पोर्चुगलमा तनहुँका नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगलमा तनहुँका नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह


  • लिस्बन (पोर्चुगल)

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँको भानु नगरपालिका-९ पिपलपानी घर भइ विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् ।

गत साता सोमबारदेखि राजधानी लिस्बननजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भइ पाण्डे बेपत्ता भएको उनका साथी विदुर तामाङले जानकारी दिएका छन् । गत आइतबार राति तामाङको घरमा आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङको भनाइ छ ।

सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । ‘पाण्डे सम्पर्कविहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले कसैसँग पनि सम्पर्क छैन’, तामाङले भनेका छन् ।

पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनको भनाइ छ ।

बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् ।

पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गर्नुका साथै दूतावालले सक्दो पहल गरिरहेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिएका छन् ।

क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए ।

rss