पलायनहरुको  देशभक्ति र रामकुमारीको चुनौती 

पलायनहरुको  देशभक्ति र रामकुमारीको चुनौती 


सन् १९९५ (वि.सं. २०५२) मा म दक्षिण अफ्रिका जांदा २७ वर्षको  थिएं । अहिलेको जेन-जी पुस्ताको उमेर थियोे मेरो । देशमा माओवादी आन्दोलन भन्दै बाबुरामहरु सरकारलाई ज्ञापनपत्र बुझाउंदै थिए ।  दक्षिण अफ्रिका पुगेर आफ्नो देश हेर्दा  त्यहाँको रङ्गभेदको अमानविय इतिहास भन्दा पनि  मेरो देशको अवस्था कहाली लाग्दो देख्यो मेरा आंखाले र भावुक हुंदै ‘जोहिना’ लेखें । निकै ठाउँ धेरै गुनासो छ, त्यस्मा देशप्रति मेरो , मुलुकबाट बाहिरिएको छोटै समयमा !  यो देशभक्ति, आफू बाहिरिंदा उठ्ने मनको छाल र आवेग हुनुपर्छ सायद । यस्तो भावुकताले सकारात्मक परिवर्तन ल्याए त हुन्थ्यो नि ! तर फ्रष्टेसन भित्र्याउने काम पनि गर्दोरहेछ लामो अन्तरालमा । यो प्रसंग विद्यमान जस्तै छ मुलुकमा ।

विदेशमा बसेर देशको अवस्थालाई हेर्ने दुई थरी आंखा छन् । एक थरी विदेशमा आर्जन गरेर रेमिट्यान्स पठाउंदै देशको चिन्ता गर्नेहरु र अर्को थरी विदेशमा सुख-सुविधा र आरामदायी जीवन यापनका निम्ति पलाायन हुंदै अर्ति उपदेश छांट्नेहरु । यो दोस्रो वर्ग मुलुकका लागि हानिकारक हुंदै गइरहेको अवस्था छ ।

नेपालको राजनीतिक बहस, विचार र मतभेदहरू अहिले यति धेरै छन् कि देशका लागि बोल्नेहरू पनि आफ्नै स्वार्थको भाषामा विभाजित भएका छन् । यस्तै एउटा प्रसङ्ग केही वर्षअघि चर्चामा आएको थियो । नेपाली  राजनीतिकी  युवा नेतृ रामकुमारी झाँक्रीले एउटा  अन्तर्वार्तामा  सार्वजनिक रूपमै  भनेकी थिइन्- ‘नेपालमा उज्यालो नहुँदै आफ्ना आँखाका चिप्रा पुछ्दै विदेशमा बसेर नेपालको राजनीतिमा टिप्पणी नगर्नु ।’ उनी यो  भनाइले आलोचित पनि भइन्, तर उनको यो सोच र भनाइ दलगत भावना होइन, गहिरो सत्यको झल्को थियो । आज नेपालको सामाजिक सञ्जालमा, राजनीतिक बहस र जनभावनामा ती शब्दहरू  सान्दर्भिक बन्दै गएका छन् ।

नेपाललाई  छुंदै प्रेम गरेर  बस्ने भन्दा देश छोड्नेहरूको संख्या दिनदिनै बढ्दै छ। हजारौँ युवाहरू वैदेशिक रोजगारीमा छन् छन् – यो विवशता हो । तर, यिनै सन्तानका भविष्यका नाममा, वृद्ध आमाबुबा ‘तेल भिसा’मा गएर परदेशमा हली र सेवक बन्न विवश छन् । अझ विडम्बना त के छ भने- उनीहरू पनि त्यहाँ पुगेपछि सामाजिक सञ्जालमा नेपालबारे तिरस्कार पोख्छन् । विदेशी माटोमा ‘पीआर’ पाउने चाहनामा, आफ्नै देशलाई गाली गर्ने, आफ्नै माटोको मान घटाउने र आफ्नै नागरिकहरूलाई मूर्ख ठहर्‍याउने प्रवृत्ति बढ्दो छ । यस्तो मानसिकता केवल प्रवासीपन होइन – यो मनको दासत्व हो।

नेपालभित्रका समस्या धेरै छन्- असक्षम नेतृत्व, भ्रष्ट प्रशासन, कमजोर नीति, बेरोजगारी र अनिश्चितता। तर, यी समस्याबाट भाग्नु समाधान होइन । भागेर विदेशमा बस्नेहरूले जब देशमै संघर्षरत जनतालाई अर्ति दिन्छन्- तिमीहरूले के गर्न सक्छौ र ?  उनीहरूलाई थाहा छैन, यही माटोमा बस्नेहरूले नै लोकतन्त्र ल्याएका हुन् । यिनै  हातहरूले आन्दोलन गरेका हुन् , यिनै मानिसहरूले बाढी, भूकम्प र महामारीमा एक अर्कालाई सम्हालेका छन् । देशप्रेम विदेशी  दासत्व र अर्तीले होइन, उपस्थितिले प्रमाणित हुन्छ।

विदेशमा बसेर दासत्व स्वीकार गरेका नेपालीहरूले स्वदेशमा बसेर संघर्ष गरिरहेका जनतालाई अर्ति-उपदेश दिनु घमण्ड मात्र हो, विवेक होइन। जसले आफ्नो देशको माटो छोडेर पराई भूमिको सुविधा र सुरक्षा स्वीकार गर्छ, उसले अब राष्ट्रप्रतिको पीडा र जिम्मेवारी दुवै महसुस गर्न सक्दैन । देशभित्रका कठिनाइ, अन्याय र निराशासँग जुधिरहेका नेपालीहरूलाई आलोचना होइन, साथ चाहिएको छ । परदेशबाट देशको दोष देखाउनेहरूले बुझ्नुपर्छ- संघर्ष नै परिवर्तनको पहिलो स्वरूप हो, र त्यो संघर्ष यहाँका जनताको पसिना र आँसुले लेखिएको छ। जसले नागरिकताको नाता तोडिसक्यो, उसले निष्ठाको अधिकार पनि गुमायो । जसले दासत्व स्वीकार गर्छ, उसले स्वतन्त्रताको मर्म बुझ्दैन । तर जो देशमै बस्छ, उसले नै स्वतन्त्रताको मूल्य बुझ्छ । 

नेपालमा रहेका समस्या देखेर निराश हुनु स्वाभाविक हो, तर देशप्रतिको निष्ठा त्याग्नु अपराध जस्तै हो । हरेक देशमा चुनौती हुन्छ, तर आफ्नै देश सुधार्ने प्रयास गर्नुभन्दा सजिलो बाटो खोज्नेहरू आज आफ्नै पहिचान गुमाइरहेका छन् । युरोप, अमेरिका, अस्ट्रेलियामा पीआर पाउँदा गर्व गर्छन्, तर त्यही गर्वले आफ्नै देशको अपमान गरिरहेको अवस्था छ । देशभित्रका किसान, मजदुर, शिक्षक र युवाहरूको संघर्षबारे उनीहरूलाई हांसो लाग्छ !

विदेशमा कमाएको पैसाले यहाँ घर बनाउन त सकिन्छ, तर आत्मसम्मान किन्न सकिँदैन। जसले आफ्नो मातृभूमिलाई प्रेम गर्छ, ऊ देशको हरेक पीडा आफ्नो मान्छेको पीडा सम्झन्छ । तर, जसले नागरिकता त्यागिसक्यो, उसले त्यो सम्बन्ध पनि टुटाइसक्यो । नेपालको असली शक्ति त्यहीं छ- जो यहाँ बस्छ, यहाँ कर तिर्छ, यहाँ सास फेर्छ र यहाँका समस्यामा हात मिलाउँछ । त्यो हो देशको मेरुदण्ड।

आजको पुस्ता भ्रममा छ । कसैले देशभक्ति फेसबुकमा लेख्दै आफूलाई देशप्रेमी ठान्छ, कसैले राजनीतिक पार्टीहरुलाई  गाली गर्दै आफू सचेत ठान्छ । तर, देशभक्ति भनेको सहेर पनि आफ्नो देशमा टिक्ने निर्णय हो। 

हामीले देशलाई सुधार्न चाह्यौं भने, आत्म-गौरवबाट सुरु गर्नुपर्छ। यहाँ हर कोहीलाई  गाली गर्नु सजिलो  छ,  तर  देश बनाउनु कठिन । जो कठिन बाटो रोज्छ, ऊ नै सच्चा नागरिक हो । विदेशमा बसेर कमाएको पैसाले देशको अर्थतन्त्रमा टेवा दिन सक्छ, तर देशको आत्मालाई जगाउने काम त यहीँका जनताको हो ।

त्यसैले,  युवा नेतृ रामकुमारी झाँक्रीका ती शब्दहरू केवल राजनीतिक प्रतिक्रिया मात्र  नभएर चेतावनी  हुन्  समयको । हामी राष्ट्रको मान-इमान , सम्मान त्याग्दै भागेर परदेशमा गुलाम बनेर  नेपाललाई तुच्छ ठान्छौं भने कतिपय ‘तेल भिसा’मा गएका आमाबुबा समेत ‘पीआर’को आशामा देशलाई गाली गर्छन् भने परदेशको सस्तो आशले  मातृभूमिको तृष्णा मेट्दैन । कुरो बुझ्नु !

नेपाललाई परिवर्तन गर्न साहस चाहिन्छ, सम्झौता होइन ।  जो देशमै रहेर कठिनाइ सहन्छ, ऊ नै साँचो देशभक्त हो । जो परदेशबाट गाली गर्छ, ऊ केवल दर्शक हो – न नागरिक, न सहभागी । नेपालको भविष्य यही भूमिमा लेख्नुपर्छ  र लेखिन्छ । परिश्रम, आत्मसम्मान र उपस्थिति यसको कलम र मसी हुनेछ ।