गजलक्ष्मी सिद्धार्थ गौतम बुद्धको ममतामयी माताको रूपमा बौद्धले पुज्ने गरेको ऐतिहासिक पुरातात्त्विक प्रमाणले पुष्टि गर्छ । तिहारको अवसरमा लक्ष्मी पूजा गर्दा हामी हिन्दु-बौद्ध परम्पराबीचको गहिरो ऐक्यबद्धता महसुस गर्न सक्छौं । प्रकाश, समृद्धि र सद्भावको सन्देश यही पर्वमार्फत हामीले आफ्नो जीवन र समाजमा फैलाउन सक्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो ।
✍ मोहन लामा रुम्बा

तिहार (दीपावली, यमपञ्चक वा यम दीपदान) नेपालमा दशैंपछि मनाइने दोस्रो ठूलो पर्व हो । यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीदेखि पूर्णिमासम्म पाँच दिनसम्म अत्यन्त हर्षोल्लासका साथ मनाइन्छ।
यस पर्वमा देवी लक्ष्मीको पूजा विशेषरूपमा गरिन्छ । घर-आँगन, झ्याल-ढोका र वरिपरिको स्थान सफा गरेर झिलिमिली बत्तीहरू बालिन्छन्, ता कि लक्ष्मी देवी स्वच्छ, उज्यालो र सकारात्मक ऊर्जा भएको घरमा प्रवेश गर्न सकून् । दीप प्रज्वलनले अन्धकार, दुःख र दरिद्रताको नाश गरी जीवनमा प्रकाश, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ ।
देवी लक्ष्मी धन, समृद्धि, सौभाग्य र सौन्दर्यकी अधिष्ठात्री हुन् । उनी भगवान् विष्णुको शक्ति (श्री) हुन्, त्यसैले तिहारको तेस्रो दिन विशेष रूपमा लक्ष्मी पूजिन्छ र धन-धान्य, सफलता तथा समृद्धिको आशीर्वाद मागिन्छ।
जसरी दुर्गा माताका नौ रूप हुन्छन्, त्यसरी नै लक्ष्मी माताका आठ प्रमुख रूप हुन्छन्, जसलाई अष्टलक्ष्मी भनिन्छ । यी रूपहरूले जीवनका फरक-फरक पक्षहरू, जस्तै – धन, धान्य, ज्ञान, साहस, सन्तान र सौभाग्यको प्रतिनिधित्व गर्दछन् ।
लक्ष्मीका आठ रूप (अष्टलक्ष्मी) :
१. आदि लक्ष्मी
२. धन लक्ष्मी
३. धान्य लक्ष्मी
४. गज लक्ष्मी
५. सन्तान लक्ष्मी
६. वीर लक्ष्मी
७. विद्या लक्ष्मी
८. अभय लक्ष्मी
गज लक्ष्मी र भगवान् बुद्ध :
अष्टलक्ष्मीमा गजलक्ष्मी विशेष महत्व राख्छिन्। “गज”को अर्थ हात्ती हो, र गजलक्ष्मी भगवान् बुद्धकी आमा महारानी मायादेवीसँग प्रत्यक्ष सम्बन्धित मानिन्छ।
बौद्ध ग्रन्थहरू – विशेषतः ललितविस्तर सूत्र, निदानकथा र महावस्तु अनुसार सिद्धार्थ गौतमको गर्भधारण हुनुअघि, महारानी मायादेवीले अद्भुत स्वप्न देख्नुभयो।
स्वप्नमा उहाँ शान्त बगैंचामा विश्राम गरिरहनुभएको थियो । त्यहीबेला आकाशबाट सेतो हात्ती चम्किलो प्रकाशसहित तल झरेर मायादेवीको दायाँ पाखुराबाट प्रवेश गरी गर्भमा समाहित भयो । यस घटनाले उहाँलाई गहिरो शान्ति, आनन्द र पवित्र अनुभूति दियो ।
राजमहलका पण्डित र ऋषिहरूले भविष्यवाणी गरे- ‘यस स्वप्नबाट जन्मिने बालक महान् पुरुष हुनेछन्, जो संसारलाई ज्ञानको आलोक दिनेछन् ।’
हात्ती बुद्धको जन्मको प्रतीकको रूपमा मानिन्छ । भरहुत स्तुप (ई.पू. १५०–१००) मा गजलक्ष्मीको मूर्तिमार्फत मायादेवीलाई देखाइएको छ । यस्तै मुर्तिहरू एलोरा गुफा (गुफा नम्बर १६) र उडिसा स्थित रत्नगिरीमा पनि भेटिन्छ, अलहाबाद संग्रहालयमा पनि दोस्रो शताब्दीको गजलक्ष्मीको मुर्ति भेटिन्छ, त्यस्तै तेस्रो शताब्दीमा निर्मित साँची स्तूपको उत्तर तोरणमा गजलक्ष्मीको मूर्तिको प्रतिकृतिमा देवी गजलक्ष्मीलाई कमलको फूलमाथि आसिन र दुई हात्तीहरूले जल अर्पण गर्दै देखाइएको छ।
नेपालमा काठमाडौं उपत्यकामा १०औं–१२औं शताब्दीबीच निर्माण भएका गजलक्ष्मी मूर्तिहरू पाइन्छन् । यी मूर्तिमा देवी लक्ष्मी कमलको फूलमाथि आसिन छन् र दुई हात्तीहरूले जल अर्पण गर्दै आशीर्वाद दिइरहेका देखिन्छ। पाटनको च्यासलटोलमा भेटिएको मूर्ति यस क्षेत्रको सबैभन्दा पुरानो गजलक्ष्मी मूर्ति मानिन्छ।
काठमाडौमा पाइएको सबैभन्दा पुरानो १७औं शताब्दी तिरको गजलक्ष्मीको चित्रमा देवी लक्ष्मीलाई चार हात्तीहरूले आशीर्वाद दिँदै देखाइएको छ तर यो चित्र अहिले ब्रिटिश म्यूजियममा सुरक्षित छ ।
देवी गजलक्ष्मी हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरू द्वारा साझा रूपमा पूजिन्छिन् । बजारमा देखिने आधुनिक गजलक्ष्मीका चित्र राजा रवी बर्माले सन् १८७० तिर बनाएका हुन् । यद्यपि पुरातात्त्विक मूर्ति र चित्र सटीक मेल नखाए पनि धार्मिक र सांस्कृतिक दृष्टिले मोटामोटी मेल खाने शैलीमा बनाएको पाइन्छ।
यसरी, गजलक्ष्मी सिद्धार्थ गौतम बुद्धको ममतामयी माताको रूपमा बौद्धले पुज्ने गरेको ऐतिहासिक पुरातात्त्विक प्रमाणले पुष्टि गर्छ । तिहारको अवसरमा लक्ष्मी पूजा गर्दा हामी हिन्दु-बौद्ध परम्पराबीचको गहिरो ऐक्यबद्धता महसुस गर्न सक्छौं । प्रकाश, समृद्धि र सद्भावको सन्देश यही पर्वमार्फत हामीले आफ्नो जीवन र समाजमा फैलाउन सक्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो ।
यसर्थ, सम्पूर्ण सनातनीहरूमा तिहार पर्वको हार्दिक मंगलमय शुभकामना !
प्रतिक्रिया