अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता

अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता


विगत केही समययता हामीकहाँ जसले जसलाई जे भनेपनि हुने अवस्था झैँ देखिएको छ । सामाजिक सञ्जालमा मात्र नभइ विगतमा उत्तरदायी सञ्चारकर्मी भनेर चिनिएकाहरूले सञ्चालन गरेका मिडियामा समेत मानिसहरू निर्धक्क गाली गरिरहेका छन् । कतिले चाहिँ फेस बुक, टिकटकमार्फत यो संसारमा आफूभन्दा राम्रो अर्को छैन भनिरहेका छन् । आफूलाई राम्रो देखाउनका लागि अरुलाई नराम्रो देखाउनुपर्छ भन्ने मान्यताले काम गरिरहेको छ । वास्तविकता चाहिँ के हो भने राम्रो मान्छेले अरुलाई गालीगलौज गर्दैन, स्वस्थ आलोचना गर्छ ।

हामीकहाँ अहिले ‘हेट स्पीच’को प्रयोग पनि त्यत्तिकै भइरहेको छ । कुनैपनि लिङ्ग, धर्म, समूदायलाई भड्काउने, एकार्काको सद्भाव मेट्न खोज्ने अभिब्यक्ति ‘हेट स्पीच’ हो । शब्द बोलेर, लेखेर, दृष्यबाट अरुमा डरत्रास पैदा हुन्छ, हिंसा महसूस हुन्छ र भड्किन्छ भने त्यसलाई ‘हेट स्पीच’ मान्नुपर्ने हुन्छ । कसैलाई चोट पुऱ्याउने तथा सम्मान र आत्मसम्मानमा आँच पुऱ्याउने अभिब्यक्ति हेट स्पीच हो । हेट स्पीच र आलोचना फरक कुरा हुन् । आलोचनामा सुधारको अपेक्षा हुन्छ, हेट स्पीचमा घृणा फैलाउने उद्देश्य हुन्छ, आलोचना रचनात्मक र तार्किक हुन्छ, हेट स्पीचमा घृणा हुन्छ । आलोचनामा सुधारका लागि सुझाव दिइन्छ, हेट स्पीच ‘हुँदैन’ भन्नेबाट सुरु भइ अनेक गालीगलौजपछि ‘हुँदैन’मै टुङ्गिन्छ । किन हुँदैन ? भन्ने तर्क खासै हुँदैन । समाजमा हेट स्पीचको प्रयोग हिजो पनि थियो । सुन्नै गाह्रो हुनेगरी मानिसहरूबीच एकार्कामा गालीगलौजहरू हुने गर्थे तर ती सम्बन्धित ब्यक्तिहरू र समूहमा मात्रै सीमित हुन्थे, तर अहिले विगतमा केही ब्यक्ति या समूहमा सीमित हुने गरेका अभिब्यक्तिहरू सामाजिक सञ्जालमार्फत सर्वब्यापी हुनेगरेका छन् ।

मानिस भएर जन्मिएपछि हरेक कुरामा प्रतिक्रिया दिनैपर्ने झैँ गरी हामी सामाजिक सञ्जालमा टीकाटिप्पणी गरिरहेका हुन्छौँ । मैले बोलेका, लेखेका कुराले अरुलाई के प्रभाव पाऱ्यो वा असर गऱ्यो होला ? मैले कतिलाई चित्त दुखाएँ या घृणा फैलाइरहेको छु कि ? भन्ने बारेमा हामी खासै सोच्दैनौँ । कसैलाई चोट पुऱ्याउन ढुंगामुढा गरिरहनु पर्दैन, हतियार चलाउनु पर्दैन, बोली र शब्दहरू नै काफी हुन्छन् ।

अरुलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठुलो छ । कतिपय अवस्थामा विषयकेन्द्रित आलोचना आवश्यक हुन्छ । तर नकारात्मक भावना र आलोचनात्मक दृष्टिकोण फरक कुरा हुन् । ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनुबीचको दुरी निकै लामो छ । आफूले बोलेको, लेखेको कुराले के सन्देश दिन्छ ? आफ्ना अभिब्यक्तिप्रति आफै जिम्मेवार हुने अवस्था छ कि छैन ? हाम्रा सोचहरू हाम्रो दिमागमा रहुञ्जेल हाम्रा हुन्, सार्वजनिक गरेपछि तिनले सकारात्मक, नकारात्मक दुबै बाटो तय गर्न सक्छन् । तिनले ब्यक्ति र समाजमा हिंसा फैलाउने काम पनि गर्न सक्छन् । मिडिया या सोसियल मिडिया एउटा माध्यम मात्रै हुन्, सोच र अभिब्यक्ति त हाम्रा हुन् । आफ्ना अभिब्यक्तिको उत्तरदायित्व हामी आफैले लिनुपर्छ । के बोल्ने, के लेख्ने ? हामी स्वतन्त्र छौँ तर स्वतन्त्रतामा उत्तरदायित्व सधैं जोडिएर आउँछ ।

सर्वसाधारणले दिने प्रतिक्रियाले वरिपरिको माहौललाई मात्र प्रभाव या असर गरेपनि सार्वजनिक ब्यक्तित्वका बोलीले ठुलो संख्यामा मानिसहरू प्रभावित भइरहेका हुन्छन् । त्यसैले सार्वजनिक जीवनमा भएकाहरूले अभिब्यक्ति दिँदा थप संवेदनशील हुन आवश्यक हुन्छ । धुलो धुवाँको कारण वातावरणमा असर परेजस्तै मानिसले बोल्ने या लेख्ने नकारात्मक कुराले मानसपटल प्रदुषित गर्छ भनिन्छ । प्रदुषित मात्र गर्दैन यदि विषय र अवस्था संवेदनशील छ भने हिंसा भड्काउन मद्दत पनि गर्छ । अहिले हाम्रो देशको अवस्था अत्यन्त संवेदनशील छ । अरुका कुरा सुन्ने भन्दा आफ्ना कुराहरू अरुले सुन्नुपर्छ भन्ने प्रायः हामीलाई लाग्ने गर्छ । अमेरिकी लेखक मार्क ट्वीनले १८औं शताब्दीको मध्यतिरै भनेका थिए- ‘यदि हामी सुन्न भन्दा बढी बोल्नका लागि हुन्थ्यौँ भने प्रकृतिले हामीलाई दुई वटा मुख र एउटा कान दिएको हुन्थ्यो । अरुको कुरा बढी सुन्न र आफू कम बोल्नकै लागि हामीलाई दुईवटा कान र एउटा मुख दिइएको हो ।’

अहिले सामाजिक संजालमा मानिसले आक्रोश पोख्दा ‘पख तिमीहरूलाई’ भन्ने सन्देश जानेगरी हाउभाउ पनि गरेको देखिन्छ । त्यस्ता हाउभाउ सदृष्य बाहिर ल्याउनका लागि टिकटक र युटुबको प्रयोग भइरहेको छ । अक्षर मात्र नभइ शरीर नै देखिने माध्यममा आउँदा या एकर्कामा भेटेर कुरा गर्दा मुखले मात्र बोले झैं लागेपनि हाम्रो सम्पूर्ण शरीरले विभिन्न हाउभाउबाट सञ्चार गरिरहेको हुन्छ । हाम्रा बोली, बचनमात्र होइन बडि ल्यांग्वेज र हाउभाउ पनि हिंसात्मक र अहिंसात्मक हुन्छन् । अहिंसात्मक सञ्चारका प्रवर्द्धक मार्सल रोजेनवर्गका अनुसार, ५५ प्रतिशत सञ्चार हाम्रो शारीरिक हाउभाउले गरिरहेको हुन्छ । ३८ प्रतिशत सञ्चार हामीले बोल्ने आवाजले प्रवाह गरिरहेको हुन्छ । उफ्…देखि खै… हुँदै… हामीले निकाल्ने मलिनदेखि कर्कश ध्वनीसम्म यसमा पर्छन् । शब्दहरूको प्रयोगचाहिँ हामीले जम्मा ७ प्रतिशत गर्ने रहेछौँ । मार्सलले ६० को दशकमा द्वन्द्व समाधानका लागि अहिंसात्मक सञ्चारको सिद्धान्त विकास गरेर प्रयोगमा ल्याएका थिए ।

६५ भन्दा बढी मुलुकमा उनले यसलाई द्वन्द्व समाधानको औजारको रुपमा प्रयोग गरे । मार्सल रोजेनवर्ग उत्तर अमेरिकी मनोवैज्ञानिक हुन्, अध्ययनका क्रममा उनले असहमति र झगडाको मुख्य कारण मानिसको बोल्ने र सुन्ने तरिकामा छ भनी पत्ता लगाएका थिए । मानिसले बाल्यकालदेखि नै आफ्ना माग पूरा गर्नका लागि धम्कीको भाषा प्रयोग गर्न सुरु गर्छ । धम्कीको भाषाका लागि हिंसात्मक सञ्चार आवश्यक हुन्छ । उनका अनुसार, हेड लेभल कम्युनिकेशन अर्थात् मुखको भाषाले भावनाको प्रतिनिधित्व गर्दैन । द्वन्द्वको श्रोत नै बोली हो भन्ने कुरा हामीकहाँ पटक-पटक प्रमाणित भएको छ । अहिले त झन् परिस्थिति विगतमा भन्दा फरक छ । मुलुकलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेका हामीले आफ्नो बोलीले हिंसा भड्किने हो कि भनेर सोच्नैपर्छ । हिंसात्मक सञ्चार गर्न सहज पनि छ, जे बोले, लेखेपनि भयो तर अहिंसात्मक सञ्चार गर्न त्यति सहज छैन । किनभने अहिंसात्मक बोलीचाली र लेखनका लागि इमानदारी आवश्यक हुन्छ । मार्सल भन्छन्, अहिंसात्मक सञ्चार हृदयबाट गरिन्छ । भावना र आवश्यकताको मिलनबाट मात्र यो सुरु हुन्छ । अहिंसात्मक सञ्चारले अरुलाई तल पार्ने र मूल्याङ्कन गर्ने काम गर्दैन । आफ्ले ब्यक्त गरेको भावनालाई जिम्मेवारीका साथ हेर्छ । संवाद भन्ने कुरा स्पष्ट र इमान्दारीका साथ गर्नुपर्छ । यो भनेको विषयकेन्द्रित भएर सत्य बोल्नु हो ।

ब्यक्तिगत गालीगलौजदेखि कुनै वर्ग, समूदायलाई नै होच्याउने काममा मिडिया र सोसियल मिडियाको प्रयोगले मुलुकमा द्वन्द्व सिर्जना गर्ने सम्भावना बढ्दै गएकाले अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता देखिएको छ । स्वनियमन आफूले आफैलाई बाँध्ने काम हो । यसको अर्थ सेल्फ सेन्सरसीप होइन । सेल्फ सेन्सरसीप देखेको कुरा लेख्न/बोल्न नसक्ने अवस्था हो । स्वनियमन उत्तरदायी भएर आफूलाई अभिब्यक्त गर्ने कुरा हो । हामी र हाम्रो देश नेपाल अहिले साह्रै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । यस्तो बेलामा कुनै पनि उत्तरदायी र देशलाई माया गर्ने मानिसले द्वन्द्व बढाउने काम गर्न हुँदैन, मिल्दैन । त्यसैले आफ्नै बोलीले घृणा फैलाएर मुलुकलाई अध्यारोतिर नधकेलौँ, अहिंसात्मक सञ्चारलाई प्रवर्द्धन गरौँ ।