चिनियाँ प्रधानमन्त्री ली किआङले किन गर्दैछन् उत्तर कोरियाको भ्रमण ?

चिनियाँ प्रधानमन्त्री ली किआङले किन गर्दैछन् उत्तर कोरियाको भ्रमण ?


चिनियाँ प्रधानमन्त्री ली किआङ आगामी बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्दैछन् । यो सन् २०१९ पछि कुनै चिनियाँ नेताद्वारा हुने पहिलो उच्चस्तरीय भ्रमण हो ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री लीले उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सव समारोहमा भाग लिन सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । चीन र उत्तर कोरिया बीचको यो भेटलाई दुवै देशबीचको ‘परम्परागत मित्रता र घनिष्ठ सहयोगको निरन्तरता’ का रूपमा हेरिएको छ ।

चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख सहयोगी र आर्थिक सहारा रहँदै आएको छ । तर हालका वर्षहरूमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँग सम्बन्ध सुदृढ गर्दै मस्कोलाई युक्रेन युद्धमा सहयोगका सङ्केत देखाएका छन् । उत्तर कोरियाको सरकारी एजेन्सी केसिएनएका अनुसार रुसले यस वार्षिकोत्सव समारोहमा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवलाई पठाउँदैछ ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन र उत्तर कोरियाको सम्बन्धलाई ‘अटल रणनीतिक नीति अन्तर्गत कायम, सुदृढ र विकास गर्नेतर्फ केन्द्रित’ रहेको उल्लेख गरिएको छ ।

ली किआङ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सात शीर्ष नेतामध्ये एक हुन् । उनी प्रधानमन्त्रीका रूपमा राष्ट्रपति सी जिनपिङपछि दोस्रो उच्च पदस्थ नेता मानिन्छन् । ७२ वर्षीय राष्ट्रपति सीले आफ्नो यात्रा तालिका सीमित गरेकाले हालका महिनाहरूमा उनले चीनको तर्फबाट विदेशी भ्रमणहरूमा सक्रिय प्रतिनिधित्व गरेका छन् ।

सी जिनपिङको उत्तर कोरियाको अन्तिम भ्रमण सन् २०१९ मा कोभिड–१९ महामारी अघि भएको थियो । यसपटक चीनका साथै भियतनाम र लाओसका शीर्ष नेताहरू पनि समारोहमा सहभागी हुने भएका छन् ।

भियतनामका कम्युनिष्ट पार्टी महासचिव तथा राष्ट्रप्रमुख टो लामले पनि उत्तर कोरियाको वार्षिकोत्सव समारोहमा भाग लिन यात्रा गर्ने घोषणा गरेका छन् । सन् २००७ पछि कुनै भियतनामी नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ । त्यस्तै, लाओसका राष्ट्रपति तथा पार्टी महासचिव थोङ्लोन सिसोलिथ पनि कार्यक्रममा सहभागी हुनेछन् ।

गत वर्षदेखि चीन र उत्तर कोरियाबीचको उच्चस्तरीय सम्पर्क पुनः तीव्र बनेको छ । पोलिटब्युरो स्थायी समितिका अर्का सदस्य झाओ लेजीले यसै वर्षको अप्रिलमा प्योङयाङ भ्रमण गरी नेता किम जोङ उनसँग भेट गरेका थिए। त्यसपछि गत महिना किम जोङ उनले बेइजिङमा आयोजित चिनियाँ सैन्य परेडमा भाग लिँदा राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्य नेताहरूसँग पनि भेटघाट गरेका थिए ।

यस भ्रमणमार्फत चीनले उत्तर कोरियासँगको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ गर्दै क्षेत्रीय कूटनीतिमा आफ्नो प्रभाव पुनः बलियो बनाउन खोजेको विश्लेषकहरूको धारणा छ ।