यस्तो दूराशयी कदमले विजयादशमी जस्तो महत्त्वपूर्ण पर्वलाई श्रद्धा गर्ने कैयौं मङ्गोल समुदायका सदस्यहरूलाई पनि असहज र अपमानित तुल्याएको छ । धार्मिक सहिष्णुता नेपालको मौलिक पहिचान हो, त्यसलाई क्षति पुऱ्याउने कुनै पनि प्रयास केवल निन्दनीय मात्र होइन, आत्मघाती पनि हो ।
✍ उमेश केसी

नेपाल विविधता र सहअस्तित्वको सुन्दर बगैंचा हो । बहु जाति, बहु भाषा र बहु धर्मले सजिएको हाम्रो समाज सहिष्णुता र आपसी सम्मानको डोरीमा गाँसिएको छ । यही विशेषता हाम्रो राष्ट्रिय पहिचान हो । तर, कहिलेकाहीँ केही असंयमित कदम र असंवेदनशील आचरणले यही पहिचानमा कालो दाग थोपर्न खोज्छन् ।
हालै मङ्गोल नेसनल अर्गनाइजेसन (एमएनओ)ले आयोजना गरेको एक भेलामा विजयादशमीजस्तो हिन्दू धर्मावलम्बीको महान् पर्वमा कालो टिका लगाएर प्रस्तुत हुनु साधारण घटना मात्र थिएन । यो केवल व्यक्तिगत आस्था वा फरकपनको प्रदर्शन नभइ सङ्गठित रुपमा गरिएको दूराशयी कदम थियो, जसले सम्पूर्ण मङ्गोल समुदायलाई अनावश्यक विवादमा तानेर समाजमै असहिष्णुताको चिह्न कोर्न खोज्यो ।
टिका भनेको केवल रङ होइन – त्यो आस्था हो, संस्कार हो, र नेपाली समाजलाई एकतामा बाँध्ने साझा प्रतीक हो । यसलाई अपमानित गर्ने, वा उपहास गर्ने व्यवहारले अरूलाई मात्र होइन, आफ्नै संस्कृति र अस्तित्वलाई पनि कलङ्कित बनाउँछ । विशेषतः २१औँ शताब्दीमा जब सहिष्णुता, सहअस्तित्व र परस्पर सम्मानलाई उच्चतम मूल्य मानिनुपर्ने हो, त्यस्तो संकीर्ण र उत्तेजक कदमले हाम्रो सभ्यतालाई चुनौतीमा पार्छ र समाजलाई विभाजनतर्फ धकेल्छ ।
नेपाल बहुधार्मिक र बहुसांस्कृतिक समाज हो । यहाँ प्रत्येक समुदायलाई आफ्नो संस्कार र परम्परा मनाउने स्वतन्त्रता छ । तर स्वतन्त्रताको नाममा अरूको आस्था र विश्वासमाथि कुठाराघात गर्ने अधिकार कुनै समुदाय वा संगठनलाई दिइएको छैन । अरूको धर्मलाई अपमान गरेर आफ्नो धर्मको गरिमा बढ्दैन – यो सत्य हरेक सचेत नागरिकले आत्मसात गर्न जरुरी छ ।
कालो टिकाको आडमा गरिएको यस्तो आचरणले धार्मिक द्वन्दलाई निम्त्याउन सक्छ, जातीय घृणा फैलाउन सक्छ, र समाजलाई हिंसा तथा अराजकतातर्फ उकास्न सक्छ । फलानो जातले यस्तो गऱ्यो, यस्को धर्म यस्तो हो भन्ने मानसिकता फैलाउने कार्य खतरनाक खेल हो, जसको अन्त्य कहिल्यै प्रगतिशील समाजमा हुन सक्दैन ।
त्यसैले, आजको आवश्यकता भनेको आपसी सहिष्णुता, परस्पर सम्मान र सहअस्तित्वलाई जीवनशैलीको आधार बनाउन सक्नु हो । कसैलाई तल झारेर आफू माथि पुगिँदैन, अरूलाई अपमान गरेर आफू सम्मानित हुँदैन । जिम्मेवार नागरिकको पहिचान भनेकै मेलमिलाप, अमनचयन र शान्तिपूर्ण वातावरण निर्माण गर्ने प्रयासमा देखिनु पर्छ ।
हामी सबैले यसैमा जोड दिनुपर्छ- समाजलाई विखण्डन होइन, एकताको बाटोमा अगाडि बढाउने । यही बाटोले मात्र हामीले नयाँ पुस्तालाई सुरक्षित, सभ्य र उत्कृष्ट वातावरण हस्तान्तरण गर्न सक्छौं ।
दुर्भाग्यवश, यस्तो कदमले विजयादशमी जस्तो महत्त्वपूर्ण पर्वलाई श्रद्धा गर्ने कैयौं मङ्गोल समुदायका सदस्यहरूलाई पनि असहज र अपमानित बनाएको छ । धार्मिक सहिष्णुता नेपालको मौलिक पहिचान हो, त्यसलाई क्षति पुऱ्याउने कुनै पनि प्रयास केवल निन्दनीय मात्र होइन, आत्मघाती पनि हो ।
प्रतिक्रिया