छेपारे प्रवृत्ति हाबी भए यो आन्दोलनको अर्थ रहँदैन । कोही माहाराजको अनुहार खोज्दै जेनजी पुस्ताभित्र पसेर निरङ्कुशता लाद्ने दाउमा छन् । कोही काण्डैकाण्डले धुलमिल भएका दाजुलाई चोखो पार्दै सत्ता हत्याउने प्रपञ्चमा छन् । कोही मध्यरातमा स्टाटस लेखेरै सर्वसत्तावाद लाद्न पाइनछ कि भन्ने दाउमा छन् । यस्ता छेपारे प्रवृत्तिबाट जेनजीको आन्दोलनको उपलब्धि जोगिएन भने फेरि पनि शहीदप्रति अपमान नै हुनेछ ।
✍ द्रोण अधिकारी ‘गुहेली’
हरेक वर्ष दशैं आउँदा नेपालीहरूको घर-आँगनमा खुसीको बास हुन्छ भन्ने परम्परा छ । तर, अचेल विगतको परम्पराभन्दा भिन्न शैलीमा दशैं आउँदैछ । असारमा पर्ने पानी यही दशैंको मुखमा पर्दा सयौं व्यक्तिले बाढी-पहिरोमा परेर सास्ती खेप्नु परिरहेको छ । यस वर्ष पनि दशैं खुसी कम रोदन बढी भएर आएको छ । राजनीतिक वितण्डा विपद् बनेर यसपालिको दशैँमा दशा भएर आउँदा व्यक्ति, परिवार, समाज र देशकै लागि यसवर्षको दशैँ खुसीको उत्सव बन्न नसक्ने देखियो ।
दशैँ पर्वले घरआँगन टेकिसकेको छ । बजार महँगो भएकोले ‘हुँदा खाने’हरू चर्को समस्यामा छन् । चाडपर्वमा कालोबजारीले नागरिकका आवश्यकता थेग्नै नसक्ने गरी मौलाउन पाइरहेको छ । सामाजिक रीतिस्थिति र अनुशासन भताभुङ्ग छन् । सरकारी समाजमा घुसखोरी-कमिसनखोरी जस्ता खुङे्खार भ्रष्टाचारको ‘राज’ चलिरहेकै छ । सरकारी नियन्त्रक निकायका टाउकेहरू स्वयम्लाई अनुबन्धित गराइ कालाधन्धे तस्करहरूले अघोषित रूपमा खोलेको आवधिक र स्थायी ‘सेटिङ कम्पनी’हरूको ‘खुल्ला-गोप्य घुमघाम’ चलिरहेको छ ।
यस विकृतिविरूद्ध विद्रोहको आगो उठ्दा ७५ जनाले ज्यान गुमाइसकेका छन् भने चार सय बढी घाइने बन्नुपरेको अवस्था छ । राजनीतिको एउटा युगको अन्त्य पनि भएको छ । यस आन्दोलनले भ्रष्टाचारलाई मूल शत्रु मानेर प्रहार गरेको भए पनि भ्रष्टाचारका मूल जराका रूपमा रहेको बिचौलिया पथ र भ्रष्ट कर्मचारीतन्त्र राजनीतितिर देखाएर आफ्ना कर्तुत छोपिरहेको अवस्था छ । नेतृत्वमा पुगेका दलका नेतालाई लोभ र लालच देखाएर भ्रष्टपथमा हिड्न बाध्य बनाउने बिचौलिया र भ्रष्ट कर्मचारीतन्त्रमाथि लक्षित भएर विद्रोह संगठित नभएसम्म देशमा व्याप्त रहेको भ्रष्टाचार र कुशासन अन्त्य हुने छैन ।
जेनजी पुस्ताको विद्रोहबाट लोकतान्त्रिक व्यवस्थामा रजाइँ गरिरहेका दलहरूलाई किनारा लगाएको भए पनि सत्ताको नेतृत्वमा पुगेका दलका नेतालाई लोभ देखाइ–देखाइ भ्रष्ट बाटोमा धकेल्ने बिचौलिया तथा कर्मचारीतन्त्र चोखो हुँदै नागरिक सरकारका नाममा चोरबाटोबाट सत्तामा पुग्न थालेपछि भ्रष्टाचारविरूद्धको विप्लवले सार्थकता पाउनेमा विश्वास हराउँदै गएको छ । नापी, मालपोत, यातायात, अदालत, राजश्व, भन्सार, जिल्ला प्रशासन जस्ता जन-सरोकारवाला कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई भित्र सहज काम लिने हो भने नजराना बुझाउनुपर्छ भन्दै बाटोमै रोकेर रकम असुल्ने सडकछाप बिचौलियाहरू वर्षौंदेखि खालीहात सडकमा उभिँदा रातारात लाखौंका गाडी-घर जोड्दै करोडपति भएर समाजमा घरनिया भएको धमास दिइरहेका छन् । उनै बिचौलिया राजनीतितिर धारेहात लगाउँदै भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने भ्रम छरिरहेको अवस्था छ । कर्मचारीलाई जवर्जस्ती लालचमा फसाएर उनीहरूको नाम बेच्दै जनताबाट लुट्ने बिचौलियाहरूको अवस्थाबारे नवयुवा पुस्ताको आन्दोलन नसोझिएसम्म नेपालमा मौलाइरहेको भ्रष्टाचार घट्नै सक्दैन । यस सत्यलाई बुझ्ने वातावरण यस वर्षको दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वले सबै नेपाली सपूतहरूमा चेतना जगाइदियोस् ।
जेनजी पुस्ताको विद्रोहबाट लोकतान्त्रिक व्यवस्थामा रजाइँ गरिरहेका दलहरूलाई किनारा लगाएको भए पनि सत्ताको नेतृत्वमा पुगेका दलका नेतालाई लोभ देखाइ-देखाइ भ्रष्ट बाटोमा धकेल्ने बिचौलिया तथा कर्मचारीतन्त्र चोखो हुँदै नागरिक सरकारका नाममा चोर बाटोबाट सत्तामा पुग्न थालेपछि भ्रष्टाचारविरूद्धको विप्लवले सार्थकता पाउनेमा विश्वास हराउँदै गएको अवस्था छ ।
व्यवस्थामाथि घात गर्ने कांग्रेस, एमाले र माओवादीका उपल्ला नेताहरूमा मात्र आन्दोलन केन्द्रित भएको देखिएन । व्यापार, व्यवसाय र उद्यम गरिरहेका सयौं रोजगारी प्रदान गर्ने निकायमाथि पनि बर्बर आक्रमण भएको देखिन्छ । स्वयम् आन्दोलनमा खटिएका युवाहरू पनि विनास देखेर आफै. आश्चर्यचकित हुँदै घुसपैठ भएको बताइरहेका छन् ।
नेपाली युवाले दुई दिनमै गरेको यो बलिदानीपूर्ण शहादतले उनीहरूको राष्ट्रप्रेम देखाइदिए पनि यिनै युवाको काँधमा चढेर अपराध गर्नेहरू चोखो बन्दै सत्तारोहणको सपना पालिरहेका छन् । लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर संसदमा कुरो उठ्न थालेपछि यस संसदलाई कसरी निकम्मा बनाउन सकिएला भनेर छिमेकी मुलुकहरू लागिरहेको चर्चा सुरू भएको चार महिना नगुग्दै एकाएक जेनजीको आन्दोलन विध्वंशात्मक देखिनु, भारतीय सञ्चारमाध्यमले एकोहोरो नेपाल सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री तथा प्रमुख दलका नेतालक्षित देश छोडेर भाग्न लागेको खब र प्रशारण गरिरहनु, देशभरी चलेको आन्दोलनमा अधिकांश स्थलमा भरतीय मुलका व्यक्तिको उपस्थिति बाक्लो देखिनु सबै सुनियोजित घुसपैठ रहेकै कारण विध्वंश मच्चिएको प्रष्ट छ । सयखाले चलखेलविरूद्ध जेनजी पुस्ता सचेत भएर लागेनन् भने जनभावनाअनुकुल राज्यसत्ता चल्ने वातावरण नै बन्दैन ।
नवपुस्ता अहिलेका राजनीतिक दलका बुढा नेताहरूलाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने अन्तिम निर्णायक उद्घोष गरेर सडकमा उत्रिएका थिए । २४ घण्टा नबित्दै मुलुकमा नेपालको राजनीतिले कायापलट पनि गऱ्यो । लोकतन्त्रको आडमा सर्वसत्तावाद लादेर तानाशाह बन्दै गएका केपी ओली युगको अन्त्य त भयो तर नेपाल र नेपालीको भविष्य सुरक्षित हुने मार्गचित्र कसैले अगाडि सारेको अवस्था छैन । छिमेकी दुई देश भारत र चीनले कब्जा गर्ने रणनीति बनाएर छेकीराखेको कालापानी र लिपुलेकको भविष्य के हुने ? त्यो भूमिका बारे बोल्दा अर्को विद्रोह वा विद्रुप हुने डरले जिनजीको मुख बन्द हुने हो कि ? बङ्गलादेश र श्रीलंकाको उदाहरण दिइने नेपाली समाजमा नेपालको नयाँ पुस्ताले गरेको यो आन्दोलन उदाहरणीय त बनेको छ, एकै पटकमा निर्णायक सफलता पाउनु विद्रोहका लागि निकै ठूलो उपलब्धि पनि हो ।
यसकारण आन्दोलनले देश बोकेको छ, तर जनआक्रोशअनुकुल शान्ति र सद्भाव निर्माण गर्न राजकीय सत्ता सञ्चालन हुने वातावरण बन्न सक्छ या सक्दैन ? अबको चिन्ता यही छ । छेपारे प्रवृत्ति हाबी भए यो आन्दोलनको अर्थ रहँदैन । कोही माहाराजको अनुहार खोज्दै जेनजी पुस्ताभित्र पसेर निरङ्कुशता लाद्ने दाउमा छन् । कोही काण्डैकाण्डले धुलमिल भएका दाजुलाई चोखो पार्दै सत्ता हत्याउने प्रपञ्चमा छन् । कोही मध्यरातमा स्टाटस लेखेरै सर्वसत्तावाद लाद्न पाइनछ कि भन्ने दाउमा छन् । यस्ता छेपारे प्रवृत्तिबाट जेनजीको आन्दोलनको उपलब्धि जोगिएन भने फेरि पनि शहीदप्रति अपमान नै हुनेछ ।
राजनीतिका सबै स्थानीय परिधिका गोठालाहरू मौन छन् किनकि, त्यहाँ पनि विकृतिको बलियो जालोले घेरिएको छ । सबै तप्का र तहका नागरिकले यो सवै बुझेका छन् । तर, नागरिकहरू राजनीतिको भूलभुलैयाको दृष्य हेरेर कहाँबाट प्रतिकार गर्ने ? सोचमग्न छन् । हुने-खानेलाई केही फरक नपर्ला तर हुँदा खानेलाई ज्यान बचाउनै मुस्किल परिरहेको छ । हुँदा खानेहरू के गर्ने भनेर टाउकोमा हात लगाउनुपर्ने अवस्था जीवित छ । चाडबाड मनाउन बहुमत श्रमजीवी नागरिक ऋणको बोझमा हराउनुपर्ने विडम्बना जीवित छ । विगतदेखि नै जनमत पाएका दलका सरकारले जनपक्षीय काम गर्न चुकेकै कारण व्यवस्थामाथि नै प्रश्न खडा हुँदै गएको थियो । भ्रष्टाचार, दुराचार र अन्यायका शृङ्खला एकपछि अर्को रूपमा बढेका थिए । एकाएक भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले सत्ता पल्टन गयो तर अन्यायका श्रृंखला घटेको अवस्था छैन ।
नव युवाको विद्रोहपछि नयाँ सरकार पनि अस्तित्वमा आइसकेको छ । एउटा पात्र बालेन्द्र साहको निर्देशनमा चल्नुपर्ने अवस्थामा सरकार पुगे विगतकै निरन्तरतामा सरकार सीमित हुने पक्कापक्की नै छ । यसकारण यो सरकारले पनि नागरिकका समस्या समाधान गर्दछ भन्ने अनुभूति नागरिकलाई दिन सकिरहेको छैन । बडादशैं-२०८२ को शुभोपलक्ष्य आरम्भ भइसकेको छ । यस वर्ष यो पर्वले ‘हुँदा खाने’हरूका लागि आशा कम निराशा बढी छोडेर ‘दशा’ नै सावित हुने लक्षण देखिँदैछ । विद्रोहले पनि यही दशैंको छेउमा आएर अस्तव्यस्तता थपिदिएको छ ।
जेनजी पुस्ताको विद्रोहबाट लोकतान्त्रिक व्यवस्थामा रजाइँ गरिरहेका दलहरूलाई किनारा लगाएको भए पनि सत्ताको नेतृत्वमा पुगेका दलका नेतालाई लोभ देखाइ-देखाइ भ्रष्ट बाटोमा धकेल्ने बिचौलिया तथा कर्मचारीतन्त्र चोखो हुँदै नागरिक सरकारका नाममा चोर बाटोबाट सत्तामा पुग्न थालेपछि भ्रष्टाचारविरूद्धको विप्लवले सार्थकता पाउनेमा विश्वास हराउँदै गएको अवस्था छ । यस परिस्थतिमा सत्ता सम्हाल्नेहरूमा सत्वुद्धि प्रदान होस्, घुषखोरी र कमिसनखोरी बुद्धिको अन्त्य गरोस्, बिचौलियाहरूले देश छोडेर भाग्ने दिन आओस् । देश र जनताको भलाइको वातावरण बनोस् । विजया दशमी २०८२ को सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना !
प्रतिक्रिया