✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन १४ गते तद्अनुसार सन् २०२५ अक्टुबर ३० तारिख मंगलबार आश्विन शुक्ल पक्षको अष्टमी तिथि पूर्वाषाढ़ा नक्षत्र शोभन योग बालव करण आनन्दादिमा मित्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५६ मा भयो र सूर्यास्त साँझ १७ः४९मा हुनेछ । महाअष्टमी व्रत, कालरात्रि ।
आजको राशिफल
मेष – सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्न सक्छ । समुदायको हितमा भने राम्रै काम गर्न सकिने देखिन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनसँग रमाइलो यात्राको योग छ ।
वृष – आर्थिक क्रियाकलापमा अनुकुलता वृद्धि भइ आम्दानी बढ्ने र उत्साह वृद्धि हुने समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्यजीवन सुखद बन्नेछ । पढाइलेखाइमा पनि प्रगति होला । स्वास्थ्य भने केही कमजोर रहनसक्छ । व्यावसायिक कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने याजको लागि थाती राख्नु हितकर होला । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ ।
मिथुन – लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने समय छ । विभिन्न अवसर जुट्ने देखिन्छ, तर सोचविचार गरेर मात्र कामको दायित्व लिनु उचित हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, जसले गर्दा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आरोग्यबल बढ्नेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । मित्रजनसँग फलदायी यात्राको सम्भावना छ । पारिवारिक सुखशान्ति मिल्नेछ ।
कर्कट – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्नसक्ने समय छ । विगतका समस्या बल्झिन सक्छन्, होसियारीपूर्वक दैनन्दिन कर्मम जुट्नु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुनसक्ने योग रहेकोले महत्वपूर्ण कार्य थाती राख्नु बुद्धिमत्ता ठहरिनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
सिंह – मिश्रित फलदायी दिन छ । नियमित कार्यमा केही बाधा पैदा हुने र बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ । तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । विपरीतलिंगीको माध्यमबाट फाइदा मिल्ने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पराक्रमका साथै बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कन्या – भाग्यले साथ दिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रेमभाव बढ्नेछ, दाम्पत्यसुख मिल्नेछ । स्वास्थ्य सबल रहला । परिवारिक सुखका कारण उत्साह बढ्नेछ ।
तुला – आजको दिन नियमित कार्यमा केही चुनैती बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । इष्र्या गर्नेहरूले काममा अवरोध गर्नसक्छन्, ध्यान राख्नुहोला । आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक – आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नुका साथै प्रतिस्पर्धामा विजयी भइनेछ । आयबल बढ्नाले उत्साह जागृत गराउला । बौद्धिक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
धनु – धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुने योग छ । चुनौतीपूर्ण कामको दायित्व आइपर्न सक्छ, तथापि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । सन्तानपक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मकर – आजको दिन केही चुनौती बढ्ने देखिन्छ । मौकापरस्त व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनु उचित होला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । कामविशेषमा सरकारी कडिकडाउको सिकार भइने योग छ । प्रतिष्पर्धी हाबी हुनसक्ने योग रहेकोले वर्चश्व जोगाउन विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ । शोख पूरा गर्नमा खर्च केही बढ्न सक्छ, ध्यान राख्नुहोला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
कुम्भ – रोकिएका काम बन्नाले उत्साह जाग्ने समय भएपनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ । प्रेमको बन्धन कसिनेछ । मिठो भोजन प्राप्त हुनेछ भने रमाइलो यात्राको सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला ।
मीन – प्रयत्न गरेका काम ढिलो सम्पादन हुने र न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । काम बिग्रने भयले सताउन सक्छ । श्रमको उचित मूल्य नपाइने देखिन्छ, तर कर्मले दिने सन्तुष्टि मिल्नेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । साहस प्रदर्शन गर्नुपर्ने कार्यमा आकर्षण रहनेछ । सन्तानपक्षबाट सुख मिल्नेछ ।
प्रतिक्रिया