पचासमाथिकालाई राजनीतिबाट बिदा गरौँ

पचासमाथिकालाई राजनीतिबाट बिदा गरौँ


राजनीतिक विसङ्गतिले आज यसरी जरो गाडेको छ कि जो यो विसङ्गति हटाउन चाहन्छ उसैको खैरियत नरहने अवस्था छ । अत: यो विसङ्गतिले रामलाई रावण र रावणलाई राम बनाइदिन्छ । नेताहरूको विकृत मानसिकता, आत्मकेन्दि्रत प्रवृत्ति, गैरजिम्मेवारीपन र दुरि्नयतका कारण आज नेपाली राजनीतिमा कोही राम छैनन्, रावण नै रावण देखिन्छन् । यिनलाई पाखा नलगाएसम्म देशमा शान्ति र प्रगति हुनेवाला छैन । यसका निम्ति दृढसङ्कल्पित हुनुपर्छ ।
०४६ पछि नै देश र समाजलाई भ्रष्टाचार, अपमान, क्रूरतालगायत यावत् विसङ्गतिबाट मुक्त तुल्याई सही दिशामा लैजान सकिन्थ्यो, तर स्वार्थी नेताहरूको बुझनै नसक्ने बेर्सर्मी क्रियाकलापका कारण ती विसङ्गति सात सालदेखि अहिलेसम्म बारम्बार परिवर्तनको मौका आउँदा पनि झन्झन् बढ्दै गएका छन् । राणाशाही गएपछि आधुनिक नेपालको अभ्यास नयाँ प्रणालीबाट हुनुपथ्र्यो । तर, त्यसबेलादेखि नै राणाजीको देखासिकी गरी आफू पनि रावणराज गर्ने नियत बोकेको काङ्ग्रेसले राज्य-व्यवस्था र त्यससँग गरिनुपर्ने व्यवहारको कुनै खाका कोर्न सकेन बरु राणाहरूको भन्दा निकृष्ट शैलीमा शासन गरेर जनतामा ‘प्रजातन्त्र पनि बेकारको हुँदोरहेछ’ भन्ने पार्‍यो । फलस्वरूप प्रजातन्त्रसँग कुनै पटरी नखाने काङ्ग्रेस र अन्य पार्टीेको व्यवहारबाट जनता दिक्क भए । २००७ देखि २०१५ सालसम्म नेपाली जनताले देशमा प्रजातन्त्र आएको हो वा होइन, अनुभव नै गर्न पाएनन् । जनताका लागि त्यसबेला पनि राणाविहीन राणाशासन नै थियो । तथापि ०१५ सालमा अरू पार्टीको खास कुनै भूमिका नहुनु र प्रजातन्त्रको राग अलाप्ने केवल काङ्ग्रेस मात्र भएकोले जनताले काङ्ग्रेसलाई नै जिताए । तर, सत्तामा पुग्नासाथ जनता र सहयोगीहरूलाई धोका दिने बानी लागिसकेको काङ्ग्रेसले त्यसबेला पनि राणाशाहीलाई समेत मात गर्नेगरी क्रूर शासन गर्‍यो । हुन त त्यसबेलाका प्रधानमन्त्री -बीपी) साह्रै नम्र व्यक्ति थिए, तैपनि काङ्ग्रेसीहरूमा घमण्ड चढ्न पुग्यो । अब हाम्रो कसैले केही लछार्न सक्दैन भनेर उल्टो अहिलेको माओवादीले जस्तै जनताविरुद्ध हिंसात्मक भौतिक कारबाही र क्रूर व्यवहार गरेकोले त्यसबेला सर्वसाधारणले आफ्ना बैरीलाई ‘तेरो घरमा काङ्ग्रेस पसोस्’ भनेरसमेत सराप्थे । त्यसताका जनताद्वारा निर्वाचित भई सत्तामा बसेको काङ्ग्रेससँग जनता नै त्राहिमाम थिए, जसरी अहिले आफैंले निर्वाचित गरेको माओवादीसँग जनता तरि्सनुपर्ने अवस्था छ । काङ्ग्रेसको यही कमजोरी देखेर चतुर राजा महेन्द्रले २०१७ साल पुसमा सैनिक ‘कु’ गरेर पञ्चायती व्यवस्था लागू गरे । फलत: देशमा जनताले पञ्चायती व्यवस्थाको प्रकोप २९ वर्षसम्म झेल्नुपर्‍यो । तर, आज प्रजातन्त्रमा विश्वास गर्ने हरनेपाली काङ्ग्रेसका आउटडेटेड नेताहरूको व्यवहार देखेर आक्रोशित छन् । कम्युनिस्टका रूपमा एमाले हिजो दरबारको उत्पादन थियो भने आजको माओवादी पूरापूर काङ्ग्रेसी कुशासनको उत्पादन हो । साथै आज बनेका साना-ठूला सशस्त्र समूहहरू पनि आजको काङ्ग्रेसकै उत्पादन हुन् भनिदिँंदा फरक पर्दैन ।
अर्को पक्षलाई पनि अवलोकन गरौँ । ०४६ सालमा पञ्चायती व्यवस्था ढलेलगत्तै काङ्ग्रेसको सरकारले भ्रष्टाचाररहित सभ्य समाज, सबका लागि न्यूनतम प्रजातान्त्रिक उपभोगको उपाय अवलम्बन गर्न सक्थ्यो । तर, काङ्ग्रेसका पुराना नेताहरूको कुनै योजना र भिजन नै रहेनछ । उनीहरू त झन् सुरुदेखि उही पुरानो परिवारवाद, चाकडी, भ्रष्टाचार, विदेशी प्रभु, विसङ्गतिलगायत आफ्ना कमजोरीसमेत समावेश गरेर क्रमिक रूपमा पञ्चायतभन्दा पनि क्रूर शासन गर्दै जान लागे । हुन त विसङ्गति हटाउने काम त्यति सजिलो हुँदैन, कुनै एक स्थापित विसङ्गति हटाउँदा त्यस विसङ्गतिबाट बाँच्नेहरू विरोधमा उत्रिन्छन् । जस्तो कि अहिले टुकुचामाथि बनेका दुई सय घर अहिलेको घडीमा सरकारले भत्काउने निर्णय मात्र गरेमा एक लाख मान्छे सडकमा उत्रिन्छन् । भन्सार, मालपोत, यातायात विभागलगायतका विसङ्गतिहरू माओवादीको सरकारले समेत हटाउन सकेन ।
यसरी काङ्ग्रेसले देशमा कुनै नयाँ प्रणाली विकसित हुनै नदिएर आजको अवस्थामा आइपुग्न बाध्य गरायो । जनताका लागि जस्तो हुनुपर्ने हो काङ्ग्रेस त्यस्तो बनिदिएको भए आज देशमा साँच्चै रामराज्य हुन्थ्यो, जनतामा आक्रोश बढी देश हिंसाको चपेटामा पर्ने थिएन र सबले न्याय पाउँथे । जति नयाँ-नयाँ परिवर्तन भए पनि शासक उही पुराना बद्नियत भएका नै किलो गाडेर बसेका छन् । उनीहरूलाई नहटाई देश र जनताले कुनै परिवर्तन र सुधारको अनुभव गर्न पाउने छैनन् र लोकतन्त्रले जनताको मनमा घर गर्न पनि सक्दैन । उनीहरूकै कारण एमाले भाँडियो, अहिले देश र जनताको नाममा कात्रो बाँधेर लडेका माओवादीहरूसमेत सत्ता र पैसा भनी-भनी भाँडिएका हामीले देखेका छौँ । जति नै व्यवस्था परिवर्तन भए पनि उही व्यक्ति यथावत् रहे कुनै उन्नति हुन सक्दैन भन्ने पाठ अब नेपाली जनताले यहीँबाट सिक्नुपर्छ । हामी जन्मेदेखि आजसम्म सूर्यबहादुरलगायत पुराना नेतालाई मात्र देख्दैछौँ, के यीबाहेक नयाँ पुस्ताले मौका पाउनुपर्दैन – नयाँ अवधारणा विकास हुनुपर्दैन – त्यसैले आजको बीभत्स राजनीतिलाई अब नयाँ पुस्ता र नौलो विचारले प्रतिस्थापित गर्नका लागि काङ्ग्रेस पार्टीमा मात्र नभई सबै पार्टीमा ५० वर्षमाथिका नेता तथा कार्यकर्ता प्रतिस्थापित गर्ने आन्दोलन सुरु गर्नुपर्छ । नेपाली सुधारात्मक परिवर्तनको भोका भइसकेका छन् । साँच्चै परिवर्तनलाई आत्मासात् गर्ने हो भने अब पुस्ता परिवर्तन हुनुपर्छ । यहाँ जुनसुकै व्यवस्था ल्याए पनि व्यवस्था खराब होइन व्यक्ति खराब भएर हामीले परिवर्तनको अनुभव गर्न पाएनौँ । त्यसैले अब काङ्ग्रेसबाट सुरु गरी तमाम पार्टीमा पुस्ता परिवर्तन हुनैपर्छ । त्यहाँ पुस्ता परिवर्तन हुन लागेपछि अन्य पार्टीहरूमा पनि पुस्ता परिवर्तनको लहर आउँछ । देशको आधा राजनीतिक समस्या त यसबाटै समाधान हुनेछ र त्यसपछि सबै पार्टीका नयाँ पुस्ता मिलेर छलफल गरेरै समस्या समाधान गर्दै जानेछन् । अन्तमा पङ्क्तिकार यो भन्न चाहन्छ कि पुस्ता परिवर्तनका लागि ४० वर्षको उमेर ठीक हुन्छ । तर, काङ्ग्रेसमा ५० वर्ष पुगेका कैयन व्यक्तिहरू योग्यता र क्षमता भएर पनि पङ्गु नेतृत्वले मौका नदिई ड्यामेज गरेर राखेकाले काङ्ग्रेसको हकमा पुस्ता परिवर्तनको उमेर ५० वर्ष राख्दा हुन्छ । पुस्ता परिवर्तनको लहरचाहिँ अब हरेक राजनीतिक पार्टीमा आउनैपर्छ र यसको सुरुवात काङ्ग्रेसबाटै हुनुपर्छ ।- सञ्जीव सत्याल
काठमाडौं

विदेशमा चेलीले धर्म छाडेपछि…
कुवेतका नेपाली घरेलु कामदार महिलाको सन्दर्भलाई उठाएर लेखिएका समाचार बेलाबेला विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ । जसमा धेरैजसो वर्षौंसम्म कुवेतीको घरमा मजदुरी गरेर पनि तलब नपाउने, पूरा निद्रा सुत्न नपाउने, मालिक-मालिक्नीको कुटाइ खानुपर्ने र यौन उत्पीडनजस्ता दु:ख-दर्दले भरिएका विषय समेटिएका हुन्छन् । यस्ता अवस्थाबाट गुज्रेर बेसुरमा भाग्दै दिनानुदिन कुवेतस्थित नेपाली राजदूतावासमा शरण लिन पुग्ने नेपाली महिलाको घुइँचो नै लाग्छ, जसले गर्दा नेपाली राजदूतावास कुवेतको प्रतीक्षाकक्षमा खुट्टा राख्ने ठाउँ पनि हुँदैन ।
यस्तै परिवेशबीच कुवेतको सावा अल-सालेमस्थित एक नेपाली घरेलु महिला कामदारले आफैं कार्यरत कुवेतीको घरमा आफ्ना प्रेमीसँग अवैध यौन सम्बन्ध कायम गरी शिशु जन्माएकी र उनले आफ्नो अपराध लुकाउने प्रयत्नमा उक्त शिशुलाई फोहोर फाल्ने ठाउँमा फालेको सन्दर्भ यतिखेर चर्चामा छ । बच्चा फोहोरमा फालेको कुवेती घर मालिक्नीले थाहा पाई पुलिसलाई खबर गरेकोले उनी अहिले पक्राउ परी पुलिस अनुसन्धानमा र नवजात शिशु अस्पतालमा रहेको बुझिएको छ । ती नेपाली युवतीको नाम कुवेती प्रहरीले पनि खुलाएको छैन । यसरी अधिकांश महिलाले दु:ख पाउने र कोही नेपाली महिला भने आफ्नो मोजमस्तीको लागि ड्रग, स्मग्लिङ्जस्ता अपराधमा फस्ने, घरबाट भागेर देशी या विदेशी नागरिकसँग अवैध विवाह गर्ने, कोही त अझ काम गर्ने घरमै आफ्ना प्रेमीलाई बोलाई अवैध यौन सम्बन्ध कायम गरी बच्चा पैदा गर्नेसम्मका कार्य गर्नु निन्दनीय छ । यसबाट उनीहरूले आफ्नो जीवन र ज्यान जोखिममा त पार्छन् नै साथसाथै विदेशी भूमिमा सारा नेपालीको स्वाभिमानमै प्रश्न उठाइदिएका छन् । यस्ता नेपाली चेलीलाई सम्झाउने कसरी ?
– जय आले, कुवेत