मुलुकमा आकस्मिक रूपले आइपरेको राजनीतिक उथलपुथलले निम्त्याएको अन्यौलताका बीच मैत्रिय बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कौशलटार (भक्तपुर)स्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा गत शनिबार (४ असोज) संस्थाका जेष्ठ सदस्य रोहितबहादुर राना क्षेत्रीको प्रमुख आतिथ्यता एवम् अध्यक्ष बालमुकुन्द उपाध्यायको सभापतित्वमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले वर्तमान विषयम परिस्थितिमा पनि मैत्रियले सबै सदस्यको मन जित्न सकेको धारणा राख्नुभयो ।
यस्तै, सभाका सभापति एवम् संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले मैत्रिय सहकारीले समुदायमा आधारित, सीमान्तकृत वर्ग र स-साना बचतका लागि बैंक तथा वित्तीय पहुँच नपुगेका सदस्यहरूलाई वित्तीय सहजता प्रदान गरेको उल्लेख गर्दै सत्रौं साधारणसभाका सुझाव एवम् निर्णयहरूलाई समेत कार्यान्वयन गर्दै संस्थाले प्रवाह गर्ने सेवा-सुविधा तथा प्रतिफललाई अझ प्रभावकारी तुल्याउँदै लैजान आफूहरू प्रतिवद्ध रहेको जानकारी गराउनुभयो ।
संस्थाका उपाध्यक्ष कुवेर श्रेष्ठद्वारा स्वागत मन्तव्य दिइएको सभामा संस्थाका कानुनी सल्लाहकार सानुभाइ खड्काले शुभकामना मन्तब्य दिनुभएको थियो । संस्थाका सचिव सुमन सिलवालले आ.व. २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थाले गरेका विविध क्रियाकलापबारे जानकारी दिनुभयो ।

यस्तै, संस्थाका कोषाध्यक्ष दिवाकर सिलवालले ०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०८२/०८३ को बजेटबारे जानकारी दिनुका साथै संस्थाको सेयर पुँजी ३, ३८,००,०००/- रहेको र गत आ.व.मा ४७ करोडको कारोबार गरेको उल्लेख गर्नुभयो । यस्तै, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भाइकाजी खत्रीले आ.व. ०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
राजेन्द्र पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रमका बीच संस्थाका शेयर सदस्यहरुको प्रतिनिधित्व गर्दै सावित्रा आचार्य नेपाल, मोहनकृष्ण श्रेष्ठ र क्यामुना खत्रीले समेत मन्तव्य प्रकट गर्नुभयो भने सो अवसरमा भाग्यशाली पुरस्कार विजेता सुनिता सिलवाललाई नगद रू. ५,५५५/- प्रदान गरियो भने नियमित बचततर्फ क्यामुना खत्री, बाल बचततर्फ पृथ्वीविक्रम उप्रेती, दैनिक बचततर्फ सुरज बानियाँ, आवधिक बचततर्फ सावित्रा आचार्य नेपाल, असल कारोबारतर्फ विरोशन खत्री, मैत्रिय जेष्ठ सदस्य सम्मान रोहितबहादुर राना क्षेत्री र मैत्रिय शैक्षिक सम्मानतर्फ गत एसइइ परीक्षाको नतिजामा ३.९६ जिपिए हासिल गर्ने सुभासना सिलवाललाई पुरस्कारका साथ सम्मानित तुल्याइयो ।
साधारणसभाकै क्रममा नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा र मैत्रिय बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको मैत्रिय सञ्चालक समितिका सदस्य नवीन उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया