‘अन्तर्राष्ट्रिय झापाली समाज’को सुकीर्ति अझ विस्तारित होस् : मुकुन्द ढुंगाना

‘अन्तर्राष्ट्रिय झापाली समाज’को सुकीर्ति अझ विस्तारित होस् : मुकुन्द ढुंगाना


२०१४ सालमा झापाको भद्रपुरमा जन्मनुभएका मुकुन्द ढुंगाना (अध्यक्ष- ‘अन्तर्राष्ट्रिय झापाली समाज’ सन् २०२३-२०२५) विद्यार्थीकालदेखि नै समाज उत्थानका निमित्त समाजसेवा र राजनीतिमा एकैपटक संलग्न हुनुभयो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका ढुंगाना विद्यार्थी राजनीतिमा आधा शताब्दीअघि नै केन्द्रीयस्तरमा पुग्नु भएको थियो । विद्यार्थी राजनीतिपछि फिल्म निर्माणमा सक्रिय ढुंगाना लगभग २० वर्षअघि अमेरिका जानुभयो । र, अमेरिका गएर पनि उहाँ केवल अर्थोपार्जनमा नलागेर त्यहाँसमेत समाज सेवातर्फ सक्रिय रहिरहनुभयो । उहाँ विश्वकै सम्भवतः ठूलो नेपालीहरुको संस्था ‘अन्तर्राष्ट्रिय झापाली समाज’को सन् २०२३ देखि २०२५ सम्मका अध्यक्ष हुनुहुन्छ । यही असोज २४ गते उहाँले सो ख्यातिप्राप्त वैश्विक समाजको चौथो अध्यक्षीय कार्यकालबाट बिदा लिँदै गर्दा पाँचौं अधिवेशनको सन्दर्भ पारेर समाजकै सन्दर्भमा केन्द्रित रहेर यही असोज २३ गते ढुंगानासँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ।

■ ‘अन्तर्राष्ट्रिय झापाली समाज’को अवधारणा कसरी आयो र यसले के गर्दछ ?

  • आफू जन्मेको, हुर्केको ठाउँमा केही गरौं भन्ने सोच र भावना जो कोहीमा पनि हुनु स्वाभाविक हो । तथापि, एक जना व्यक्तिले मात्र गर्न चाहेर त्यो सम्भव छैन ! तर, त्यही ‘केही गरौं’ भन्ने भावनालाई अगाडि बढाउन वा त्यसलाई ठोस र मूर्त-रुप दिन सामूहिक प्रयत्न गरियो भन्ने त्यो सम्भव छ । सोही सिलसिलामा हाम्रो संस्थाले संगठित भएर जे र जति काम स्वदेशमा गरेको छ, त्यसले सो प्रमाणित पनि भइसकेको छ । संक्षेपमा भन्नु पर्दा, देशका लागि संसारभरि छरिएर रहेका झापालीहरुको केही राम्रो काम गरौं भन्ने चाहनाले अन्तर्राष्ट्रिय झापाली समाजको जन्म भएको हो ।

■ अन्तर्राष्ट्रिय झापाली समाजको स्थापना कहिले भएको हो ? र, यो अहिले कति देशमा विस्तारित छ ?

  • यसको स्थापना ९ वर्ष अघि सन् २०१७ अर्थात् वि.स. २०७३ सालमा भएको हो । यस अघि नै विभिन्न देशमा झापालीहरुका विभिन्न संस्थाहरु खुलिसकेका थिए । त्यो अवस्थालाई मध्यनजर गरेर, अलग-अलगभन्दा एउटै छातामुनि सक्रिय हुनु प¥यो भन्ने अवधारणाले यो संस्थाको जन्म भएको हो । यो अहिले ३९ देशमा विस्तारित भइसकेको छ ।

■ अमेरिका जानु भनेकै कमाउनका लागि हो । त्यहाँ मानिसहरु रात-दिन एकोहोरो रुपमा पैसा कमाउन मात्रमा सीमित हुन्छन् । तपाईं भने समाजसेवामा किन र के सोचेर सक्रिय हुन रुचाउनुभयो ?

  • हो… म अमेरिका गए पनि म त्यहाँ पैसाकै लागि मरिहत्ते गरेर लागिनँ । विद्यार्थी अवस्थादेखि नै समाज र राष्ट्रका लागि केही गरौं भन्ने सुसुप्त भावना ममा थियो । शायद त्यही हुट्हुटीले निरन्तरता पाएर होला- म अमेरिका गएर पनि समाजसेवामा सक्रिय भएको ।

■ अमेरिकामा रहँदा के कस्ता सामाजिक संस्थामा सक्रिय रहनुभयो ?

  • सबै त मलाई अहिले यतिबेला यो-यो संस्थामा भन्ने याद भएन । तर, सम्झेसम्म गैरआवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय छाता संस्था एन.आर.एन.ए. को २ पटक सल्लाहकारको रुपमा रहें । त्यसैगरी, अमेरिकाको लसएन्जलसमा नेपालीहरुको मुष्ठीदानबाट बनेको पशुपति फाउण्डेशनको अध्यक्ष, फ्रेण्ड्स अफ् नेपालको सभापति, अन्तर्राष्ट्रिय झापाली समाज-अमेरिकाको संस्थापक-अध्यक्ष रहँदै अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अध्यक्षको कार्यकाल भरखरै पूरा गरेको छु ।

■ अन्तर्राष्ट्रिय झापाली समाजले हालसम्म के कस्ता र कुन-कुन काम गरेको छ ?

  • हाम्रो संस्था कुनै त्यस्तो बृहत् फण्ड भएको संस्था होइन । हाम्रो स्रोत भनेको हामी आफू-आफैंले व्यक्तिगत रुपमा संकलन गरिएको स्वेच्छिक चन्दा रकम हो । त्यसो हुँदा यताका थुप्रै अपेक्षाहरुलाई सम्बोधन गर्न नसके पनि देशलाई केही आर्थिक र भौतिक सहयोग गरेका छौं । केही स्वास्थ्य केन्द्र, पालिका, रेडक्रस लगायत समुदायमुखी सेवा-संस्थाहरुलाई ८ वटा एम्बुलेन्स र २ वटा शववाहन पनि प्रदान गरिएको छ । यसै क्रममा, विभिन्न सामाजिक एवम् पेशागत सामुदायिक संस्थाहरुलाई आर्थिक सहयोग र भौतिक निर्माण समेतमा उल्लेख्य रुपमा सघाएका छौं ।

■ अन्तर्राष्ट्रिय झापाली समाजको कार्यक्षेत्र झापा जिल्ला मात्रै हो कि अन्य जिल्लामा पनि छ ?

  • मूलतः हाम्रो कार्यक्षेत्र झापा जिल्ला नै हो । तर, हामीले देशका अन्य जिल्लामा पनि केही काम गरेका छौं । सो क्रममा रौटहट जिल्लामा केही स्कूले छात्राहरुलाई १२ कक्षासम्म पढाइरहेका छौं । त्यसैगरी, जाजरकोट जिल्लाका पनि ५ जना विद्यार्थीलाई १२ कक्षासम्म छात्रवृत्ति प्रदान गरेका छौं ।

■ आफ्नो कार्यकालको संक्षिप्त मूल्यांकन गर्दै आउने कार्यसमितिलाई कुनै सुझाव वा आव्हान गर्न चाहनुहुन्छ ?

  • मैले आफ्नो कार्यकालको आफैंले मूल्यांकन गर्नुभन्दा पनि विश्वभरि छरिएर रहनुभएका झापाली साथीहरुले मूल्यांकन गरिरहनु भएको छ भन्ने मलाई लाग्छ र भविष्यमा पनि गर्नु होला नै । जहाँसम्म नवागन्तुक कार्यसमितिलाई आव्हान गर्ने र सुझाव दिने कुरा छ- मलाई अहिले केवल यति भन्नु छ कि, नयाँ कार्यसमितिमा आउनुभएका साथीहरुले संस्थाको काम र गतिविधि अहिलेको भन्दा पनि सुकीर्तिमय बनोस् । म अग्रिम शुभकामना दिंदै आफ्नो तर्फबाट जे र जस्तोसुकै सहयोगको वचनवद्धता पनि व्यक्त गर्दछु ।