना दिन तैयार भए भने उनका दाजु विनोद प्रसाद अर्याल जो भारतमा निर्वासनमा थिए उनले लुटिएको रकम दार्जिलिङ वा सिक्किमसम्म सुरक्षित लगिदिन तैयार रहेको जानकारी दिए ।
यसरी सम्पूर्ण तैयारी भएपछि तीन जनाको समुह बिराटनगरमा तैयार अवस्थामा बसे । रु १७५ भाडा रहेको टिकट उनिहरुले दुइपटकसम्म क्यान्सिल गर्न बाध्य भए । रकम लग्न तैयार भएको सूचनाको आधारमा टिकट काट्थे र रकम नआएपछि टिकट क्यान्सिल गर्थे । अन्तत: २०३० को जेठ २८ गते ३० लाख भारु विराटनगरबाट काठमाडौ लैजाने तैयार बारेमा सहि सूचना पाए । पक्का थिएन रकमको बाकस आउने हो कि होइन ? तसर्थ रिक्सामा तीनजना विमानस्थलतर्फ लागे । नगेन्द्र र वसन्तलाई बर्गाछीको राइसमिलमा छोडेर दुर्गा एक्लै साढे ८ बजे विराटनगर विमानस्थल पुगे । विमानस्थलमा सैनिक सुरक्षाको साथ रकम विमानस्थल आइपुगेको देखेपछि दुबैलाई बोलाए ।
दुर्गा सुवेदीले आफ्नो पुस्तकमा झुठा कुरा धेरै लेखेको भन्ने साथका दुइ अपहरणकारीका भनाइमा पनि देखिन्छ । विमानका अन्य यात्रुहरुको भनाइ कहिल्यै सामु नआएको हुँदा कसको भनाइ सत्य भन्ने अस्पष्ट नै छ ।
विमानस्थलमा तीन जना दुर्गा सुवेदी नगेन्द्र ढुड्गेल तथा वसन्त भट्टराइ पुगे तर दुर्भाग्य दुइवटा टिकट मात्र पाए । यता नेपाल राष्ट्र बैंकका मेनेजर दिलिपजङ्ग थापा अचानक काठमाडौ पुग्नुपर्ने भएपछि सुरक्षाको लागि खटिएका जवानको टिकटमा नै काठमाडौ उड्न बाध्य भए । विमानमा रकम रहेको बाकस चढाइसकेको तथा काठमाडौमा पनि सुरक्षा फौजको उपस्थिती विमानस्थलमा हुने तथा मेनेजर आफै पनि विमानमा जाने हुँदा सुरक्षित रहने जानकारी दिँदै सैनिकको टिकटमा काठमाडौ जाने तैयारी गरे । यता अपहरणको लागि तैयार रहेका तीन जनामा एक जनाको लागि टिकटको आबश्यकता रह्यो । विमानमा काठमाडौ जान प्रतिक्षामा रहेकाहरुमा नेपाली चलचित्रका नायक सिपी लोहनी तथा उनको पत्नी भारतीय नायिका माला सिन्हा पनि थिए । दुर्गा सुवेदीले सिपी लोहनीलाई आफू बिमार रहेको तथा आजै उपचारको लागि काठमाडौ जसरीपनि पुग्नुपर्ने भन्दै उनको टिकट फुत्काए ।
विमानभित्र पसेपछि कालो ओभरकोट र हातमा एक्स रेको कागज बोकेका दुर्गा सुवेदी र वसन्त भट्टराई पाइलट नजिकैको सिटमा बसे । नगेन्द्र ढुङ्गेल भने केही पछाडी बसे । जहाज उडेको पाँच मिनेटमा विमानका कोपाइलट बैद्यले विराटनगर विमानस्थल टावरको सम्पर्क अफ गरेर काठमाडौ विमानस्थलको टावरसंगको सम्पर्कको लागी तैयारी गर्दै थिए । अचानक बसन्त भट्टराईले पिस्तोल निकालेर पाइलट आरके मानन्धरतर्फ सोझ्याए । यता दुर्गा सुवेदीले पनि पनि कोपाइलट बैद्यलाई नियन्त्रण गर्न सफल भइसकेका थिए । वसन्तको साथ .३२ क्यालिवर पेस्तोल त्यो पनि बिना लाईसेन्सको बोकेका थियो । अर्का अपहरणकारी नगेन्द्र ढुङ्गेलसंग पनि अर्को .३२ क्यालिवर पेस्तोल थियो । उनले विमानको परिचायकको रुपमा रहेका जिवी राईलाई नियन्त्रणमा लिएका थिए । यसरी शान्तसंग विमान नियन्त्रणमा लिन सफल भएका अपहरणकारीहरुले विमान भारतको फारवीसगञ्ज तर्फ लैजान निर्देशन दिए । पाइलट आरके मानन्धरले विमान कोशी ब्यारेज भन्दा अगाडी पुगिसकेको हुँदा फारवीसगञ्ज लैजान नसकिने हुँदा बिहारकै विरपुरतर्फ लग्न सकिने जानकारी दिए । फर्कदा तेल कम हुने हुँदा कठिनाइ हुन सक्छ भने । तर सुवेदीले पाइलटको कुरा बेवास्ता गर्दै ग्रेनेड देखाउँदै आफूले भनेको नमानेमा जहाजलाई पड्काइदिने धम्की दिए ।
फारवीसगञ्जको घाँसेमैदान दोश्रो विश्व युद्धको समय बेलायती सैनिक जहाजहरु अवतरण गर्न विमानस्थलको रुपमा बनाइएको थियो । नजिकै रहेको ठूलो सिमलको रुख टावरको रुपमा सिग्नल दिन सहज थियो । त्यही विमानस्थलमा विनोद प्रसाद अर्याल, सुशील कोइराला, मनहरि बराल, राजेन्द्र दाहाल तथा विरु लामा (तामाङ) प्रतीक्षामा बसिरहेका थिए ।
घाँसेमैदानतर्फ टाढाबाट विमान आँउदै गरेको देखेपछि विनोद अर्यालले आफ्नो रातो शर्ट खोलेर बेस्सरी हल्लाउँदै संकेत गरे । यता जहाजभित्र रहेका अपहरणकारीहरु विमान फर्काएर फारवीसगञ्जतर्फ सोझिएपछि खुशी भए । सुल्तान पोखरी देखिएपछि ढुक्क भए । विमानले अवतरणको प्रयास गऱ्यो तर सफल भएन । फेरि आकाशमा चक्कर लगायो । विमानका यात्रुहरु त्रसित थिए । अपहरणकारी पनि के हुने हो भन्नेमा चिन्तित थिए । घाँसेमैदानमा प्रतिक्षारतहरु पनि विमान फेरि आकाशमा हराउँदा अन्योलमा रह्यो । तर दुइ मिनेट नहुदै विमानले अवतरणको दोश्रो प्रयास गऱ्यो । सफल अवतरणको साथै घाँसेमैदानमा बसेकाहरु तैयार अवस्थामा बसे । विमान रोकिनासाथ नगदले भरिएको तीनवटा बाकस निकालेर विमानलाई फर्कन लगाए । पाइलटले विमानलाई विराटनगरतर्फ सोझ्याए ।
गिरिजा प्रसादको जीप लिएर गणेश शर्मा आइपुगे । उनको साथ अन्य एक जीप पनि ल्याइएको थियो । छिटो-छिटो दुइवटा जीपमा तीनवटा बाकस राखेर जीप दार्जिलिङतर्फ हुइँकियो ।
यसरी तीस लाख भारु नेपाली कांग्रेसका ‘योद्धा’हरुले लुट्न सफल भए । हुन त यसलाई पछि पुरुषार्थको रुपमा प्रस्तुत गरे, तर कुनैपनि अपराध जस्तोसुकै राम्रो कामको लागि भए पनि त्यो अपराध नै हुन्छ । Terroristic Activity: International Terrorism पुस्तकको २२६ पेजमा यस अपहरणलाई आतंकवादको रुपमा उल्लेख गरिएको छ ।
दुर्गा सुवेदीले आफ्नो पुस्तकमा झुठा कुरा धेरै लेखेको भन्ने साथका दुइ अपहरणकारीका भनाइमा पनि देखिन्छ । विमानका अन्य यात्रुहरुको भनाइ कहिल्यै सामु नआएको हुँदा कसको भनाइ सत्य भन्ने अस्पष्ट नै छ । साथै सुशील कोइराला प्रधानमन्त्री बनेको समाचार विश्वभरका छापामा छापिँदा प्राय: छापाले विमान अपहरणका नायक नै नेपालको प्रधानमन्त्री बने भनेर लेखे । अहिले पुन: दोश्रोपटक जहाज अपहरणकर्ताकी श्रीमती देशको प्रधानमन्त्री बनेकी छन् ।
कथा 9N-ABB को
अपहरणमा परेको ट्वीनअटर 9N-ABB विमान ३०० सिरिजको विमान थियो । शाही नेपाल वायुसेवा निगमले खरिद गरेको यो विमान २०२८ असार ३ गते हस्तान्तरण भएको थियो । विमान अपहरण पछि पनि नियमित उडानमा रहेको यो विमान २०४९ असार २१ मा जुम्ला विमानस्थलमा सामान्य दुर्घटना भएको थियो । मर्मत पछि सुचारु रहेको यो विमान अन्तत २०७० फागुन ४ गते काठमाडौबाट जुम्लाको उडानको क्रममा पोखरा विमानस्थलमा तेल भरेर जुम्लाका लागि उड्ने क्रममा खराव मौसमका कारण दक्षिण तर्फको बाटो जान खोज्दा पनि सम्भव नभए पछि भैरहवा विमानस्थलमा अवतरणका लागि जाने क्रममा अर्घाखाँची जिल्लाको मसिने लेकमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा चालक दलसहित १८ जनाको निधन भएको थियो । दुर्घटनापछि टुक्रिएको विमानको सामग्री जम्मा गरेर फेरि यसलाई जोडेर वीपी संग्रहालय सुन्दरीजलमा राखिएको छ ।
प्रतिक्रिया