बेलायत, अस्ट्रेलिया र क्यानडाद्वारा प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता

बेलायत, अस्ट्रेलिया र क्यानडाद्वारा प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता


बेलायत, अस्ट्रेलिया र क्यानडाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । यसलाई दशकौँदेखिको पश्चिमी विदेशनीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ ।

पोर्चुगलले पनि आइतबार (२१ सप्टेम्बर) प्यालेस्टाइन राज्यको दर्जालाई मान्यता दिने बताएको छ, तथापि, यसको औपचारिक घोषणा भइनसकेको एएफपीले जनाएको छ ।

करिव दुई वर्ष पहिले अर्थात् सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि गाजामा भएको इजरायली युद्धलाई लिएर आएको युरोपेली मुलुकसहितका देशको पछिल्लो नीतिले इजरायल ठूलो अन्तर्राष्ट्रिय दबाबमा परेको छ।

‘आज, प्यालेस्टिनी र इजरायलीहरूको लागि शान्तिको आशा पुनर्जीवित गर्न, र दुई-राज्य समाधानको लागि, संयुक्त अधिराज्य (बेलायत)ले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ’- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले सामाजिक सञ्जाल एक्समा एक सन्देश लेख्दै बताएका छन् ।

बेलायत र क्यानडा यो कदम चाल्ने पहिलो जी ७ देश बनेका छन्, फ्रान्स र अन्य देशहरूले पनि न्यूयोर्कमा सोमबार सुरु हुने वार्षिक संयुक्त राष्ट्रसङ्घीय महासभामा निर्णयलाई पछ्याउने अपेक्षा गरिएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेखेका छन्, ‘क्यानाडाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ र प्यालेस्टाइन र इजरायल दुवैको शान्तिपूर्ण भविष्यको प्रतिबद्धता निर्माण गर्न हाम्रो साझेदारी प्रदान गर्दछ ।’

यो प्यालेस्टाइन र प्यालेष्टिनी नागरिकको दशकौँ लामो राज्यको महत्वाकांक्षाको लागि एक ऐतिहासिक क्षण हो ।

यसअघि, पश्चिमी राष्ट्रहरूको शक्तिशाली गठबन्धनले लामो समयदेखि यो इजरायलसँग वार्ता गरिएको शान्ति सम्झौताको एक भागको रूपमा मात्र आउनुपर्ने बताउँदै आएको थियो ।

नेतन्याहूद्वारा आक्रोश व्यक्त

‘यो कदमले ती देशहरू संयुक्त राज्य अमेरिका र इजरायलसँग प्यालेस्टाइनलाई हेर्ने विषयमा फरक छन् भन्ने देखाएको छ’, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय वार्तामा यसको विरोध गर्ने बताएका छन् ।

ऐतिहासिक कदम

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिनु यस क्षेत्रमा दिगो शान्तिका लागि आवश्यक कदम भएको बताएका छन् ।

अब्बासले तीन देशहरूको कदमको स्वागत गर्दै भनेका छन्, ‘यो अन्तर्राष्ट्रिय वैधता अनुसार न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने दिशामा महत्त्वपूर्ण र आवश्यक कदम हो ।’ अब्बासले गाजामा युद्धविरामको आह्वान पनि गरेका छन् ।

प्यालेस्टिनीहरूको अधिकारको विजय भएको हमासको भनाइ

हमासका एक वरिष्ठ अधिकारीले बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा प्रशंसा गर्दै यसलाई प्यालेस्टिनीहरूको अधिकारको विजयको रूपमा वर्णन गरेका छन्।

‘यी घटनाक्रमहरूले प्यालेस्टाइनी अधिकार र हाम्रो मुद्दाको न्यायको विजयको प्रतिनिधित्व गर्दछ र एक स्पष्ट सन्देश दिन्छ । कब्जा आफ्नो अपराधमा जतिसुकै टाढा गए पनि यसले हाम्रो राष्ट्रिय अधिकार कहिल्यै मेटाउन सक्दैन’, हमास नेता महमुद मर्दावीले भनेका छन् ।