आधुनिक दृष्टिकोणले बुझ्ने हो भने शाक्त दर्शन मूलत: ‘नारीवाद’को प्राचीनतम दार्शनिक विचारधारा हो । शाक्त दर्शनले नारीशक्तिलाई ‘आधार-शक्ति’ मान्ने हुँदा सम्पूर्ण विश्व नै नारीशक्तिको विस्तार हो । नारीशक्तिका अभावमा पुरुषशक्तिको अस्तित्व सम्भव छैन ।
✍ डा. गोविन्द शरण
स्मार्त, शाक्त, शैव र वैष्णव : ई चार प्राचीन वैदिक सम्प्रदाय हुन् । ई बाहेक गाणपत्य, सौर्य पनि स्वतन्त्र सम्प्रदाय थिए तर आजभोली यी दूवै उपर्युक्त चार प्रमुख सम्प्रदायभित्र सशक्त रूपमा उपस्थित छन् ।
उपर्युक्त चारै सम्प्रदायहरू कालान्तरमा अनेकौं उपसम्प्रदायहरूमा विभाजित भएका हुन् । यस्तो विभाजन शास्त्रहरूको ब्याख्या गर्ने क्रममा सम्बन्धित व्याख्याताको मताधिकारका आधारमा भएका हुन् भन्ने सजिलै अनुमान लगाउन मिल्छ ।
चारसम्प्रदायहरू मध्ये यहाँ व्याख्या गर्न प्रस्तुत गरिएको सम्प्रदाय शाक्त हो । शाक्त सम्प्रदायले मूलत: शक्तिको उपासना गर्छ । ‘शक्ति’को जे-जस्तो शास्त्रीय व्याख्या गरेर आकाशपाताल जोडे पनि ‘नारीशक्ति’ नै यसको केन्द्रीय विषय हो र यसमा मातृशक्तिको उपासना गरिन्छ ।
सबैभन्दा प्राचीन ऋग्वेदमा शक्तितत्वको बाक्लो उपस्थिति छ । उषा, सरस्वती, ईला, सन्ध्या,पृथ्वी, अदिति, रात्रिआदि नारीशक्तिको बाक्लै उपासना गरिएको छ । सावित्री, गायत्री, मेधा, प्रकृति, बुद्धिआदिलाई पनि मातृशक्तिकै रूपमा स्वीकार गरिएको छ । ऋग्वेदले मातृगणलाई सृष्टिको दायित्व दिएको छ । अदिती र दिती सम्पूर्ण जीव-जगतको प्रथममाताका रूपमा स्थापित छन् ।
हुन त स्मार्त, शैव र वैष्णव परम्परामा पनि मातृशक्तिको उपासना हुन्छ तर शाक्त सम्प्रदायको केन्द्रमा शक्ति अर्थात् मातृशक्ति छन् । तन्त्रले सबैभन्दा बढी महत्व ‘नारीशक्ति’लाई दिन्छ । देवी नै शक्ति हुन् र शक्ति नै देवी हुन् । नारी नै शक्ति हुन् र शक्ति नै नारी हुन् भन्ने तत्थ्य अमरसिंहले अमरकोशमा प्रष्ट पारेका छन् ।
शाक्त सम्प्रदायको दार्शनिक चिन्तनले भन्छ- शक्ति नै विश्वको प्रमुखकारण हो । सम्पूर्ण सृष्टि शक्तिको विस्तार हो । शक्ति नै महाकाली, महासरस्वती र महालक्ष्मी हुन् । दार्शनिक रूपमा ‘शक्ति’ नारी अथवा पुरुष हुँदैन तर विश्वको सृष्टि, पालन र संहारका क्रममा ब्रह्मा, विष्णु तथा शिवका रुपमा व्याप्त हुन्छन् ।
आधुनिक दृष्टिकोणले बुझ्ने हो भने शाक्त दर्शन मूलत: ‘नारीवाद’को प्राचीनतम दार्शनिक विचारधारा हो । शाक्त दर्शनले नारीशक्तिलाई ‘आधार-शक्ति’ मान्ने हुँदा सम्पूर्ण विश्व नै नारीशक्तिको विस्तार हो । नारीशक्तिका अभावमा पुरुषशक्तिको अस्तित्व सम्भव छैन । तन्त्रहरूले प्रष्ट रूपमा – यदि कसैले नारीशक्ति विना पुरुष शक्तिको मात्र उपासना गर्छ भने कुनै पनि प्रकारको सिद्धि प्राप्त गर्न सक्दैन भनेको छ।
आधुनिक नारीवादले उठाएका समस्या र प्रश्नहरू फरक छन् । आधुनिक नारीवादले ‘आध्यात्मिक र देवदेवीवाद’को अस्तित्वलाई अस्वीकार गर्छ । आधुनिक नारीवाद आधारभूतरूपमा भौतिकवादी छ । तर प्राचीनवादीक शाक्तदर्शनले नारीको शक्तिलाई भौतिक, अध्यात्मिक दूवैअर्थमा स्वीकार गरेको बुझिन्छ । उदाहरणका लागि उषा, पृथ्वी, ईला, सरस्वती र प्रकृति भौतिक शक्तिका साथै आध्यात्मिक शक्ति पनि हुन् ।
आधुनिक नारीवादको जन्म ‘पुरुष-शोषण’ विरुद्ध भएको हो । आधुनिक नारीवादीका लागि ‘पुरुषहरू नै नारीहरूका लागि सबैभन्दा भयानक भिलेन’ हुन् । पितृसत्तात्मक समाज नारीवादीहरूले निर्माण गरेको पुरुषप्रति घृणाव्यक्त गर्ने नया शब्द हो । आधुनिक नारीवादको उत्कर्ष के हो ? प्रष्ट छैन । तर प्राचीन शाक्तवादले शक्तिका रूपमा नारीलाई प्रधान मानेर पुरुषशक्तिलाई सहयोगीका रूपमा स्वीकार गरेको छ । शाक्त दर्शनले मातृसत्तात्मक समाज वा पितृसत्तात्मक सामाजिक ब्यवस्थाको कल्पना गर्दैन ।
वैदिक नारीवाद अर्थात् शाक्तवादका अनेकौं स्वरूप छन् । अनेकौं उत्सवहरू छन् । अनेकौं साधनाविधि र उपासना विधिहरू छन् | शाक्त उपासना विधिको प्रमुख उत्सव सनातनीहरूमा उल्लेख्य रूपमा प्रचलित छ : नवरात्र । नवरात्र पूर्णतया शक्तिस्वरुपमा मातृशक्तिको उपासनामा केन्द्रीत छ । देवीमन्दिरहरू, शक्तिपीठहरू र यसमा आधारित सम्प्रदायहरू वैदिक नारीवादी दार्शनिक चिन्तनका जीवन्त उपस्थिति हुन् । त्यसमा पनि काठमाडौंको नेवारी परम्परामा त झन् कुमारी केटीलाई “साक्षात् (कुमारी) भगवती देवी”का रूपमा आराधना गर्ने परम्परा नै छ । हाल, काठमाडौं, ललीतपुर्, पनौती, साँखु, भक्तपुर तथा नुवाकोटमा बालिकालाई साक्षात् देविका रूपमा आराधना गरिन्छ । सबैभन्दा महत्वपूर्ण तत्थ्य त के भने ई जीवित देवीहरू बौद्ध र वैदिक दूवैका साझा मूर्तसम्पदा हुन् ।
प्राचीन शाक्तवाद न पुरुषविरोधी नारीवाद हो न पुरुषहरूले नै शाक्तदर्शनको विरोध गरेको पाइन्छ । व्याबहारिक रूपमा स्मार्त, शैव तथा वैष्णव परम्परामा पनि शाक्त उपासनाको शक्तिशाली उपस्थिति छ । बरू, शक्तिको नाम अग्राधिकारका रूपमा स्वीकार गरिएको छ : लक्ष्मीनारायण, सीताराम, राधाकृष्णआदि । हरेक वर्ष पर्ने नवरात्रले प्राचीन नारीवादी दर्शनको व्यवहारिक पक्षलाई पुन: स्थापित गर्छ, जीवन्त बनाउँछ र नारीशक्तिको महत्व तथा उपादेयता प्रस्तुत गर्छ ।
प्राचीन वैदिक नारीवाद अर्थात् शाक्तवाद समन्वायात्क विचारधारा हो जसले नारीलाई प्रधानस्थानमा प्रस्तुत गरे पनि पुरुषको महत्वलाई सानो बनाउंदैन । व्यवहारिक रूपमा नारी र पुरुष दुई विरोधी शक्ति होइनन् । दुवैको एकआपसी सहकार्य र सहचार्यले संसार चल्छ । प्राकृतिक रूपमा नारी र पुरुषका आ-आफ्ना दायित्व पूर्वनिश्चित छन् । शाक्तवादले प्रकृति र पुरुषझैं सहकार्यमा जोड दिन्छ । यस्तो अद्भूत दार्शनिक चिन्तन शाक्तवादलाई ‘नारीवाद’का रूपमा स्वीकार गर्दा संसारको भलो नै हुन्छ |
अन्त्यमा, नेपाललाई शक्तिस्वरूपमा श्रीपार्वतीको (पर्वतकी छोरी) जन्मको गौरव प्राप्त भएको छ । महाकाली, महासरस्वती र महाकालीका रूपमा नारीवादको उत्कर्षका रूपमा शाक्तदर्शन वैदिकहरूमा स्थापित छ, प्रचलित छ, जीवन्त छ । शाक्तदर्शनले आवश्यकरुपमा नारीशक्तिको महत्वलाई स्वीकार गर्छ र कुनै पनि शक्तिको स्रोत नारीशक्तिलाई मान्छ । अत: नवदुर्गा भवानीको आराधना गर्दैगर्दा कुनै पनि नारीशक्ति अपमानित, प्रताडित तथा शोषित नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ र आफ्ना सन्तानलाई शिक्षा दिनुपर्छ । आधुनिक नारीवादका राम्रा पक्षहरूलाई समावेश गर्नुपर्छ भने पुरुषविरोधी मानसिकताको आधुनिकता अस्वीकार गर्नुपर्छ । शाक्तदर्शन नेपालको मौलिक नारीवादी चिन्तन हो । आफ्नो मौलिकता चिनौं र अन्य धर्ममा नारीहरूको स्थानसंग तुलना गरौँ । सत्य आफै स्थापित हुन्छ ।
श्रीदुर्गे !!
प्रतिक्रिया