अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत बिहीबार भएको टेलिफोन कुराकानीमा ‘ठूलो प्रगति’ भएको बताएका छन् । दुवै पक्ष हङ्गेरीमा प्रत्यक्ष वार्ता गर्न सहमत भएको पनि उनले जनाएका छन् ।
मध्यअगस्टयता पहिलोपटक भएको पुटिनसँगको कुराकानी ‘निकै फलदायी’ रहेको राष्ट्रपति ट्रम्पले बताएका हुन् । वाशिङ्टन र मस्कोका प्रतिनिधिहरूबीच आउँदो साता भेटघाट हुने उनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ।
ट्रम्पले पुटिनसँग बुडापेस्टमा हुने बैठकको मिति भने पुष्टि गरेनन् । क्रेम्लिनले उक्त “अत्यन्तै खुलस्त र भरोसायोग्य“ फोनवार्तापछि ‘तत्कालै’ शिखरवार्ताबारे काम सुरु हुने बताएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस जाने निर्धारित तालिकाको एक दिनअघि र ट्रम्पले रुसको भित्री भागसम्म हमला गर्न सक्ने ‘टमहक’ क्षेप्यास्त्र युक्रेनलाई दिने कि नदिने भन्ने सम्बन्धमा विचार गरिराखेका बेला उक्त फोनवार्ता भएको हो ।
सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले आफू र पुटिनबीच ‘युक्रेनमा युद्ध समाप्त भएपछि रुस र अमेरिकाबीच हुने व्यापारबारे निकैबेर कुरा भएको’ बताएका छन्।
उनले अर्को हप्ता दुवै देशका ‘वरिष्ठ सल्लाहकार’ हरूबीच बैठक हुने र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुवियोले गर्ने जानकारी दिए । बैठक कहा हुने भन्नेचाहिँ अझै तय हुन बाँकी रहेको उनले उल्लेख गरेका छन् ।
ज्ञातव्य छ, पुटिनसँग युक्रेन युद्धबारे अलास्कामा भएको वार्ता विफल भएपछि ट्रम्प मस्कोप्रति कठोर रहँदै आएका छन् । गत अगस्ट १५ मा अलास्कामा भएको प्रत्यक्ष वार्ता युद्ध अन्त्य गर्नेबारे रुसी राष्ट्रपतिलाई सहमत गराउन फलदायी हुने ट्रम्पको आशा थियो । अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला उनले आफूले युक्रेन युद्ध अन्त्य गर्ने वाचा गर्नुभएको थियो ।
प्रतिक्रिया