रुसको ‘ठूलो आक्रमण’ पछि किएभ अन्धकारमा, पानी र बिजुली आपूर्ति बन्द

रुसको ‘ठूलो आक्रमण’ पछि किएभ अन्धकारमा, पानी र बिजुली आपूर्ति बन्द


युक्रेनको राजधानी किएभ शुक्रबार (१० अक्टोबर) बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ । उक्त आक्रमणका कारण शहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको युक्रेनी वायु सेनाले जनाएको छ । सेनाले यस आक्रमणलाई ‘ठूलो हमला’ भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

क्रेमलिनले हालका हप्ताहरूमा युक्रेनका ऊर्जा पूर्वाधार र रेल प्रणालीहरूलाई निरन्तर निशाना बनाइरहेको छ, जसले अघिल्ला तीन जाडोयाममा भएका समान आक्रमणहरूको पुनरावृत्ति झल्काएको छ । ती अभियानहरूले युक्रेनी नागरिकहरूलाई चिसो मौसममा तताउने साधनविहीन बनाएको थियो ।

‘राजधानी अहिले शत्रुको ब्यालेस्टिक मिसाइल र आक्रमणकारी ड्रोनहरूको ठूलो हमलाको अधीनमा छ’, वायु सेनाले विज्ञप्तिमा उल्लेख गर्दै जनतालाई तत्काल आश्रय लिन आग्रह गरेको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार रुसी सेनाले ‘महत्त्वपूर्ण पूर्वाधार’मा लक्षित गरेको छ । प्रारम्भिक रिपोर्टअनुसार कम्तीमा नौ जना घाइते भएका छन्, जसमा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ । ‘राजधानीको लेफ्ट बैंक बिजुलीविहीन भएको छ, पानी आपूर्तिमा पनि समस्या आएको छ’, उनले टेलिग्राममार्फत जानकारी दिए ।

युक्रेनी ऊर्जामन्त्री स्विटलाना ग्रिन्चुकले पनि आक्रमणलाई ‘ग्रिडमाथि गरिएको ठूलो हमला’ भन्दै ऊर्जा क्षेत्रका प्राविधिकहरू नकारात्मक प्रभाव घटाउन निरन्तर प्रयासरत रहेको बताए । उनका अनुसार सुरक्षा अवस्थाले अनुमति दिए लगत्तै, क्षतिको मूल्याङ्कन र मर्मत कार्य सुरु गरिनेछ ।

रुसले हाइपरसोनिक ‘किन्जाल’ मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएकाले युक्रेनले शुक्रबार देशव्यापी सतर्कता जारी गरेको छ । उक्त मिसाइल पत्ता लगाउन र रोक्न अत्यन्त कठिन मानिन्छ ।

दक्षिणपूर्वी जापोरिझिया क्षेत्रमा पनि रुसले सात रात लगातार ड्रोन आक्रमण गरेको बताइएको छ । यस आक्रमणमा सात वर्षीय बालकको मृत्यु र कम्तीमा तीन जना घाइते भएको स्थानीय प्रशासनका प्रमुख इभान फेडोरोभले जानकारी दिएका छन् ।

युक्रेनले पनि हालका महिनाहरूमा रुसभित्रका ऊर्जा र सैन्य लक्ष्यहरूमा ड्रोन र मिसाइल आक्रमणहरू बढाएको छ । जेलेन्स्कीका अनुसार यस्ता प्रतिआक्रमणहरूले ‘परिणाम देखाउन थालेका छन्’ र रुसमा इन्धनको मूल्य बढ्न थालेको छ ।

यसैबीच रुसको सीमा नजिक बेलगोरोडमा रहेको पावर स्टेशनमा युक्रेनी आक्रमणपछि बिजुली सेवा अवरुद्ध भएको बताइएको छ । रुसले युक्रेनमाथि फ्रन्टलाइन नजिकै रहेको अमोनिया पाइपलाइन फुटाएर विषाक्त ग्यास फ्याँकेको आरोप लगाएको छ । उक्त घटनाको भिडियोमा जमिनबाट रासायनिक धुवाँ निस्किरहेको देखिन्छ तर युक्रेनी अधिकारीहरूले त्यसले स्थानीय जनजीवनमा कुनै खतरा नपरेको बताएका छन् ।

लगातारका ड्रोन आक्रमणहरूका कारण युक्रेनी सरकारले पूर्वी डोनेट्स्क क्षेत्रको क्रामटोरस्क सहरबाट बालबालिका र अभिभावकहरूलाई निकासी गर्न आदेश दिएको छ ।