भारत-पाकिस्तान द्वन्द्व अन्त्य गरेको दाबी दोहोर्‍याउँदै ट्रम्पले भने- ‘सातवटा युद्ध रोकिदिएँ, नोबेल पुरस्कारको हकदार हुँ’

भारत-पाकिस्तान द्वन्द्व अन्त्य गरेको दाबी दोहोर्‍याउँदै ट्रम्पले भने- ‘सातवटा युद्ध रोकिदिएँ, नोबेल पुरस्कारको हकदार हुँ’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत-पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्‍याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने जिकीर गरेका छन् ।

‘हामीले शान्ति सम्झौता गरिरहेका छौँ, युद्धहरू रोकिरहेका छौँ । भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचका युद्धहरू पनि रोकेका छौँ’, शनिबार (सेप्टेम्बर २०) अमेरिकन कर्नरस्टोन इन्स्टिच्युटको संस्थापकहरूको रात्रिभोजमा बोल्दै ट्रम्पले भने, ‘भारत र पाकिस्तानलाई व्यापारमार्फत रोकेँ । उनीहरू व्यापार गर्न चाहन्थे । दुवै नेतालाई म सम्मान गर्छु । तर हामीले रोकिएका युद्धहरूको सूची हेर्नुस् ।’

ट्रम्पले आर्मेनिया-अजरबैजान, कोसोभो-सर्बिया, इजरायल-इरान, इजिप्ट-इथियोपिया, रुवान्डा-कङ्गोबीचका द्वन्द्व पनि आफूले रोकाएको दाबी गर्दै भने, ‘यी सबै युद्ध, ६० प्रतिशत व्यापारकै कारण रोकिएका हुन् ।’

भारतबारे उनले भनेका छन्, ‘मैले यदि तपाईं आणविक हतियारसहित युद्ध गर्न चाहनुहुन्छ भने कुनै व्यापार हुँदैन भनेपछि उनीहरू रोकिए ।’

रुस-युक्रेन युद्धले पनि आफूलाई नोबेल पुरस्कार दिलाउने दाबी गर्दै उनले भने, ‘मैले सात युद्ध रोकेको छु । अब बाँकी एक ठूलो युद्ध छ । यदि मैले यो पनि रोकेँ भने नोबेल पाउनैपर्छ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको व्यक्तिगत सम्बन्धका कारण रुस-युक्रेन द्वन्द्व समाधान सजिलो हुने सोचे पनि अपेक्षाविपरीत भएको स्वीकार गर्दै ट्रम्पले भने, ‘पुटिनसँग मेरो राम्रो सम्बन्ध छ । सुरुमा सजिलो लाग्यो तर निराश भएँ । तर हामी कुनै न कुनै तरिकाले यसलाई पूरा गर्छौं ।’

बेलायत भ्रमणका क्रममा पत्रकार सम्मेलनमा पनि उनले पुटिनप्रति असन्तुष्टि दोहोर्‍याए र भने, ‘पुटिनले धेरै मानिस मारिरहनुभएको छ । रुसी सैनिकहरू युक्रेनीभन्दा बढी सङ्ख्यामा मारिएका छन् ।’

रूस-युक्रेन युद्ध समाधान गर्न ‘सबैभन्दा सजिलो’ हुने ठाने पनि त्यो गलत साबित भएको उनले स्वीकार गरे । तर, उनले जोड दिएर भने, ‘यदि म राष्ट्रपति भएको भए यो युद्ध सुरु नै हुने थिएन । मेरो चार वर्षमा यो कहिल्यै भएन ।’

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनलाई ‘असैन्यीकरण र विमुद्रीकरण’ गर्ने भन्दै ठूलो आक्रमण थालेपछि द्वन्द्व अझ चर्किएको हो । सन् २०१४ मा क्रिमियाको विलयपछि सुरु भएको यो युद्ध अहिले पनि डोनेट्स्क, लुहान्स्क र कुर्स्क क्षेत्रमा लडाइँसहित जारी छ ।