यात्रुवाहक सार्वजनिक सवारी साधनमा आज (६ असोज)देखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् ।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
यही असोज २२ गतेसम्म रुट परमिट खुला रहने अध्यक्ष स्वाँरले बताए । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।
प्रतिक्रिया