पूर्वजहरूले गौचरणका लागि छुट्याएका गौचरणहरू देशभरी छन् । स्थानीय जनताले ती चरणस्थलहरूको पहिचान गर्नुपर्छ र त्यसको श्रेस्ता खोज्दै कायम गर्नुपर्छ । स्थानीय सरकारहरूले सहयोग गर्नुपर्छ । संविधानले गाईलाई राष्ट्रिय सम्पदाको रूपमा स्वीकार गरेको अवस्थामा देशका सम्पूर्ण नागरिकहरूको कानुनी दायित्व गौरक्षा गर्नु हुन्छ भने वैदिक सनातनीको त मौलिक कर्तव्य नै गौरक्षा सुनिश्चित गर्नु हुन्छ ।
✍ डा. गोविन्दशरण
नेपालको संविधानले गाई र गौवंशलाई राष्ट्रिय धरोहरू घोषित गरेको छ । ८२ प्रतिशत वैदिक सनातन धर्म मान्ने नागरिक भएको देशमा गौवंशलाई राष्ट्रिय धरोहर घोषित गराउन निकै सङ्घर्ष गर्नु परेको थियो । संविधानले गौवंशलाई राष्ट्रिय-सम्पदा घोषणा गरे पनि सरकारहरू, दलहरू, प्रदेश तथा स्थानीय सरकारहरूले गौवंशको संरक्षणका लागि खासै काम गरेका छैनन् ।
हिन्दु सनातनिको पहिचान प्रणव, वेद, गौ तथा वर्णाश्रम ब्यवस्था हुन् । हिन्दुहरूको कुनै पनि धार्मिक तथा सांस्कृतिक क्रियामा गौ (गाई) अनिवार्य हुन्छ । वैदिकहरूका जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा गाई अनिवार्य हुन्छ । यसै दबाबका कारण संविधानमा गौवंशलाई राष्ट्रिय धरोहर त घोषणा गरियो तर ब्यवहारिक रूपमा सरकार र जनता दूवैले गौवंशको महत्व स्वीकार गर्न सकेनन् । जो-जसले गौवंशको महत्व स्वीकार गरेर गौशालाहरू स्थापना गरे, उनीहरूले सरकार र सर्वसाधारणबाट सहयोग प्राप्त गर्न सकिरहेका छैनन् ।
हाम्रा पूर्वजहरूले मेरो गाउँमा गौचरण क्षेत्र प्रष्टसंग छुट्याएका छन् । पातलको सम्मो क्षेत्र र त्यससंग जोडिएको ठूलो क्षेत्र गौचरणकै लागि भनेर छुट्याएका थिए । आज यिनै गौचरण क्षेत्रको अतिक्रमण गरेर तथाकथित सरकारी विकासका कामको प्रयोजनका लागि अनेकौं थरी बिलिंगहरू बनिरहेका छन् । हाम्रा पूर्वजहरूले सनातन धर्मको जगका रूपमा स्थापित गौवंशको सनातन महत्व बुझेर नै गौचरण क्षेत्र निर्धारण गरेका थिए ।
नेपाली संविधानले गौलाई राष्ट्रिय धरोहरका रूपमा स्वीकार त गऱ्यो यसको सुरक्षा र सम्बर्धनका लागि कुनै नीतिनियम तय गरेन । गाईले घाँसनै खान्छ किनभने घाँस उसको भोजन हो । सरकारले गाईलाई सम्पदा घोषणा गरेपछि गाईलाई जोगाउन, संरक्षण गर्न ‘घाँस’को पनि व्यबस्था हुनु अनिवार्य हुन्छ भन्ने तत्थ्य स्वीकार गरेको छैन । उल्टो, केन्द्रीय, प्रदेश र स्थानीयतह सबै मिलेर पूर्वजहरूले गौवंशको लागि चर्न छुट्याएका चौर, पाखा तथा वारीहरूलाई आफ्नो पेवा ठानेर अतिक्रमण गरिरहेको छ ।
सरकारले नै गौचरणमा अतिक्रमण गरेको ज्वलन्त उदाहरण हालको त्रिभुवन विमानस्थल हो र दोश्रो रङ्गशालाका रूपमा प्रयोग हुँदै आएको सानो गौचरण हो । पूर्खाले सनातन धर्मको रक्षाका खातिर नून-बेसार छरेर चरणक्षेत्रका रूपमा छोडेका चरणहरूमा अतिक्रमण गरेर सरकारले नै गौवंशको विनाशमा सहयोग गरिरहेको छ । सत्यले पोल्छ तर सत्य त सत्य नै हुन्छ । ठूलो गौचरण होस् वा सानो गौचरण सरकारले ती गौचरणहरूको वदलामा चरणक्षेत्र दिएको छैन । यो गौवंश विरुद्ध सरकारी हस्तक्षेप होइन र ?
म नेपालका धेरै जिल्लाहरू घुमेको छु । पहाड-तराई जतासुकै हाम्रा पूर्वजहरूले नून, सुनपानी तथा गङ्गाजल छोएर ‘गौचरण’ क्षेत्र राखेका थिए । मैले सुनेअनुसार बाग्लुंगस्थित बलेवाको (हाल बन्द भएको विमानस्थल) सम्पूर्ण जग्गा एकजना गुरुदत्त आचार्य नामका व्यक्तिले आफ्नो निजी बारीलाई तामा, तुलसी र शालीग्राम हातमा लिएर गौचरणको (अनन्तकाल सम्म गाई चराउने प्रयोजनका लागि) दान गरेका थिए । सरकार होस् वा स्थानीय दूवैले ती आचार्यको दान मास्न मिल्दैन । यदि त्यो क्षेत्र पुन: गौचरणका लागि उपयोग गर्ने हो भने स्थानीयहरूले स्थानीय जातका गाईहरू पाल्ने निश्चित छ ।
हाम्रो गाउँको गौचरणको इतिहास फरक छ । तत्कालीन पराजुलीहरू;ले आपसमा मिलेर नै अहिलेको गौचरण क्षेत्र छुट्याएका थिए रे ! गौचरनको जग्गामा कर नलाग्ने हुँदा त्यसमा बरपिपल रोप्ने, मन्दिर पाटी, धारा इत्यादि निर्माण गर्ने गरिन्थ्यो । आज पनि पातल (बाच्छाट) सहित दुईवटा वडाको जलाधार, सामाजिक संस्कार, मन्दिर र मिलनको क्षेत्र बनेको छ । आजभोलि जनताहरू गाईपालनप्रति उदासीन बनेपछि यो गौचरन ‘बाख्राचरण’मा रुपान्तरित भएको छ भने यही चरणक्षेत्रमा अनेकौं सरकारीस्तरबाट निर्माणहुने भवनहरू बनेका छन् ।
मुख्य र चुरो कुरा – संविधानले गौवंशलाई ‘राष्ट्रिय-सम्पदा’ (गाईलाई राष्ट्रिय पशु भन्नु उचित होइन, यस्तो शब्दका ठाउँमा सम्पदा वा धरोहर शब्दको प्रयोग उचित हुन्छ) भनेर विशिष्ट दर्जा दिएपछि राष्ट्रले नै गाईको लागि आवश्यक घाँसको व्यबस्थापनतिर ध्यान पनि दिनुपर्छ । यसको लागि हरेक स्थानीय सरकारहरूले हाम्रा पूर्वजहरूले गौचरण भनेर छुट्याएका क्षेत्रहरूको पहिचान गर्नुपर्छ र अन्य अतिक्रमहरूबाट मुक्त गरेर गौचरणको क्षेत्रका रुपमा पुन:स्थापित गर्नुपर्छ । दोश्रो, सरकारले नै व्यक्तिहरूलाई गौचरण क्षेत्र छोड्न, दान गर्न प्रेरित गर्नुपर्छ भने खालिरहेका सार्वजनिक जग्गाहरूबाट केही क्षेत्रलाई ‘गौचरन’का रूपमा प्रयोग गर्ने नीति बनाउनु पर्छ । साथै, गौपालन (स्थानीय गाईमात्र) गर्ने कृषकहरूलाई केही अतिरिक्त सुविधाहरू दिंदा गौपालन सहज हुन्छ ।
पूर्वजहरूले गौचरणका लागि छुट्याएका गौचरणहरू देशभरी छन् । स्थानीय जनताले ती चरणस्थलहरूको पहिचान गर्नुपर्छ र त्यसको श्रेस्ता खोज्दै कायम गर्नुपर्छ । स्थानीय सरकारहरूले सहयोग गर्नुपर्छ । संविधानले गाईलाई राष्ट्रिय सम्पदाको रूपमा स्वीकार गरेको अवस्थामा देशका सम्पूर्ण नागरिकहरूको कानुनी दायित्व गौरक्षा गर्नु हुन्छ भने वैदिक सनातनीको त मौलिक कर्तव्य नै गौरक्षा सुनिश्चित गर्नु हुन्छ । तेसैले देशभरिका गौचरण क्षेत्रहरू खोजौं । स्थानीय गाईहरूको संरक्षण गर्न पहल गरौँ र अन्य पशु पाल्दा गाई पनि पाल्न अग्रसर बनौं । साथै, स्थानीयतहमा गौरक्षा, गौपालन गर्न अग्रसर अगुवाहरूलाई तनमन, धनले सहयोग गरौँ । वैदिक सनातनीहरूले बुझ्नुपर्छ कि हाम्रो विश्वासअनुसार मृत्युपछि बैतरणी तर्न पनि गाईकै आवश्यकता पर्नेछ ।
मैले दशैंका दिन मूल ढोकामा जमरा र टीको लगाउने प्रयोजनका लागि लोकल गाईको गोवर खोज्न निकै परिश्रम गर्नु परेको स्मरण गर्न चाहन्छु । पण्डितजीहरूलाई पनि अनुरोध छ- गौदानका लागि सम्बन्धित परिवार वा पारिवारिक जनले पालन गरेको गौनै महत्वपूर्ण हुने सूचना दिनु होस् । एउटा गाईको बाच्छी दश रुपैयाँमा बेचेर (निग्रह दिएर) पुन:पुन: दान गर्ने कर्मप्रति विचार गरौँ । दान गर्न गाई नै चाहिनेलाई गाईका बाच्छीहरूलाई बोझ नठानौं । तपाईंको बाल्टीमा धेरै दूध दिन नसके पनि गाईले मृत्युपछि स्वर्ग अवश्य दिने छन् – विश्वास र श्रद्धा गरौँ । गौवंशको सुरक्षा, प्रवर्धन तथा आफ्नो आध्यात्मिक कल्याणको लागि पनि स्थानीय गौचरण क्षेत्र खोजौं ।
प्रतिक्रिया