भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता एवम् राजनीतिकर्मी विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा चालिस जनाको ज्यान गएको छ भने करिव सय जना घाइते भएका छन् । मृतकमध्ये आठ जना बालबालिका रहेका छन् ।
तमिलनाडुका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले घटनाबारे जानकारी दिएका छन् ।
करुर जिल्लामा आयोजित विजयको र्यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा विजयको बसनजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो गरेर विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो ।
स्वास्थ्यमन्त्री सुब्रमण्यमले ‘र्यालीमा अनुशासनको कमी थियो’ भन्दै घटनाको अनुसन्धानको आदेश दिइएको जानकारी दिएका छन् ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार विजयले आफ्नो अभियान–गाडीबाट र्यालीलाई सम्बोधन गर्दा कम्तीमा ३० जना बेहोस भएका थिए । उनीहरूलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। अवस्था गम्भीर हुँदै गएपछि विजयले भाषण बीचमै रोकेपनि केही समयपछि फेरि निरन्तरता दिएका थिए । अन्ततः विशाल भीड असामान्य बनेपछि भाषण पूर्ण रूपमा रोकिएको थियो।
दुर्घटनाको केही घण्टापछि विजयले सामाजिक सञ्जाल ‘एक्स’ मा दुःख व्यक्त गर्दै लेखेका छन्, “मेरो हृदय टुक्रिएको छ । म अवर्णनीय पीडा र दुःखमा छु जुन शब्दले व्यक्त गर्न सकिँदैन ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनालाई ‘गहिरो दुःखदायी’ भन्दै शोक प्रकट गरेका छन् । “मेरा विचारहरू ती परिवारहरूसँग छन् जसले आफ्ना प्रियजन गुमाएका छन् । म सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु“, उहाँले सामाजिक सञ्जालमा लेखेका छन् ।
तमिलनाडुमा फिल्म स्टारहरूलाई विशेष सम्मान दिइन्छ र उनीहरूको लोकप्रियता राजनीतिमा समेत प्रभावशाली देखिन्छ । विजयले सन् २०२४ मा अभिनयबाट अवकाश लिएर आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए । उनले आगामी चुनावमा उम्मेदवारी दिने योजना स्पष्ट नगरे पनि उनको राजनीतिक यात्रा सुरु भइसकेको छ ।
भारतमा ठूला भीडको कार्यक्रममा भागदौडको घटना नयाँ होइन । सन् २०२५ को जनवरीमा आयोजित महा कुम्भ मेलामा पनि हजारौँ श्रद्धालु पवित्र नदीमा नुहाउन हतारिँदा ३० जनाको मृत्यु भएको थियो।
तमिलनाडुमा घटेको यस पछिल्लो दुर्घटनाले फेरि एक पटक भीड व्यवस्थापन र सार्वजनिक सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ ।
प्रतिक्रिया