- क्षितिज विक्रम खनाल, अबुधावी (युएई)
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी र दूतावासका सुधारात्मक प्रयासबारे दूतावासको धारणा अघिसारेका छन् ।
राजदूत क्षेत्रीका अनुसार युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार र विद्यार्थी भिसामा कडाइ गरेको कारणमध्ये नेपालमा जेन्जी आन्दोलनपश्चात उत्पन्न राजनीतिक जटिल परिस्थिति पनि हो । उनी भन्छन्, ‘युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडि बढिरहेको देश हो । नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदीबन्दी तथा अपराधी बाहिरिएका छन् । ती कैदीहरूलाई पुनः नियन्त्रणमा नल्याएसम्म युएईजस्ता देशहरूले भिषामा कडाइ हुनसक्ने देखिन्छ ।’
युएई सरकारले भिषा कडाइ गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासलाई प्राप्त नभएको स्पष्ट पार्दै राजदूत क्षेत्रीले देशको सुरक्षाको दृष्टिले यस किसिमका उपाय तथा सावधानीहरू अपनाउन लिइएको कदम हुनसक्ने बताए । नेपालमा शान्ति र अमनचयन तथा स्थिरता र विश्वसनीय वातावरण हुनासाथ भिसानीतिमा फेरि सहजता हुने विश्वास उनले प्रकट गरे । युएईमा रहेका नेपालीहरू मेहनती, ईमान्दारी, लगनशिल, सरल,शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको पनि उनले बताए ।
युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगी र मानव बेचबिखनका घटनाबारे उनले गम्भीर चिन्ता व्यक्त गरे । भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपालीमाथि ठगी गर्ने क्रम बढेको राजदूत क्षेत्रीको भनाइ छ। ‘हाम्रो दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन्। यस्ता अपराध गम्भीर प्रकृतिका हुन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ। प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ’, उनले भने।
नेपाली नागरिकहरूलाई सचेत गराउदै उनले भने, ‘युएई रोजगारीमा आउँदा सरकारबाट मान्यताप्राप्त एजेन्सीमार्फत मात्र आउनु र सरकारले तोकेको रकम मात्र बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नुपर्छ । यसले कानुनी प्रक्रिया अघि बढाउन सजिलो हुन्छ ।’ युएईमा नेपालीहरूको संख्या ७ लाख भन्दा बढी भएकाले विभिन्न ठगी मानव बेचविखन तथा अपराधिक घटनाहरू तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्य देशले अपनाएका सुरक्षा प्रणाली जस्तै दूतावास मातहतमा यस्ता ठगी र अपराधिक गतिविधिमा संलग्नलाई आवश्यक कारवाही तथा नियन्त्रण गर्न मद्दत पुर्याउने संयन्त्र आवश्यक देखिएको उनले औंल्याए ।
दूतावासका सेवा सुधारबारे जानकारी दिँदै राजदूत क्षेत्रीले राहदानी, भीषा, एनओसी र अन्य कन्सुलरसम्बन्धी कामलाई छिटो, छरितो तथा प्रभावकारी सेवा प्रवाह गर्न अधिकतम प्रयास भइरहेको बताए । ‘आपतकालीन अवस्थाहरू- मृत्यु, दुर्घटना वा अस्पताल उपचारत बिरामीलाई तत्काल राहत, उद्धार तथा सहयोग तथा सहजिकरण गर्न दूतावासले गैरआवासीय नेपाली संघ तथा अन्य नेपाली संघसंस्थाहरूसंग सहकार्य गर्ने प्रणाली बनाएका छौं’, उनले स्पष्ट पारे ।
उहाँका अनुसार युएईका विभिन्न सहरहरूमा मोबाइल राहदानी, कन्सुलर तथा श्रमिक सचेतना शिविर सञ्चालन गरिएको तथा थप स्थानहरूमा गर्ने तयारी पनि भइरहेको छ, जसले नेपाली समुदायलाई दूतावासका सेवामा सजिलो पहुँच दिलाउनेछ । साथै, नेपालीबीच एकता, सांस्कृतिक पहिचान र सहकार्य सुदृढ गर्न नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइँदैछ ।
द्विपक्षीय सम्बन्धका विषयमा राजदूत क्षेत्रीले भने, ‘नेपाल-युएई सम्बन्धलाई अझ प्रगाढ बनाउन ब्यापार, पर्यटन, श्रम, शिक्षा र लगानीका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। हामी चाहन्छौं कि नेपालीहरू सुरक्षित र कानुनी माध्यमबाट यहाँ रोजगारमा आउन् ।’ राजदूत क्षेत्रीका अनुसार ओभरस्टे वा कानुनी समस्यामा परेका नेपालीका हकहितमा दूतावासले निरन्तर सक्दो सहयोग गर्दै आएको छ।
प्रतिक्रिया