फुटबलमा प्रतिस्पर्धा, सनसनी र सुनामी

फुटबलमा प्रतिस्पर्धा, सनसनी र सुनामी


युरोकप २०१२छ्यासिकोटलाई तेक्वान्दो टिम उपाधि
प्रथम छ्यासिकोट इन्डो–नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिताको उपाधि नेपालको छ्यासिकोट तेक्वान्दो डोजाङ ‘ए’ले जितेको छ । आयोजकसमेत रहेको छ्यासिकोटले चार स्वर्ण, तीन रजत र ६ कास्य जित्दै उपाधि उचालेको थियो । चार स्वर्ण, तीन रजत र पाँच कास्य जितेको भारतको रायन इन्टरनेसनल स्कुल दोस्रो भएको थियो भने विशंखु तेक्वान्दो डोजाङले तीन स्वर्ण, एक रजत र एक कास्य जित्दै तेस्रो स्थान हात पारेको थियो । प्रतियोगिताको सिनियरतर्फ पुरुषमा नखिपोट तेक्वान्दो डोजाङका अमृत थापा तथा महिलामा आयोजक ‘ए’की रेश्मा थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए । जुनियरको पुरुषमा स्युचाटार तेक्वान्दो डोजाङका सन्तोष भित्रकोटी तथा महिलामा अनलज्योति स्कुलकी इच्छा राई उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई पीएलए स्पोर्टस् क्लबका अध्यक्ष सन्तकुमार दराई, नेपाल तेक्वान्दो सङ्घका सदस्य एवम् वरिष्ठ प्रशिक्षक अर्जुन विकलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रत्येक चार वर्षको अन्तरालमा आयोजना हुने युरोपियन च्याम्पियनसिप अर्थात् ‘युरोकप’को चौधौँ संस्करण आगामी जेठ २६ देखि असार १७ गतेसम्म सञ्चालन हुँदै छ । पोल्याण्ड र युक्रेनले संयुक्त रूपमा आयोजना गर्ने युरोकपमा युरोपका १६ राष्ट्रहरूको सहभागिता रहेको छ । विश्वकप फुटबलपछिको सबैभन्दा चर्चित प्रतियोगिताको रूपमा रहेको यो प्रतियोगितामा अब कस्ले बाजी मार्ला त्यो प्रतीक्षाको विषय बनेको छ । अड्कल र अनुमान लगाउनेहरूलाई गलत सावित गर्दै आएको युरोकपले यसपटक पनि नयाँ अनुहारलाई विजयी बनायो भने अन्यथा मान्नुपर्ने छैन ।
सन १९६० देखि शुभारम्भ भएको युरोकपको उपाधि अहिलेसम्म नौ राष्ट्रहरूले उचालिसकेका छन् । जसमा जर्मनीले तीनपटक जितेर ह्याट्रिक गरिसकेको छ भने स्पेन र फ्रान्सले दुई–दुईपटक जित्न सफल भइसकेका छन् । सन् १९७६ मा चेकोस्लोभाकिया, सन् १९९२ मा डेनमार्क र सन् २००४ मा ग्रिसले युरोकपको उपाधि जितेर विश्व फुटबल जगत्मा सनसनी फैलाएका थिए । उनीहरूको योे जितलाई युरोकपमा अपत्यारिलो, अविश्वसनीय र दुर्लभ रूपमा लिइन्छ । यी राष्ट्रहरूले फुटबलप्रेमी र विज्ञहरूलाई गलत सावित गर्दै युरोकपको उपाधि उचाल्न सफल भएका थिए । युरोकपको शुभारम्भदेखि हालसम्म दाबेदार मानिएको इंग्ल्यान्डले भने अहिलेसम्म उपाधि चुम्ने सौभाग्य पाएको छैन । यसपटक पनि इंग्ल्यान्डलाई प्रमुख दाबेदार मानिएको छ ।
राजनीतिक सरगर्मीले नेपालमा युरोकप ओझेलमा परे पनि विश्व जगत्लाई भने यसले आफ्नो रौनकमा ढपक्कै ढाक्न सफल भएको छ । युरोकपको सञ्चालन हुन केही दिन मात्रै बाँकी रहेको अवस्थामा युरोकपको तातो हावाले सबैलाई स्पर्श गरिसकेको छ । के खेलाडी, के खेलप्रेमी अहिले सबै युरोकपको प्रतीक्षामा बसेका छन् । कोही आफ्नो झिटिगुन्टा कसेर पोल्यान्ड र युक्रेनको भ्रमणको तयारीमा जुटेका छन् । आफ्नो राष्ट्रलाई समर्थन गर्न उनीहरूले एकमहिने बिदा सदर गराइसकेका छन् ।
युरोकपको १४औँ संस्करणमा १६ राष्ट्र अन्तिम छनोटमा परेका छन् । यी राष्ट्रहरूलाई चार समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’मा पोल्यान्ड, ग्रिस, रसिया र चेक गणतन्त्र परेका छन् । त्यस्तै समूह ‘बी’मा नेदरल्यान्ड, जर्मनी, डेनमार्क र पोर्चुगल रहेका छन् । यसैगरी समूह ‘सी’मा स्पेन, इटाली, आयरल्यान्ड र क्रोएसिया छन् भने समूह ‘डी’मा युक्रेन, स्वीडेन, फ्रान्स र इंग्ल्यान्ड रहेका छन् । प्रतियोगितामा कुल ३१ खेल हुनेछन् । जसमा पोल्यान्डका चार र युक्रेनका चार गरी जम्मा आठ सहरमा प्रतियोगिताको आयोजना गरिनेछ ।
युरोकपको संयुक्त रूपमा आयोजना गर्ने तेस्रो संयुक्त देशका रूपमा रहेका यी राष्ट्रको यो पहिलो युरोकपको आयोजना हो । यसभन्दा अघि सन् २००० मा बेल्जियम र नेदरल्यान्ड तथा सन् २००८ को अस्ट्रिया र स्वीटजरल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए ।
पोल्यान्डमा युरोकपको आयोजना वार्सा, ड्यन्जिक, रोक्ल र पोजनान र युक्रेनको किभ, डोनेस्टक, खार्केभ र लिभिभमा सहरमा हुनेछ । जसको तयारी पूर्णरूपले भएको आयोजकले बताएका छन् ।
अहिले युरोकप २०१२ लाई सफलताको मूर्तरूप दिन दुवै आयोजक राष्ट्र ज्यान छोडेर लागेका छन । युरोकपको भव्यतालाई कायमै राख्न दिनरात एउटै बनाएका छन् । विश्वकप फुटबलपछिको सबैभन्दा भव्य मानिने यो प्रतियोगिता युरोपेली राष्ट्रहरूबीच मात्र आयोजना हुने भए पनि विश्वस्तरीय खेलाडी र प्राय: विश्वकपमा प्रतिस्पर्धा गर्ने राष्ट्रहरूका बीचमा प्रतिस्पर्धा हुने भएकोले युरोकपलाई विश्वभरि निकै महत्वका साथ हेरिन्छ । युरोपियन शैलीको उत्कृष्टता, निकै सनसनीपूर्ण र प्रतिस्पर्धात्मक खेल देख्न पाइने भएकोले युरोकपलाई दोस्रो विश्वकपको पनि संज्ञा दिइएको छ । युरोपका क्लबहरूमा खारिएका व्यावसायिक खेलाडी र नवप्रतिभावान खेलाडीको सम्मिश्रणमा टोलीहरू प्रतिस्पर्धामा उत्रिने भएकाले युरोकप सधैं चर्चाको शिखरमा रहँदै आएको छ । उदीयमान खेलाडीको भविष्यको भाग्य कोर्ने प्रतियोगितामा रहेको युरोकपले जहिले पनि नयाँनयाँ हिरो जन्माउँदै आएको छ । यसपटक कति हिरो जन्मिन्छन् त्यो हेर्न लायक हुनेछ ।
युरोकप २०१२ को उद्घाटन पोल्यान्डको वार्सा सहरको नेसनल रंगशालामा र समापन युक्रेनको किभ सहरको ओलम्पिक रंगशालामा हुनेछ । नेसनल रंगशालाको क्षमता ६० हजार र ओलम्पिक रंगशालको क्षमता ७० हजार रहेको छ । युरोकपकै लागि निर्माण भएको नेसनल रंगशालामा समूह ‘ए’का लिग चरणका तीन र एउटा क्वाटरफाइनल र एउटा सेमिफाइनल गरी पाँचवटा खेलको आयोजना हुनेछ । त्यसैगरी ओलम्पिक रंगशालामा समूह ‘डी’का लिग चरणका तीन र क्वाटरफाइनल र फाइनल खेलको आयोजना हुनेछ । युरोकप २०१२ को सबैभन्दा बढी दर्शकक्षमता भएको रंगशाला पनि यही हो । आफ्नो ५२ वर्षको इतिहासमा उत्कृष्ट खेलको आयोजना गर्दै आएको युरोकपको यो संस्करण पनि उत्कृष्ट हुने विश्वास लिइएको छ ।
युरोकप २०१२ को उद्घाटन खेल आयोजक राष्ट्र पोल्यान्ड र ग्रिसबीच हुनेछ । नेपाली समयअनुसार उक्त खेल जेठ २६ गते राति १०:४५ बजे सञ्चालन हुनेछ । यसरी युरोकपको उद्घाटन खेलसँगै युरोपका धुरन्धर राष्ट्रहरू आफ्नो भाग्य अजमाउन तीन सातासम्म घम्साघम्सी गर्नेछन् । युरोकपको फाइनलमा ६ पटक पुगेर कीर्तिमान बनाएको र तीनपटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको जर्मनीलाई यो प्रतियोगिताको सबैभन्दा भाग्यमानी राष्ट्रको रूपमा लिइन्छ । युरोकपसँग जर्मनीको साइनो अन्य राष्ट्रभन्दा अलि प्रगाढ भएकोले यसपटक पनि जर्मनीलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । त्यस्तै, स्पेन र फ्रान्सले पनि यो उपाधि दुईपटक आफ्नो झोलीमा हालिसकेकाले यी राष्ट्रहरूलाई पनि प्रमुख दाबेदारमै राखिएको छ । युरोकपको उपाधि एकपटक मात्र जित्न सफल इटाली र अहिलेसम्म जित्न नसकेको इंग्ल्यान्डलाई पनि प्रतियोगितामा कम आँकिएको छैन । यी फुटबलका बादशाहले जस्तोसुकै अवस्थामा पनि विपक्षी टिमलाई मात गर्नसक्ने हैसियत राख्ने भएकोले प्रतियोगिता निकै सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने कुरामा सायदै दुईमत होला ।
यसरी जेठ २६ गतेदेखि युरोपका उत्कृष्ट १६ राष्ट्रबीच काँटाको टक्कर हुने प्राय: निश्चित छ । युरोकपमा अन्तिम छनोट भएका राष्ट्रहरू युरोपकै उत्कृष्ट खेलाडीले सजिएका राष्ट्रहरू भएकाले कसले बाजी मार्ला त्यो अनुमान लगाउन अहिले निकै कठिन भएको छ । आयोजक राष्ट्रहरू पोल्यान्ड र युक्रेनले घरेलु मैदानको फाइदा उठाउने निश्चित छ भने पूर्वविजेता राष्ट्रले आफ्नो मानसम्मान प्रतिष्ठाअनुरूप प्रदर्शन गर्ने पनि पक्का छ । तसर्थ युरोकपको उपाधि अहिले प्रतिस्पर्धा गरिरहेका राष्ट्रहरूका लागि प्रमुख लक्ष्य बनेको छ । हेरौँ, निकै प्रतिस्पर्धा हुने युरोकपमा कसले बाजी मार्ला । सबै आ–आफ्नो राष्ट्र र आफूले समर्थन गरेको राष्ट्रलाई जिताउन प्रयत्नशील रहने भए पनि यसमा को कति सफल हुनेछन् त्यो समयले बताउनेछ । प्रतीक्षाको फल मीठो हुने भएकोले परिणामको प्रतीक्षा गर्नु नै बुद्धिमानी ठहरिनेछ ।

युरोकप २०१२ को खेल–तालिका
समूह ‘ए’
जेठ २६ गते पोल्यान्डविरुद्ध ग्रिस राति १०:४५ बजे
जेठ २७ गते रसियाविरुद्ध चेक गणतन्त्र राति १:३० बजे
जेठ ३० गते ग्रिसविरुद्ध चेक गणतन्त्र राति २२:४५ बजे
जेठ ३१ गते पोल्यान्डविरुद्ध रसिया राति १:३० बजे
असार ३ गते ग्रिसविरुद्ध रसिया राति १:३० बजे
असार ३ गत चेक गणतन्त्रविरुद्ध पोल्यान्ड राति १:३० बजे
समूह ‘बी’
जेठ २७ गते नेदरल्यान्डविरुद्ध डेनमार्क राति १०:४५ बजे
जेठ २८ गते जर्मनीविरुद्ध पोर्चुगल राति १:३० बजे
जेठ ३१ गते डेनमार्कविरुद्ध पोर्चुगल राति १०:४५ बजे
जेठ ३२ गते नेदरल्यान्डविरुद्ध जर्मनी राति १:३० बजे
जेठ ३२ गते नेदरल्यान्डविरुद्ध जर्मनी राति १:३० बजे
असार ४ गते नेदरल्यान्डविरुद्ध पोर्चुगल राति १:३० बजे
असार ४ गते डेनमार्कविरुद्ध जर्मनी राति १:३० बजे
समुह ‘सी’
जेठ २८ गते स्पेनविरुद्ध इटाली राति १०:४५ बजे
जेठ २९ गते आयरल्यान्डविरुद्ध क्रोएसिया राति १:३० बजे
जेठ ३२ गते इटालीविरुद्ध क्रोसिया राति १०:४५ बजे
असार १ गते स्पेनविरुद्ध आयरल्यान्ड राति १:३० बजे
असार ५ गते स्पेनविरुद्ध क्रोएसिया राति १:३० बजे
असार ५ गते इटालीविरुद्ध आयरल्यान्ड राति १:३० बजे
समूह ‘डी’
जेठ २९ गते फ्रान्सविरुद्ध इंग्ल्यान्ड राति १०:४५ बजे
जेठ ३० गते युक्रेनविरुद्ध स्वीडेन राति १:३० बजे
असार १ गते युक्रेनविरुद्ध फ्रान्स राति १०:४५ बजे
असार २ गते स्वीडेनविरुद्ध इंग्ल्यान्ड राति १:३० बजे
असार ६ गते स्वीडेनविरुद्ध फ्रान्स राति १:३० बजे
असार ६ गते इंग्ल्यान्डविरुद्ध युक्रेन राति १:३० बजे
क्वाटरफाइनल
असार ८ गते समूह ‘ए’को विजेताविरुद्ध समूह ‘बी’को उपविजेता राति १:३० बजे
असार ९ गते समूह ‘बी’को विजेताविरुद्ध समूह ‘ए’को उपविजेता राति १:३० बजे
असार १० गते समूह ‘सी’को विजेताविरुद्ध समूह ‘डी’को उपविजेता राति १:३० बजे
असार ११ गते समूह ‘डी’को विजेताविरुद्ध समूह ‘सी’को उपविजेता राति १:३० बजे
सेमिफाइनल
असार १४ गते पहिलो क्वाटरफाइनल विजेताविरुद्ध तेस्रो क्वाटरफाइनल विजेता
राति १:३० बजे
असार १५ गते दोस्रो क्वाटरफाइनलविजेताविरुद्ध चौथो क्वाटरफाइनल विजेता
राति १:३० बजे
फाइनल
असार १८ गते दुवै सेमिफाइनलका विजेताबीच राति १:३० बजे

ह्यान्डबलको अन्तर्राष्ट्रिय बैठक
दक्षिण मध्यएसियाली क्षेत्रका ह्यान्डबलमा कम विकसित राष्ट्रका प्रतिनिधिको उपस्थितिमा भएको अन्तर्राष्ट्रिय ह्यान्डबल महासङ्घ (एएचएफ) को बैठक हालै काठमाडौंमा सम्पन्न भएको छ । बैठकले नेपालका प्रशिक्षक, रेफ्री तथा शिक्षण संस्थाका खेलकुद शिक्षकलाई प्राविधिक हिसाबले दक्ष बनाउन एएचएफले प्राविधिक सहयोग गर्ने निर्णय भएको नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिएका थिए । अध्यक्ष गुरुङले नेपालमा भौतिक पूर्वाधार निर्माणका सम्बन्धमा पनि सहयोग गर्न बैठकमा नेपालले प्रस्ताव राखेको बताए । सो अवसरमा गुरुङले नेपालमा डिसेम्बरमा एसियालीस्तरको ह्यान्डबल च्यालेन्ज ट्रफी हुन गइरहेको जानकारी गराएका थिए । जसअन्तर्गत पुरुषतर्फ २१ वर्षमुनि तथा महिलामा २० वर्षमुनि उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले नेपालमा हुन लागेको ह्यान्डबलको अन्तर्राष्ट्रिय प्रतियोगितालाई राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै राखेपले स्कुल÷कलेजकेन्द्रित खेलकुद र प्रशिक्षण कार्यक्रमको तयारी गरिरहेको अवगत गराएका थिए । दुई दिनसम्म चलेको बैठकमा नेपालसहित एएचएफका कार्यकारी निर्देशक अहमद अबु अल लेयल (कुवेत), कुवेतका जसिम एम अल थेयब, अफ्गानिस्तानका मोहम्मद युसुफ नियाजी र जाबिद खवार, दक्षिण एसियाली ह्यान्डबल महासङ्घका महासचिव डा. एसएम बाली (भारत) र भारतका आनन्देश्वर पाण्डे, एएचएफअन्तर्गत युवा तथा स्कुल आयोग परिषद्का सदस्य मोहम्मद सफिक (पाकिस्तान) तथा यमनका हाम्जा सलेह हाम्जा र मोहम्मद अब्दुल वाहिदको उपस्थिति रहेको थियो । बैठकको समापन कार्यक्रममा एएचएफले ५० थान बल र पाँच सेट जाली तथा दक्षिण एसियाली ह्यान्डबल सङ्घले सय थान बल नेपाललाई प्रदान गरेको थियो ।

क्लाइम्बिङ स्पोर्टस्को विशेष प्रशिक्षण
चीनको सान्दोङ प्रान्तको हाइयाङ सहरमा असार २ देखि ८ गतेसम्म हुने तेस्रो एसियन बिच गेमअन्तर्गत स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिप
(लिड क्लाइम्बिङ)का लागि विषेश प्रशिक्षण सुरु भएको छ । नेपाल माउन्टेनियरिङ एन्ड रक क्लाइम्बिङ सङ्घले उक्त प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीका लागि दुईहप्ते प्रशिक्षण कोर्स सुरु गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र पासाङ ल्हामु पर्वतीय फाउन्डेसनका अध्यक्ष कृपासुर शेर्पाले खेलाडीलाई खेल सामग्री प्रदान गर्दै प्रशिक्षणको शुभारम्भ गरेका थिए । प्रतियोगितामा नेपाली खेलाडी मिङ्मा शेर्पा, हरिराम खड्का र नीरज कार्की तथा प्रशिक्षकमा सङ्घका केन्द्रीय सदस्य लाक्पा शेर्पा रहेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष कृपासुर शेर्पाले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्लाइम्बिङ वाल रहेको र यसले नेपालको नाम राख्न र गौरव बढाउन सहयोगी भूमिका निर्वाह गर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सदस्यसचिव युवराज लामाले नेपालको स्पोर्टस् अवधारणालाई अगाडि बढाउन नसकिएकोले यो खेललाई अघि बढाउन नसकिएको बताए । उनले नेपालमा प्रकृतिले उपहारको रूपमा प्रदान गरेको प्राकृतिक वाललाई प्रयोग गर्दै यो खेललाई अघि बढाउन सके खेलको विकासका साथै आर्थिक विकासमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

तेक्वान्दो युनियनका अशोक सम्मानित
सुदूरपश्चिमाञ्चलमा गत फागुनमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो
(युनियन)का स्वर्ण विजेता अशोक खड्का नगदसहित सम्मानित भएका छन् ।
गागलफेदी मजदुर भलाइ कोषले नागरिक अभिनन्दन गर्नुको साथै अशोकलाई नगद पाँच हजारसहित सम्मान गरेको थियो । नागरिक अभिनन्दनपछि गागलफेदीस्थित बाल विकास माविमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य रामेश्वर फुयालले अशोकलाई सम्मानपत्रसहित नगद पाँच हजार प्रदान गरका थिए । सुदर्शन धितालको सभापतित्वमा भएको कार्यक्रममा गाविससचिव रामशरण फुयाललगायतको उपस्थिति थियो ।

वार्षिक क्यालेन्डरमा
बोरिस लिसानेभिच टेनिस
अखिल नेपाल लनटेनिस सङ्घले नेपालमा सुरु हुन लागेको नयाँ प्रतियोगिता प्रथम बोरिस लिसानेभिच जुनियर खुला टेनिस प्रतियोगितालाई सङ्घको वार्षिक क्यालेन्डरमा समावेश गरेको छ । नेपालमा तारेहोटलको सुरुवात गर्ने व्यक्तिको रूपमा परिचित स्वर्गीय बोरिसको नाममा लिसानेभिच परिवारले आयोजना गर्न लागेको प्रतियोगितामा टेनिस सङ्घले प्राविधिक समन्वय गरिरहेको छ । प्रतियोगिता आगामी जुन ३ देखि ९ तारिखसम्म सातदोबाटो टेनिस कम्प्लेक्समा हुँदै छ । प्रतियोगितामा विभिन्न उमेर समूह यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ गरी पाँच इभेन्ट्समा करिब एक सय ५० खेलाडीले भाग लिने अनुमान गरिएको छ । लनटेनिस सङ्घले जनाएअनुसार प्रतियोगितामा एक खेलाडीले दुईभन्दा बढी इभेन्ट्समा भाग लिन पाउने छैन ।
प्रतियोगितामा महिला राष्ट्रिय च्याम्पियन एश्लेषले १८ वर्षमुनिको इभेन्ट्समा भाग लिने भएकी छिन् । आफ्नो हजुरबुबाको नाममा हुन लागेको प्रतियोगिता खेल्न पाउँदा उनी उत्साहित छिन् । प्रतियोगिताको कुल बजेट साढे दुई लाख रहेको छ । त्यसमा पुरस्कारतर्फ ७५ हजार रुपैयाँ रहेको छ । साथै विजेता सबै खेलाडीका लागि आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । मनजयकर स्मृति टेनिसपछि नगद पुरस्कार राखिएको यो दोस्रो प्रतियोगिता रहेको पनि लनटेनिस सङ्घले जनाएको छ ।

पारा ओलम्पिकलाई रकम प्रदान
राष्ट्रिय खेलकुद परिषद्ले नेपाल पारा ओलम्पिक कमिटीमातहतका विभिन्न सङ्घलाई रकम प्रदान गरेको छ । पाराका विभिन्न आठ सङ्घलाई प्रतियोगिता आयोजना गर्न आर्थिक सहयोगस्वरूप राखेपले कुल ११ लाख रुपैयाँ प्रदान गरेको हो । सबै प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयको स्वीकृत कार्यक्रम हो । सबैभन्दा बढी रकम राष्ट्रिय बहिरा क्रिकेट सङ्घले तीन लाख रुपैयाँ पाएको छ । दृष्टिविहीन टेबलटेनिस सङ्घ, बहिरा टेबलटेनिस सङ्घ, ह्विलचेयर बास्केटबल सङ्घ तथा शारीरिक अपाङ्ग फुटबल सङ्घलाई समान एक लाख ५० हजारका दरले रकम प्रदान गरिएको थियो । शारीरिक अपाङ्ग टेबलटेनिस सङ्घले एक लाख प्राप्त गर्‍यो भने बोसिया सङ्घ र पाराअन्तर्गत सुस्तमनस्थितिले समान ५०–५० हजार रुपैयाँ पाएका थिए । असारको पहिलो सातासम्म सबै प्रतियोगिता भइसक्ने खेलकुद विकास विभागका अधिकृत मीनकुमार शर्माले जानकारी दिएका छन् । दृष्टिविहीन टेबलटेनिस सुनसरीको धरान तथा बहिरा क्रिकेट कास्कीको पोखरामा हुनेछ भने अन्य सबै प्रतियोगिता राजधानीकेन्द्रित छन् ।