शासकीय अहङ्कार र भ्रष्टाचारमाथि जेनजी ज्वार

शासकीय अहङ्कार र भ्रष्टाचारमाथि जेनजी ज्वार


एक युवा : ‘हाम्रो पुस्ता राम्रो काम गर्ने राजनीतिक प्रणालीको खोजीमा छ – जहाँ बढी सामाजिक न्याय होस् र असमानता भरसक नहोस् ।’
दोस्रो युवा : ‘युवा पुस्ता भविष्य हो, जो पुरानो पुस्ताले भताभुङ्ग पारेको मुलुक र बिग्रिएको सरकार एक मिनेट पनि चाहँदैनन् । पुरानो संसारलाई हरसम्भव खरानी पार्न चाहँदैनौँ तथापि नयाँ संसार बनाउने हाम्रो जिम्मेवारी हो ।’
तेस्रो आन्दोलनकारी युवा : ‘भ्रष्टाचारका कुण्डहरू सबै समाप्त गरिन्छन् । भ्रष्ट कसैलाई छोडिने छैन ।’
(आन्दोलनताकाका युवा प्रतिनिधि आवाज हुन् – पंक्तिकारले सुनेका)

बहुत समयदेखि शान्त र सुशील जनतामाथिको शासकीय व्यवहार न्यायोचितढङ्गले कहिल्यै अगाडि बढ्न नसकेकाले भित्रभित्रै पिरोलिँदै आएको आमजनको जनगुनासोबाट मुखरित नभएका होइनन् । असह्य वेदना भएमा चित्कार र क्रन्दन सुरु हुने आँकलन जीवनभरि राजनीति गरेका या भनौँ आलोपालो सत्ता सम्हालेकालेले बुझ्न नसक्नुका पछाडि सिरा-सिरामा राजनीतिक दम्भ र तह-तहमा चरमचुलीको भ्रष्टाचारले छपक्कै ढाकेको थियो अझ भनौँ बिचौलियाको घेराबन्दीले विवेकबन्द गरिदिएको थियो । इतिहास साक्षी छ – विवेकबन्द वा आँखामा कालोपट्टी बाँधेको शासन व्यवस्था तासको महल झैँ एक झोक्का हावामै गल्र्यामगुर्लुम ढल्न पुग्छ ।

जेनजीको विरोध आन्दोलन केवल सरकारको विवादास्पद सामाजिक सञ्जाल प्रतिबन्ध मात्र नभई गहिरो असन्तोषका पराकाष्ठाहरू (व्यापक भ्रष्टाचार, नातावाद, राजनीतिक अस्थिरता, बेरोजगारी, भयावह युवा विदेश पलायन, आर्थिक असमानता) पिलो झैँ टन्किएर रहेकामा केही दिनअघि मात्र एक मन्त्रीको गाडीले ११ वर्षीया छात्रालाई दिनदहाडै मूल सडकमा किचेर भागेपछि दिएको असंवेदनशील अभिव्यक्ति आमजनको चित्त काट्न काफी थियो । यस्तै यस्तै घटना/परिघटना तथा दीर्घकालीन समस्याहरूको चिरफार नगरी, लज्जाविहीनढङ्गले बेरोकटोक तीन ठूला राजनीतिक दलका बर्चस्वशाली नेताहरू दशकौँदेखि सत्तामा ‘म्युजिकल चेयर’ खेलमा मगनमस्त हुनुका कारक हुन् ।

शासकीय पद धारण गर्ने बित्तिकै कुस्त धनसम्पत्ति जोड्ने, पारिवारिक विलासिता, आसेपासेको रवाफ-जवाफ, शान-शौकत, ढाँचा-ढर्रा आमजनको मन कुड्याउन पर्याप्त थिए । मालदार अड्डा/अदालतका पद हत्याउन ख्वामितहरूलाई अकुत नजराना टक्र्याउनु पर्ने, पार्टीहरूका पदीय भागभण्डाका झेली खेल, विपक्षीहरूको मुखौटे विरोधको अन्तर्यमा आफ्ना हिमायतीका लागि पदको मोलमोलाई जस्ता अनगिन्ती बेथितिका कार्य र काण्ड जनमनमा भूसको आगो भएर भनौँ असन्तुष्टिहरू हरेक घरधुरीमा थिग्रिएर/रन्थनिएर बसेका थिए । परिणामतः घर-घरमा रहेका जेनजी विद्युतीय सामाजिक सञ्जाल मार्फत संग्रहित र सङ्गठित हुँदै ज्वारभाटाको रूपमा प्रकटित हुन पुग्यो । केही समयदेखिको राज्य सत्ताको अहङ्कारी चरित्र र चरमचुलीको भ्रष्टाचारले आमजन निसासिएको धेरै अघिदेखि विभिन्न विधाका स्वतन्त्र बुद्धिजीवीहरूले लेख र विचार-विमर्श मार्फत सचेत नगराएका पनि होइनन् ।

अर्कोतिर कर्मचारीतन्त्रको लवस्तरो चाल, झैझमेला, प्रशासनिक दुर्वचन/खप्की, भनसुन, खुलेआम घुस आदिको सामाजिक ऐठनमा जनगण रातदिन पिरोलिएका थिए । प्रशासनिक वृत्तको मिलीभगतमा घुनझैँ पिसिनेमा सदैव साधारण सेवाग्राही नै हुन्छन् ।

सितिमिति तर्क गर्न अघि सरी नहाल्ने, आफ्नै साथी सर्कलमा धेर रमाउने, दैनिकीलाई प्रविधिले आत्मसात गरेका, पढाइ-लेखाइमा दत्तचित्तपूर्वक लागेका र करियरप्रति केन्द्रित/चिन्तित जानिफकार तथा सचेत पुस्ता शासकीय शैली र तमासालाई मौनतापूर्वक परख गरिरहेका थिए ।

बिरालोलाई थुनेर समात्न/मार्न खोजियो भने त्यसले चिथोर्छ भन्ने शासन सत्ताको मदले भुल्न पुग्दा या भनौँ अभिभावक भनाउँदो सरकार खुनी भएर निस्किनुको परिणतिले नै विकराल विध्वंस र आगजनीको रूप लियो । दोषका भागीदारहरू खरानी भित्रको आगो ननिभ्दै यो त्योको बहाना/बयानबाजीबाट उम्किने जनजनको नजरमा किञ्चित् ठाउँ छैन । विडम्बना, यस्ता आचरण तथा व्यवहारले नेतृत्व तथा पार्टीपंक्ति सुध्रिन्छन् भन्ने छाटकाँट फिटिक्कै देखाउँदैन ।

ऐतिहासिक तथा प्रशासनिक धरोहरहरु साथसाथै व्यक्तिगत/व्यवसायिक भवनहरू जलाएर खरानी पार्नुका पछाडि कसैको कुत्सित नियतको ‘ग्रान्ड डिजाइन’ त होइन भन्ने अनुसन्धानले निर्क्योल गर्ने नै छ । कहाँ-कहाँ घुसपैठ भयो…? अनि धमिलो पानीमा माछा मार्न को-को उद्दत भए…? भन्ने सवाललाई अनुसन्धानद्वारा किनारा लगाउनाले गल्ती ढाकछोप गर्ने/विनासित्ति दोष थोपर्ने परिपाटीलाई दूधको दूध पानीको पानी छुट्याएर तह लगाउन आयोग गठनले सुरसार कसेको छ ।

टाउको, घाँटी, छाती, आँखा जस्ता संवेदनशील अङ्गहरूमा ताकी-ताकी गोली बर्साउने, प्राण हर्ने, अङ्गभङ्ग पार्ने जस्ता कार्य प्रायः जसो आतंककारी दस्ताको सफायामा गर्ने गरिन्छ । तर निहत्था युवामाथि गरिएको बर्बरता अक्षम्य रहेको जनआवाज प्रखर छ ।

लाउलाउँ र खाउँखाउँ भन्ने उमेरमै परिवारको आशाको दियो झ्याप्पै निभाइ/कोख रित्याइ/नजिकिँदै गरेको हर्ष उल्लासको महान चाड दशैं छेक टीका लगाउने निधार खोसि दिने निरङ्कुश शासन शैली कुनै पनि मानेमा अक्षम्य छ । जसले परिवारका आमाबुबामा जीवनपर्यन्त असह्य वेदनाको भारी बोकाइ दिएको छ । अस्पतालको बेडमा शारीरिक पीडा र मानसिक चोटबाट आक्रान्त आन्दोलनकारी र उनीहरूका आफन्तजनमा सरकारले साथ र सहयोग अटुटरूपमा प्रदान गर्नुपर्ने प्रमुख दायित्व रहन्छ । यस्तै अप्ठ्यारो बखतमा संविधानको मर्म र भावनाको बढी ख्याल गर्नुपर्ने हुन्छ ।

संविधानलाई सदैव जीवन्त र गतिशील दस्तावेज मानिन्छ । जो युग अनुकूल चल्न/चलाउन नसकेमा प्राण नभएको शरीर सरह हुन पुग्छ । त्यही हुनाले बडो सङ्घर्षपश्चात प्राप्त संविधानको मर्म र आत्मालाई मर्न नदिन समय-समयको आवाज तथा पदचापलाई समेट्दै संशोधन, परिमार्जन र परिष्कार नितान्त जरुरी रहेको जेनजी आन्दोलनले दिशा निर्देश गरेको छ ।

युगान्तकारी पुस्ताको आन्दोलनको ज्वार उठेको बेला सेनाको सुझबुझ र संयमताले अप्रिय मोड सिर्जित हुन पाएन या भनौँ आन्दोलनकारीमाथि निर्ममतापूर्वक प्रस्तुत भएको भए असंख्य हताहती हुने थियो । अतः परिस्थिति बिग्रेर मुलुक लामो समय गृहयुद्धमा जाकिने सम्भावना कल्पना गर्दाखेरि पनि आङ सिरिङ्ग भएर आउँछ । त्यसबाट जोगाएकोमा सेना ऐतिहासिक पात्रतामा दर्ज भएका छन् । परन्तु ऐतिहासिक धरोहरहरू नजोगाएको/जोगाउन तत्परता नदेखाएकोमा केही सुरक्षा चुकहरू नदेखिएका चाहिँ होइनन् ।

सदाझैं आउने निर्वाचनमा पनि नेताजीहरु आश्वासनका चिल्ला शब्दावली बोल्ने, पैसा छर्ने, दुई छाक मासु भात खुवाएर चुनाव जित्ने हतकण्डा दुःख उब्जाउने ‘प्यान्डोरा बक्स’ हुन सक्छ । राजनीतिक उम्मेदवार/पार्टीका भोजभतेर र तामझामले जनता बिच्किन सक्छन् । अबको चुनावपछि ताजा जनादेश लिएर आउने पार्टी तथा सरकारमा पुग्नेले शरीरभन्दा ठूलो पुच्छर देखिएको प्रादेशिक संरचनाको औचित्यलाई विहंगम छलफलले चाँडै टुङ्ग्याउनु पर्ने देखिन्छ ।

अन्त्यमा, जेनजी आन्दोलनले राजनीतिक नेताजीहरूको अकर्मण्यता छताछुल्ल हुन पुगेको छ । तत्कालीन सरकारको मुलीनै भाग्नु, शीर्षस्थ नेताहरू लुक्नु, केहीले हुलइज्जत व्यहोर्नुले राजनीतिक पार्टी/नेताको नैतिक दिवालियापनलाई दर्शाउँछ । यस परिस्थिति भोग्नेले समयमै सूक्ष्म विश्लेषण र आत्मसमीक्षा गरेनन् भने लोकतन्त्रले अझै क्षय बेहोर्नु पर्ने हुन सक्छ ।

जनचाहनाअनुरूप डेलिभरी दिन नसक्ने तर आजीवन राज्य सत्ताको रसस्वादन गरिरहने भनौँ लिसो झैँ टाँसिरहने, एक प्रकारले राजनीतिक बपौती ठान्ने परिपाटीको अन्त्य निश्चितप्रायः हुन्छ । जसलाई जेनजी आन्दोलनले उखलेको रूपमा बुझ्नुपर्ने हुन्छ । अब पनि जेनजी पुस्तालाई आलोकाँचो वा भर्खरका चिचिला भनेर नजरअन्दाज गर्नु महाभूल हुन जान्छ । समयको गाम्भीर्यतालाई दरकिनार गर्नु बुद्धिमत्ता हुन्न ।

वास्तवमा मुलुकको जड समस्या हो – व्यापक कुशासन । ‘सिस्टमको रेडिकल सर्जरी’ बेगर सामान्य ओखतीमुलो/झारफुकले ठिक गर्छु भन्नु जेनजीको आन्दोलन तथा भावनामाथि अर्को एउटा कुठाराघात हुन पुग्छ । अनि फेरि अर्को अकल्पनीय आन्दोलनको सुनामी निम्त्याउने मार्ग रेखाङ्कित हुन सक्छ ।