‘तुहिएको विद्रोह’

‘तुहिएको विद्रोह’


मेरो मत विद्रोहलाई
मेरो उपहार
विद्रोहीहरूको लागि
तर आगो ओकलेर खरानी दिने तिम्रो विद्रोहले
अखण्ड देश खण्ड-खण्ड भयो
एक अंखोरा अर्घ बोकेर
उनी घामको अगाडि उभिएर चिच्याइन्
तिम्रो सुर्यले उज्यालो त दियो
तर तिम्रो प्रार्थना सुनेन
मेरो विद्रोहको आवाज पनि कहिल्यै सुनेन
मैले यो जुनीमा कहिले भन्ने होला
प्रिय सूर्य, तिमी मेरो विद्रोही चेत हौ
र अँध्यारोबाट उज्यालोको यात्रा हौ ।

अचेल त म छतबाट चाँदनी नियाल्छु
जवानीले जीवनलाई बगाइदियो
मलाई नवीकरण गर्ने शितल प्रकाशले
ताराहरूले अमृतझैँ मेरो नेत्रलाई पिउन दियो
सपना नै सहि, त्यहि सपनामा मग्न मस्त निदाउन दियो ।

विद्रोहपछि खरानीको थुप्रो देखेर
अलमल्लमा परेको मेरो उदासी
वा मेरो आँखामा आँसुको सुस्केराले
कहिँ कतै दियो जलेको भेटेन
हिमालतिर सल्केको विद्रोहले
कामना गर्छु तिमीलाई धोका नदिओस्
किनकि यो उदासी मेरो विद्रोह हो
मेरो प्रतिरोधको रूप पनि हो ।

अचेल निन्द्रा हराएको आँखामा
सपनीको एउटा झलक
अन्तःस्करणको एउटा चेत
रातको मध्य प्रहर देवत्व मेरो साक्षी होस् ।

सावधान ! मेरो अनुहारको उदासी
मेरो फिक्का रंग, वा
मेरा भावनाहरूको कम्पनले
मेरो सास रोकियोस्, तर
विद्रोहलाई धोका नदेऊ ।

यदि मेरो भ्रम र मैले देखेको अँध्यारो
र मेरो निधारका उदासीन रेखाहरू
मेरो भाग्यरेखामा चम्किरहेको देखिनुपर्छ भने
मेरा दुई ओठहरू पीडामा चिच्याउने मात्र होइन
आवाजमा विद्रोहको संखघोष बोलिरहोस् ।

मेरा दुई आँखा आँशुले भिजेको छ
प्रत्येक साँझ मेरो निधारमा उदासीको छायाँ छ,
र बिहानले फेरि मेरो आशाको आगो निभाएको छ ।

मैले मेरो पशुपतिनाथलाई
तिम्रा घृणाहरुबाट मुक्त गर्न सकिनँ
मेरो मुक्तिनाथलाई मैले बचाउँछु कसरी भन्नु
मेरो जानकीको बैंस हेर्ने तिम्रो दुष्ट आँखाहरु
शान्त लुम्बिनीमा पनि कर्केनजर परेको छ
तिमीले टुक्रा-टुक्रा पारेको मेरो आस्था
ब्रह्मनालमा गाडिएको छ
हो, हामीले अँध्यारो रातलाई काट्नैपर्छ
हाम्रो भोलिका लागि
हाम्रो हिमाली सभ्यता र साम्राज्यका लागि ।

  • लस एन्जलस (संयुक्तराज्य अमेरिका)