आज गिद्धे एकादशी अथवा पापांकुशा एकादशी

आज गिद्धे एकादशी अथवा पापांकुशा एकादशी


चन्द्रमास अनुसार १२ महिनामा २४ एकादशी पर्दछ । जसका नामहरू यसप्रकारका छन्- बैशाखका वरूथिनी र मोहिनी, जेठका अपरा र निर्जला, असारका योगिनी र देवशयनी, साउनका कामिका र पुत्रदा, भदौका अजा र परिवर्तिनी, असोजका इंदिरा र पापांकुशा, कार्तिकका रमा र देव प्रबोधिनी, मंसिरका उत्पन्ना र मोक्षदा, पुसका सफला र पुत्रदा, माघका षटतिला र जया, फागुनका विजया र आमलकी र चैतका पापमोचिनी र कामदा एकादशी हुन् । तर, तीन वर्षको एक पटक हुने अधिक मासमा दुई एकादशी थपिने गर्दछ, जसका नाम पद्मिनी र परमा एकादशी राखिएको छ ।

विभिन्न एकादशीका विभिन्न विशेषताहरू छन् । हिन्दु आख्यानका अनुसार एकादशीका दिन माछा–मासु जस्ता भोजन गर्न परहेज गरी पूर्णरुपमा सात्विक भोजन गर्ने भनिएको हुन्छ । तर, दशैको नवरात्रपछि आउने एकादशीको समय भने घरमा माछा-मासु भित्रिसकेको हुन्छ । जसले गर्दा यस दिन मासु वर्जित गर्न सकिँदैन । जसले गर्दा धेरैले यस एकादशीमा पनि मासु खाने गर्दछन् । शायद यसैले गर्दा माछा मासु खान हुने छुट दिइएको हुँदा यस एकादशीलाई गिद्धे एकादशी भनिएको भन्ने तर्क गर्न सकिन्छ ।

वैष्णव धर्मालम्वीहरूका लागि यस दिन बसिने ब्रत सबैभन्दा ठूलो ब्रतका रूपमा लिने गर्दछन् । यसदिन गरिने ब्रतले जानी-नजानी गरिएका पापहरूमा अंकुश लगाएर मुक्त गरिदिने हुँदा यस दिनलाई पापांकुशा एकादशी भनिएको हो । गिद्धले पनि यस दिन मासु नखाने हुँदा यस दिनको एकादशीलाई गिद्धे एकादशी नाम राखिएको तर्क पनि गरिन्छ । अर्को तर्कमा यस दिन मासु खानेहरू अर्को जन्ममा गिद्ध हुने हुँदा यस दिनको एकादशीलाई गिद्धे एकादशी भनिएको पनि भन्ने गरिन्छ । खैर, समग्रमा हेर्दा दशैंको अवसरमा घरभरि मासुजन्य पदार्थ रहेको हुन्छ । तसर्थ मासु खान छुट दिनका लागि पनि गिद्ध एकादशी नामाकरण गरिएको अडकल गर्न सकिन्छ । यस दिनको एकादशीमा ब्रत बस्नेहरू बाहेक अधिकांशले मासु खाने गर्दछन् । भारतमा यस दिनको एकादशीलाई गिद्धे एकादशी भनिँदैन तर नेपालमा गिद्धे एकादशी भन्ने गरिन्छ ।

हुन त यस एकादशीलाई पापांकुशा एकादशी भनेर यस दिन ब्रत बस्नेको सम्पूर्ण पाप नाश हुने भन्ने मान्यता पनि रहेको छ । महाभारतमा युधिष्ठिरलाई कृष्णले यस एकादशीको बारेमा वर्णन गर्दै यस दिन ब्रत बस्नेको सम्पूर्ण पाप नाश हुने बताएका छन् । त्यसैगरी रामायणका अनुसार रामले रावण लगायत लङ्काका असंख्य सेनाको हत्या गरेपछि सो पापमोचन गर्न यही एकादशीका दिन रामलक्ष्मणसहित अयोध्याका सेना तथा हनुमान लगायतका आफूलाई सहयोग गर्ने बाँदर सेनालाई पनि ब्रत बस्न लगाएका थिए । यसरी ब्रम्हहत्याको दोषबाट मुक्ति पाएका थिए भनेर लेखिएको छ । जसले गर्दा यस दिन मासुसहितको तामसिक भोजन गरेमा अर्को जन्ममा गिद्ध भएर जन्म लिनु पर्ने भनेर ब्याख्या गर्दछन् ।

खैर अहिले त एकादशी तथा औंसीहरूमा सात्विक भोजन गर्नेहरू पनि घटिसके । एकादशी तथा औंसीमा मासुजन्य पदार्थ बिक्री गर्ने पसलहरू बन्द गर्ने नियम पनि हराइसक्यो । बजारमा जुन सुकै दिन पनि यस प्रकारको खाद्य पदार्थको सहज खरिद गर्न सकिन्छ ।

असं चाल

यस एकादशीको महत्व काठमाडौ असनवासीको भने भिन्न छ । करिव १२०० वर्ष अगाडिदेखि ब्यापारिक थलोका रुपमा प्रख्यात असनका ब्यापारीहरूले भने दशैंको दशमीका दिन ब्यापारमा नै लागेर एकादशीका दिन टीका लगाउने गर्दछन् । साथै नवमीमा पूजा गरेर स्थापना गरिएको हातहतियार तथा अन्य सामग्री चालं (निकाल्ने) हुँदा यस दिनलाई भिन्न रुपमा असं चाल भन्ने गरिन्छ ।

असनका रैथाने तुलाधर, शाक्य तथा बज्राचार्यहरूले दशमीका दिन टीका नलगाएर एकादशीका दिन टीका लगाउने गर्दछन् । असं चालका नामले छुट्टै पहिचान पनि बनाएको छ । यसदिन बिहान पाया (खड्ग जात्रा) निकालेपछि मात्र टीका लगाउने प्रचलन रहेको छ । यसरी भोलिपल्ट मात्र पाया निकाल्नुका पछाडि विभिन्न किंवदन्तीहरू छन् ।

पहिलो कारण ब्यापारीहरू मात्र भएको स्थान भएको र ब्यापारको केन्द्रविन्दू नै भएको हुँदा दशमीका दिन ब्यापारमा ब्यस्त रहेर भोलिपल्ट फुर्सदमा मनाउन थालेको भन्ने गरिन्छ । यसमा भने सत्यता नहुन सक्छ ।

दोश्रो कारणमा सम्राट अशोकले स्थापना गरेको शहर अशोकमण्डप नै आजको असन हो भन्ने गरिन्छ । विश्व विजय गर्ने सपना बोकेर हिँडेका सम्राट अशोकले जब कलिङ्ग युद्धमा हजारौँको मृत्यु भएको देखे – पश्चाताप गर्न थाले । यसै समय बालक भिक्षु निग्रोथले बौद्ध धर्मको दिक्षा दिए । यसरी बौद्ध धर्मबाट प्रभावित भएका सम्राट अशोकले आश्विन शुक्ल दशमीका दिन हतियार त्याग गरेर प्राणी हिंसा नगर्ने कसम खाएका थिए ।

तर उपत्यकामा रहेको विभिन्न समाज तथा राजाहरूले पनि नवरात्रीमा शक्ति संचय गर्ने र प्रदर्शन गर्नका लागि बलि दिने गर्दथे । असनमा पनि यो आह्वान आएपछि असनका जनताले विरोध गरे । सम्राट अशोकले स्थापना गरेको तथा सम्राट अशोकले नै दशमीका दिन हतियार त्याग गरि हिंसासमेत नगर्ने घोषणा गरेको दिन हामी हत्या गर्ने र हतियार बोकेर हिँड्दैनौ भनेपछि भोलिपल्ट एकादशीका दिन गर्न छुट दिइएको थियो भन्ने गरिन्छ । तसर्थ, सो समयदेखि नै असनका केही समुदायले अन्यले दशमीका दिन गर्ने जात्रा तथा उत्सव एकादशीका दिन गर्न थालेको विश्वास गरिन्छ ।