खतरनाक शहरहरूलाई सैन्य प्रशिक्षण मैदान बनाउन सुझाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै ‘आक्रमण’को सम्भावना रहेको चेतावनी दिएका छन् । यसलाई उनले ‘विदेशी शत्रुभन्दा फरक छैन, तर अझै गाह्रो’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार यस्ता शत्रुहरूले वर्दी नलगाउने हुनाले तिनीहरूलाई शत्रु भनेर पत्ता लगाउन कठिन हुन्छ ।
भर्जिनियाको क्वान्टिकोस्थित मरीन कर्प्स बेसमा शीर्ष अमेरिकी सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भित्री शहरहरूलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गरे। उहाँले रक्षामन्त्री पिट हेग्सेथलाई खतरनाक अमेरिकी शहरहरूलाई सैन्य तथा नेसनल गार्ड प्रशिक्षणका लागि प्रयोग गर्न सुझाव दिएका छन् ।
‘हाम्रा भित्री सहरहरू अहिले युद्धको ठूलो हिस्सा बनेका छन् । मैले पिटलाई भनेँ, यी खतरनाक सहरहरूलाई हामीले हाम्रो सेना र नेसनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ । हामी चाँडै शिकागो जाँदैछौँ’, उनले भनेका छन् ।
राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई विशेषगरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक–एक गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क, लस एन्जलस – यी सबै धेरै असुरक्षित ठाउँहरू हुन् । हामी तिनीहरूलाई एक–एक गरेर समाधान गर्नेछौँ । यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो’, उनले भने ।
यसअघि, सेप्टेम्बर २१ मा राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गरेका थिए । उनले सो क्षेत्रलाई गत वर्षको तुलनामा पूर्ण रूपमा फरक र सुरक्षित भएको बताउँदै यसलाई आफ्नो प्रशासनको ‘सुशासन र कडाइका कारण सम्भव भएको’ बताएका थिए ।
यसैबीच, अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ ।
प्रतिक्रिया