प्रधानमन्त्री सुशीला कार्कीद्वारा क्रान्तिलाई ‘महान्’ धोका ?

प्रधानमन्त्री सुशीला कार्कीद्वारा क्रान्तिलाई ‘महान्’ धोका ?


प्रधानमन्त्री सुशीला कार्कीको बहुप्रतीक्षित राष्ट्रको नाममा आएको सम्बोधन अत्यन्त फितलो आएको छ । विगतको आफ्नै छवि र वर्तमानको न्यूनतम कर्तब्यसमेतमा चुकेको सुशीलाबाट यस प्रकारको अगतिलो मन्तव्य आएपछि जेन-जेड क्रान्तिको अपमान मात्र भएको छैन, राष्ट्र नै नराम्रोसँग एकपटक झस्कन पुगेको छ ।

मात्र सुशीलालाई प्रधानमन्त्री बनाउन यत्रो ठूलो रक्त बलिदानयुक्त महान क्रान्ति भएको होइन । नेपालको इतिहासमै एकै दिनमा सत्तरी जनाको हाराहारीमा कहिल्यै शहादत भएको थिएन । तर, सुशीलाको वक्तव्य र उनले चलाएको सरकारी कामकाज पहिलेकै सरकारको निरन्तरता जस्तो मात्र देखिन थालेको छ । कथित दलहरूसँग ३५ वर्षमा निराश भएका नेपाली जनता सुशीलासँग एक महिना पनि पुग्न नपाउँदै निराश बन्न थालेका छन् । नयाँ कार्यकारीले यसको हेक्का राख्न अब ढिला हुन थालिसक्यो ।

केवल आमचुनाव गरेर पुरानै भ्रष्टहरूलाई सुनपानीले चोख्याउँदै तिनैलाई निर्लज्जतापूर्वक देश सुम्पने हो भने सुशीला कार्की नेपालको राजनीतिमा चिरकालसम्म सबैभन्दा नालायक पात्र हुने छिन् । केवल चुनाव गर्ने मात्र म्याण्डेट हो भने त्यस्तो सरकारमा किन गएको त ?- यो यक्ष प्रश्न सुशीलाको जीवनभरि मात्र होइन, अवसानपछि इतिहासमा पनि सदैव उठिरहने छ ।

क्रान्तिले बनाएको सरकारलाई परिवर्तनका सबै एजेण्डाहरू लागू गर्ने स्वतः हैसियत र वैधानिकता समेत प्राप्त हुन्छ । २००७ सालमा मात्रै होइन, २०४६ सालमा पनि उस्तै भएको थियो भने २०६३ सालमा पनि त्यस्तै भएको हो । तर, दुर्भाग्यवश सुशीलाले यो हेक्का राख्न नसकेको कुरा अब सतहमै देखिन थालेको छ । लाग्छ- विगत ३५ वर्षदेखि राष्ट्र दोहन गरेर बसेकाहरूसँग सम्झौता गरेर आत्मसमर्पण गरेकी त होइनन् ? यतिबेला यो पनि ठाडो प्रश्न बनेको छ । उनले सरकार-प्रमुखको हैसियतले यो खरो प्रश्नको जवाफ दिने बेला आइसकेको छ ।

सुशीलाको ‘राष्ट्रका नाममा सम्बोधन’ले नेपाली जनताको अपेक्षामाथि तुषारापात गरेको छ । उनका कर्म यस्तैखाले भइरहने हो भने उनी असक्षम मात्र होइन, दुर्नाम र भ्रष्टहरूको पछिल्लो सूचीमा आफ्नो नाम दर्ज गरेको ठहर्ने छ । आर्थिक मात्र भ्रष्टाचार होइन; आचरण, व्यवहार र विचारको पनि भ्रष्टाचार हुन्छ ।

इतिहासका क्रान्ति योद्धा दुर्गा सुवेदी अर्थात् सुशीलाका प्रथम अघोषित र दृश्यमा नआउने प्रथम सल्लाहकार पनि सुशीलासँग कुनै न कुनै रूपमा जोडिन पुगेका छन् । उनको सल्लाह बमोजिम सुशीलाका कामहरू यसरी फितला हुँदै गएका हुन् भने यो नेपाली राजनीतिका लागि अर्को ठूलो खत र दुर्भाग्य हो ।

जेन–जेड आन्दोलनको एउटा प्रमुख माग भनेकै २०४६ सालपछिका सबै भ्रष्टहरूको सम्पत्ति छानवीन गरेर उनीहरूलाई कानूननः कठोरतापूर्वक दण्डित गर्दै जेल हाल्नु थियो । ताकि भविष्यमा कसैले अहिलेको जस्तो अत्यासलाग्दो मात्रामा भ्रष्टाचार र राष्ट्र दोहन गर्ने हिम्मत नगरोस् । भ्रष्टाचार छानवीन गर्ने आयोग गठन नगरेर केही नेताको घरमा जलेका नोटमाथि छानवीन गर्ने भनेर क्रान्तिको असाधारण म्याण्डेटप्राप्त प्रधानमन्त्री कार्कीले जेन-जेडहरूको भ्रष्टाचारविरोधी लक्ष्यलाई अपमानित गरेकी छन् । मूल कुरालाई अन्यत्र मोडेर केही महाभ्रष्ट नेताको घरमा जलेको नोटको मात्र छानवीन थालिनुले आगतका हकमा डरलाग्दो संकेत हो । यदि यत्ति मात्रै हुने र गर्ने हो भने २०४६ सालपछिका सबै भ्रष्टहरूले वैधानिक र राजनीतिक उन्मुक्ति पाएर भविष्यमा पनि सधैंका लागि खुला लाइसेन्स प्राप्त गरेको ठहर हुने छ ।

अन्ततः कुरा के हो भने सुशीला कार्कीद्वारा जेन-जेड क्रान्ति र नेपाली जनताको अपेक्षामाथि ‘महान्’ धोका त हुन आँटेको होइन ? – जनताको यो संशयका बीच सुशीलाले बुझ्नु पर्दछ, उनले यो क्रान्तिलाई धोका दिएर एक थान प्रधानमन्त्री मात्र साटिन् नै भने पनि फेरि एउटा क्रान्तिको उदय अवश्यंभावी छ । नेपाली जनताले अब एउटा धोका हुँदैमा परिवर्तनको चाहनालाई मूर्त रूप दिन छाड्ने छैनन् । सुशीला कार्की र सुशीला कार्कीहरू नर्कको गर्तमा गए पनि नेपाली जनताको परिवर्तनको चाहना अब कसैले रोकेर रोकिनेवाला छैन ।