✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धसर्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन १९ गते तद्अनुसार सन् २०२५ अक्टोबर ५ तारीख आइतबार आश्विन शुक्ल पक्षको त्रयोदशी तिथि शतभिषा नक्षत्र ६ः५० पर पूर्वाभाद्रपद नक्षत्र गण्ड योग गर करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १७ः४४ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन आलस्य गर्ने बानीले केही समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ । तर, आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ला । व्यस्तता वृद्धि हुनेछ । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । प्रतिस्पर्धी परास्त होलान् । खर्चको मात्रा भने केही वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि धर्मकर्ममा आकर्षण बढ्नेछ । श्रमको पनि उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारीसमेत बहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूबाट सजग रहनु उचित हुनेछ । विवेकको सही प्रयोगले शत्रुमाथि विजय प्राप्त होला ।
मिथुन – अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । कर्मबल बढ्नेछ, तर सहयोगीहरूको मात्र भरपर्दा चिताएको काम नबन्न सक्छ, ध्यान राख्नुहोला । हातमा आएको अवसर गुम्ने सम्भावना रहेकोले चनाखो रही कार्य–व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । नियमित खर्चमा बढोत्तरी होला ।
कर्कट – साहसिक काममा आकर्षण बढ्ने समय भएपनि अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । साझेदारीमा समस्या आउला । तथापि, मिहेनत र इमानदारीले परिस्थिति सम्हाल्न मद्दत गर्नेछ । बिछोडिएका मित्रजनसँग भेटघाटको योग छ । आरोग्यबल बढ्नेछ ।
सिंह – विभिन्न भौतिक साधनहरू जुट्ने एवम् प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । ऋण र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । आफन्तसँग भने असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ने योग छ । पतिपत्नीमा अविश्वास बढ्नसक्छ, आपसी व्यवहारमा लचकता अपनाउनुहोला ।
कन्या – अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । व्यक्तिगत कमजोरीले चिन्ता बढाउने योग छ । सबल स्वास्थ्यका लागि खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिनु हितकर होला । मुख्य काममा बाधा हुने योग परेकोले आजको दिन विशेष योजना थाती राख्नु उचित हुनेछ । सानातिना काममा धेरै समय अल्झनु परे पनि मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
तुला – बौद्धिक कार्यबाट राम्रै धनलाभ हुने समय छ । प्रतिभा प्रदर्शन गरी धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । मान्यजन तथा गुरुजनको विशेष सहयोग जुट्नाले अध्ययन-अध्यापनमा प्रगति हुने समय छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, सजग रहनुहोला । महत्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ । तर, शुभचिन्तकहरूले साथ दिनेछन् भने विभिन्न अवसर पाइनेछ । आयबल बढ्नेछ । मित्रजनसँग जमघट र मिठो भोजन प्राप्तिको योग छ ।
वृश्चिक – सामाजिक कार्यमा विशेष लगाव रहने र मान-प्रतिष्ठा बढ्ने दिन छ । भाग्यबल बढ्नेछ । रोकिएको काममा सफलता मिल्ला । यात्रागत कार्य सार्थक रहला । आमोदप्रमोदमा रमिरहनुहुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । कर्मबल बढ्नाले समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।
धनु – मिश्रित फलदायी समय छ । इच्छाशक्ति बढ्नुका साथै रोकिएको काम सजिलै सम्पादन हुनसक्छ । स्वास्थ्यगत रूपले आफू केही कमजोर भएको अनुभूति होला । पढाइलेखाइको दृष्टिले समय मध्यम छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । सन्तानसुख मिल्नेछ, प्रेमभाव बढ्नेछ । रसरागका क्रियाकलापमा सरिक भइएला । बौद्धिक काममा विशेष सफलता मिल्ने देखिन्छ ।
मकर – सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । साझेदारीको काम बन्नेछ भने आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्य गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा होला । स्वास्थ्य सबल रहनेछ ।
कुम्भ – मित्रजनको साथ-सहयोगले विशेष योजना कार्यान्वयनमा गति मिल्ने समय छ । पराक्रमका साथै यश-वर्चश्व बढ्नेछ । मुद्दा-मामिलामा पनि विजयी भइएला । उद्योग-व्यापारतर्फ सामान्य फाइदा मिल्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । तथापि, नियमित कार्यबाट धन आर्जनको योग रहेको छ । आरोग्यबल बढ्नेछ ।
मीन – दीगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । तथापि, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । विशेष ठानेर गरिएको कार्यमा सोचेको लाभ नमिल्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आरोग्यबल बढ्नेछ ।
प्रतिक्रिया