पैदलबाट साइकल, साइकलबाट मोटरसाइकल हुँदै पजेरो चढ्ने हैसियतमा पुग्नुभएका अनि काङ्ग्रेसलाई नगदेबाली बनाउन खप्पिस तिम्रा ‘दाइ’ले तिम्रो उधारो आश्वासन दरपीठ गर्दिनु’भो, अनि नगदको पोको बोकेर ढोकामा उभिएको बनियाँका लागि रातो कार्पेट ओछ्याइदिनु’भो ! समयले कांग्रेसको नेता बनाइदिएको तर ब्यवहारमा कहिल्यै कांग्रेस हुन नसकेका तिम्रा ‘दाइ’लाई बीपीका थोत्रा आदर्शसँग के मतलब ?
✍ ज्ञानमणि भुर्तेल

‘तँ किन लेख्दैनस् ?’
‘खोइ तेरो लेख ?’
‘रामेशले समेत मुलुक छोड्ने दिन आइसक्यो ! तपाईं किन चुप ? केही त लेख्नुस् !!’
यसरी घच्घच्याउनेहरू त कति-कति ?
सबैभन्दा खतरनाक चैं भाइ दीपक पौडेलको थियो- ‘दाजु ! तपाईंलाई मैले उर्दी जारी गरेँ, राष्ट्रिय खोरेत र राष्ट्रिय भाउजुले अति गर्न थाले, रामेश जस्तो डाक्टरले समेत मुलुक छोड्यो ! मेरो त इँटाभट्टामा पौडी खेल्दादेखि खाप खोज्न गलगलिया पुग्दासम्मको साथी हो ! मेरो त मनै रोयो दाजु ! उ त टिकेन भने तपाईं-हाम्रो हालत के हुने हो ? दह्रो ठोक्नुस् त !’
अरुको भन्दा दीपकको उर्दीले चैं मेरो हड्डी हाँस्यो ! कत्रो भ्रम ? मैले लेख्दा के-के न हुन्छ ! लाग्छ- मेरो छुचुन्द्रे लेखाइले खोरेत तर्सिन्छन् ! मुलुक रामराज्य नै बन्छ !
कति लेख्नु ? कति घोच्नु ? के मात्र लेख्नु ? लेख्नुको तुक के ? लेखाइको अर्थ के ? परिणाम के ?
बीपी भन्नुहुन्थ्यो- पञ्चायत मरेको घोडा हो ! म यसलाई चावुक हान्दिनँ ! यिनीहरू त मरेका गधा हुन् जसलाई जति घोचेपनि कुनै असर पर्दैन ! सँगसँगै उहाँ भन्नुहुन्थ्यो- नेताको गलत क्रियाकलाप टुलुटुलु हेरेर बस्ने कार्यकर्ता होइनन्, दास हुन् !
म दास होइन, त्यसैले लेख्छु । निरन्तर लेख्छु । कसैले सुनोस् या नसुनोस् ! कसैले बुझोस या नबुझोस् ! लेख्न छोड्दिनँ ! खोला सुसाएको कसैले नसुनेपनि बगरले सुन्छ ! बगरकै लागि भएपनि लेख्छु !!
मूल कुरो – डाक्टर रामेशले मुलुक छोड्यो !
उसलाई राष्ट्रिय खोरेतले पत्याएन ! किशानपुत्री पिछडावर्ग द्रब्यपिचास राष्ट्रिय भाउजुले पत्याउने कुरै भएन ! उहाँ काङ्ग्रेसभित्रको नगदे किशान हो ! स्थानीय शकुनी खोरेतले यसपटक पनि पत्याएनन् ! रामेशलाई नपत्याउनेको लामो लर्को छ ! रामेशका बारेमा लेख्नुभन्दा अघि मैले देखेको फुच्चे ‘रामेश्वर’बाटै सुरु गर्न मनलाग्यो !
०२५ सालमा कान्छो छोराको रूपमा जन्मिदा सुब्बा तर्कराज र दुर्गादेवी कोइरालाले समेत पत्याउनुभएन ! जब बच्चोले च्याँ गऱ्यो अनि पत्याउनु भो ! ०२९ सालमा झापा आएर ‘तानाशाह’ राजा महेन्द्रले स्थापना गरेको बालमन्दिर पढ्न जाँदासमेत लिखुरे रामेश्वरलाई कसैले पत्याएका थिएनन् होला ! बालिका स्कुलबाट ६ कक्षा सकेर ७ पढ्न वीरेन्द्र मावि पुग्दा डिल्लीप्रसाद भट्टराई (हेडसर)ले समेत पत्याउनुभएन ! चन्द्रगढी स्कुलबाट सेकेन्ड डिभिजनमा एसएलसी पास गर्दा स्वयं सुब्बा साहेबले समेत पत्याउनुभएन ! गोरखापत्रमा नम्बर देखाएपछि थोरै पत्याएझैँ गरेर मार्कसिट देखाएपछि मात्रै पूरै पत्याएको याद छ कि छैन ?
कक्षाकोठाको लास्टबेन्चमा बसेर किताबको बीचमा प्रेम बाजपेयी, गुलसन नन्दा अनि प्रकाश कोविदका प्रेमिल उपन्यासमा मग्न तिमीलाई आफ्नै दौँतरीले समेत पत्याएका थिएनन् ! ती उपन्यासको प्रभाव आमाको मुटु÷कोपिला आश्रम अनि चार्ल्स शोभराज बारेको बिकिनी किलरमा देखिएपछि म लगायत धेरैलाई पत्याउन कर लागेको हो ! मेची क्याम्पसमा कमर्स पढ्दा पनि कसैले पत्याएनन् ! मेची क्याम्पस छोडेर साइन्स पढ्न काठमाडौं पुग्दा त्यहाँ पनि पत्याउने कोही भेटिएन !
नपत्याउने क्रम सधैं रहँदैन । आईएसी सकेपछि जसका विरुद्ध बच्चैदेखि ‘पञ्चायती तानाशाही मुर्दावाद’ चिच्याउँदै आएका थियौ उही तानाशाही ब्यवस्थाले तिमिलाई पत्याइदियो अनि छात्रवृत्तिमा डाक्टर पढ्न रुस पठायो ! डाक्टर रामेश भएर त फर्कियौ नि, तर के गर्नु ? टिचिङ्गको गेटपालेले पत्याएन ! ‘यस्ता लिखुरे पनि डाक्टर हुन्छन् ?’ भनेझैँ गरेर हेऱ्यो.. छिर्नै दिएन ! कार्ड देखाएपछि बल्ल पत्याएको कुरो तिमीले पुष्कर मामालाई खुसुक्क सेयर गरेको कुरो मैले पनि खुसुक्कै थाहा पाएको हो !
टिचिङ्गपछि पाटन अस्पताल हुँदै गंगालाल भित्रियौ ! जुन संस्थामा पस्यौ जता बस्यौ संस्थाको हितमा लाग्यौ ! पेशागत मर्यादामा रह्यौ । क्षमता र निष्ठाले तिमीलाई बिस्तारै ‘रामेश्वर’बाट ‘रामेश’ बनाउँदै लग्यो ! एकबाट दुई, दुईबाट चार हुँदै सय हजार हुनु गणितको नियम भएझैँ मानवीय स्वभावको पनि नियम हुन्छ जसले उचाई चुम्ने आकाङ्क्षा राख्दछ । मानवीय स्वभाव पछ्याउँदै तिमीले पनि गंगालालको डाइरेक्टर हुने ख्वाब राख्नु अनुचित थिएन ! तिमी जस्तो खस्रोलाई कसले पत्याउने ? अर्कै चिप्लेले चिप्ल्यायो !
कुत्ता भोके हजार हाथी चले बजार… भनेझैँ तिमी निरन्तर आफ्नो पेशागत यात्रामा निष्ठापूर्वक लागिरह्यौ । पहिलोपटक गगन मन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय पसेपछि तिमी पनि मन्त्रालय सुधारको समुहभित्र बसेर सुधारका धेरै योजना बुन्यौ, जसमध्ये स्वास्थ्यबिमा प्रमुख हो ! तिमीले कर्ममा ध्यान दियौ प्रचारमा लागेनौ !!
त्यही समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसीको चर्चा चल्दा मजाकमा ‘कि मैं गइदिउँ त हौ’ भन्ने तिम्रो मजाकिया इच्छाले गम्भीर रूप लियो ! सही स्थान सही ब्यक्ति भन्ने मन्त्रीको सोचमात्र पर्याप्त थिएन, त्यसका लागि मन्त्रीका धर्मपिता अहिलेका ‘राष्ट्रिय आवश्यकता’ तिम्रा-हाम्रा परम आदरणीय छिमेकी दाइको आशीर्वाद जरुरी थियोे ! कहिलेकाहीँ इच्छा नराख्दानराख्दै पनि मजाकमा राखिएको इच्छाले महत्वाकांक्षी बनाउँदोरहेछ भन्ने उदाहरण तिमी बन्न पुग्यौ ! ‘दाइ’ भेट्न गृहनगर झापा पुगेर बन्द कोठाभित्र संस्था सुधारका योजना सुनायौ अनि उधारो आश्वासन दियौ ! इमानदार सोझो सुब्बाको छोराले बाउ-बाजेबाट प्राप्त निष्ठाको पोको ‘दाइ’समक्ष खोल्दियौ ! आफूसँग जे थियो त्यै दिने त हो नि !
यहीँनेर तिमीले मात खायौ ! पैदलबाट साइकल, साइकलबाट मोटरसाइकल हुँदै पजेरो चढ्ने हैसियतमा पुग्नुभएका अनि काङ्ग्रेसलाई नगदेबाली बनाउन खप्पिस तिम्रा ‘दाइ’ले तिम्रो उधारो आश्वासन दरपीठ गर्दिनु’भो, अनि नगदको पोको बोकेर ढोकामा उभिएको बनियाँका लागि रातो कार्पेट ओछ्याइदिनु’भो ! समयले कांग्रेसको नेता बनाइदिएको तर ब्यवहारमा कहिल्यै कांग्रेस हुन नसकेका तिम्रा ‘दाइ’लाई बीपीका थोत्रा आदर्शसँग के मतलब ? तिमी चारोखाने चित !!
अब तिम्रो चेत खुल्यो ! यो चेत सँगसँगै एउटा रमाइलो प्रसंग स्मरण भो – काठमाडौंको कुनै एउटा विवाह पार्टीमा तिमीले मलाई हप्काएका थियौ – ‘यो मामा ‘दाइ’को बारेमा जे पायो त्यै लेख्नुहुन्छ ! नव दाजु पनि त्यस्तै ! उसैका गाउँमा बस्नुछ ! उसैका विरुद्ध लेखेर हुन्छ ? नलेख्नुस् मामा !!’
तिमीले दुई पेग लाएको थियौ होला मैले चार भ्याइसकेको थिएँ ! ‘भद्रपुर कसरी उसको गाउँ हो ? उ त हिजोअस्ति आठराईबाट झापा झरेको मान्छे हो ! त्यो गाउँ त तिम्रा हजुरबुबा पुण्यप्रसाद कोइरालाको हो ! मेरा हजुरबुबा पुर्णप्रसाद भुर्तेलको हो, जसले भद्रपुर नगर बसाउन रगत-पसिना बगाएका छन् ! तिम्रा दाइलाई बिस्तारै चिन्दै जान्छौ ! मैले त चप्पल पड्काउँदादेखि सहयोग गरेको र चिनेको अनि भोगेको हो ! मेरो चारपेगे हप्काइपछि तिमी जिल्ल परेको याद छ ?
डाक्टर रामेश !
तिम्रो हाम्रो दुर्भाग्य – जसलाई हामीले कामधेनु गाई ठानेर दुधको आशामा बाल्टी थापेर टाङमुनी बस्यौं उ नै असनका साँढे निस्के अनि हामीलाई नै लात हाने !
बीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा गएर संस्था सुधार गर्ने चाहना यसपटक पनि सफल भएन ! दुर्गा प्रसाईंको शब्द सापटी लिने हो भने ‘डडेल्धुरामा उत्तिसको फेद समातेर टट्टी गर्ने’ राष्ट्रिय खोरेतले यसपटक पनि पत्याएन ! तिमी प्रजातन्त्र पुनःस्थापना खातिर चिच्याउँदै गर्दा विदेशी भूमिमा बियरको चुस्कीमा डिस्कोमा बुट बजार्ने किशानपुत्री पिछडावर्ग द्रव्यपिचास महिलाले त झनै पत्याउने कुरै भएन !
खैर ! यी खोरेतहरूले तिमीलाई नपत्याएपनि हजारौं पत्याउनेको जमात पनि त छ ! हजारौं मुटुले तिमीलाई पत्याएको छ ! हजारौं मुटुले तिमीलाई खोजेको छ । तिमी विदेश भासिएको सुन्दा हजारौं मुटु रोएका छन् ! बिर्तामोडनिवासी गणेश खनाल तिम्रो पलायनबाट चिन्तित हुँदै बेला-बेला भन्नुहुन्छ- मेरो भगवान् अमेरिका पुगेछ ! अब कहिले भेट होला ? अप्रेसनपछि तिमीले दिएको १० वर्षको समयसीमा काटेर ७ वर्ष फाउको जीवन जिउँदै हुनुहुन्छ ! तिम्रो दर्शनका लागि छट्पटाइरहनुभएको छ ! यसरी छट्पटिने यस मुलुकमा हजारौं छन् !
तिमी अमेरिका बसौला ! डलरले सम्पुर्ण भौतिक सुविधा किनौला तर संसारको कुनै कुनामा पैसाले किन्न नपाउने कुराले तिमीलाई भद्रपुरमा पर्खिरहेको छ ! तिम्रा बचपनका सैकडौं यादले तिमीलाई खोजिरहेको छ !
अमेरिकामा तिमीले बच्चामा फन्को मारेको जङ्गे पिल्लर छैन ! हडिया किनारको काँचा आँप चोरेको जयनारायणको बगान पनि त्यहाँ छैन ! सगरमाथा चोकको सुगन्ध पक्कै पनि त्यहाँ पाइन्न नै ! मोजामा कागज कोचरेर गोपाल घिमिरेको घरअगाडिको चौरमा फुटबल खेल्ने दौँतरी पनि त्यहाँ भेटिने छैनन् ! इँटाभट्टामा पौडी खेल्ने, पद्म चित्रमन्दिरको गान्धी क्लासमा सिनेमा हेर्ने बालसखा त्यहाँ भेटिएलान् त ? मेची क्याम्पसको घाँसेमैदान पनि त्यहाँ भेटिन्न ! बच्चामा पौडी खेलेको हडिया खोला पनि त्यहाँ भेटिन्न ! याद गर त.. यस्ता हजारौं याद यहीँ छन् जो अन्यत्र पाइन्न !
तिम्रा हजुरबुबाले बसाएको सुन्दर नगरी भद्रपुरको सुगन्ध जति नै डलर फ्याँकेपनि त्यहाँ किन्न पाइन्न ! अब मुलुकले कोल्टे फेर्ला जस्तो आभास हुँदैछ ! राष्ट्रिय खोरेत, राष्ट्रिय भाउजू, स्थानीय खोरेत, राष्ट्रिय आवश्यकता सबैका बङ्गारा खुस्किसकेका छन् ! नङ्ग्रा खिइसकेका छन् ! धेर-थोर तुजुकको राँको अब बिस्तारै निभ्ने क्रममा छ ! किराले हिरा नचिने पनि समयले चिन्ने रहेछ भन्ने ज्वलन्त उदाहरण महावीर पुन देखिएका छन् ! सर्त- निष्ठा बेचेर खानुहुन्न !
यी खोरेतले तिमीलाई चिनेनन्, खोजेनन् भनेर गुनासो गरेर पिठ्युँ फर्काएर हिँड्ने होइन ! तिमीलाई मुलुकले चिनेको छ ! मुलुकले खोजेको छ ! हजारौं मुटुले तिमीलाई खोजेको छ !
सबैभन्दा मुल कुरो – भद्रपुरमा ‘आमा’ पदवीधारक अमुल्य रत्न ८६ वर्षिया दुर्गादेवी कोइरालाले तिमीलाई पर्खिरहनु भएको छ !
डाक्टर रामेश ! तिमी फर्की आउ ! यो मुलुक यी खोरेतको बाउको बिर्ता होइन ! तिम्रो-हाम्रो हो !!
प्रतिक्रिया